भारत–पाकिस्तानबीच युद्धविरामका लागि सहमति, मे १२ मा थप वार्ता हुने

काठमाडौँ — लामो समयदेखि तनावग्रस्त भारत र पाकिस्तानबीच युद्धविरामका लागि सहमति भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र विदेशमन्त्री मार्को रुबियोले सामाजिक सञ्जालमार्फत सहमतिको संकेत गरेसँगै, दुबै देशका अधिकारीहरूले यसको पुष्टि गरेका छन्।

भारतीय विदेश सचिव विक्रम मिस्रीका अनुसार शनिबार भारतीय समयअनुसार बिहान ३:३५ बजे भारत र पाकिस्तानका सैन्य कारबाही निर्देशकहरूबीच टेलिफोन संवाद भएको थियो। उक्त संवादमा स्थल, हवाई तथा जल तीनै क्षेत्रमा सैन्य क्रियाकलाप तत्काल रोक्न सहमति भएको हो। यो सहमति शनिबार साँझ ५ बजेदेखि लागू हुने बताइएको छ।

पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इसहाक डारले पनि युद्धविरामको पुष्टि गरेका छन्। सामाजिक सञ्जाल ‘एक्स’ मा पोस्ट गर्दै उनले पाकिस्तान सँधै क्षेत्रीय शान्ति र सुरक्षाको पक्षमा रहेको बताएका छन्। उनले पाकिस्तान आफ्नो सार्वभौमिकता र अखण्डतामा कुनै सम्झौता नगर्ने स्पष्ट पारे।

दुबै मुलुकबीच आगामी मे १२ मा थप संवाद हुने बीबीसीले जनाएको छ।

प्रतिक्रिया