जोमसोम—हिमाली मुस्ताङका उच्चलेंकमा पालन गरिएका याकचौरी चिसो बढेसंगै बेसी झारिएको छ। हिउँयामको मौसममा उच्चलेंकको पाटनमा अध्यधिक चिसो र हिमपात हुँने भएकाले मुस्ताङको उच्चलेंकमा पालिएका याकचौरी बेसी स्थान्तरण गरिएको हो ।
बर्सेनि हिउँदयामको मौसममा उच्चलेंकमा पालन गरिएका याकचौरी व्यवस्थापनमा निकै चुनौती हुने भएकाले पाटनका याकचौरी बेसीमा झाने प्रचलन रहेको हो ।हिउँदयाममा हिमालको फेंदमा पालन गरिएका याकचौरीलाई संम्भावित हिमपातले याकचौरीहरुलाई जोखिम हुने हिमपातले चरनक्षेत्र पुरै हिउँले ढाकिने र अत्यधिक चिसोका कारण याकचौरी गोठाला उच्चलेंकको गोठमा बस्न नसक्ने हुँदा मुस्ताङका उच्चलेंकमा पालन गरिएका याकचौरीहरु बस्ती नजिक झार्ने गरिएको पशुपालकहरु बताउँछन् ।
हिउँदयाममा बस्तीमा हिउँ परेपनि चाँडो पग्लिने, गोठाला तथा पशुचौपायालाई न्यानो हुने र पशु आहार दिन समेत सजिलो हुने हुँदा याकचौरी बस्ती छेउ झार्ने गरिएको घरपझोङका पशुपालक बिरबहादुर घर्तीले बताए । सधै झै लोमान्थाङमा पनि चिसो बढेसंगै पाटनका याकचौरी बस्ती छेउ झारिएको लोमान्थाङका याकचौरी पालक आङ्गेल गुरुङले जानकारी दिए । उच्चलेंकमा चिसो र हिमपातले चरन क्षेत्र ढाकिदा याकचौरीहरुलाई घाँसको अभाव हुने , पशु आहार पकाएर दिन र गोठालाहरुलाई पकाएर खान बस्न सास्ती हुने पशुपालक गुरुङको भनाई छ ।
मुस्ताङका ५ स्थानीय तहमा व्यवसायिक रुपमै याकचौरी पालन गरिएको छ । यहाँ पालिएका याकचौरी मासु र चौरीको दुधबाट बन्ने विभिन्न परिकार बनाएर बिक्री गरिन्छ । यसका अलावा याकचौरी आलो रगत निकालेर समेत बिक्री गरिन्छ भने याकचौरीको पुच्छर पनि महङ्गो मुल्यमा बिक्री हुन्छ ।
मुस्ताङमा झन्डै ४ हजार भन्दा बढीको संख्यामा याकचौरी रहेको हिमालयन चौरी पालन तथा संरक्षण समितिले बताएको छ । मुस्ताङको थासाङ गाउँपालिकामा २२ घरधुरीले व्यवसायिक रुपमा करिव १५ सय भन्दा बढी याकचौरी पालन गरेका छन् ।घरपझोङ गाउँपालिकाको मार्फा,स्याङ र जोमसोम गरी ८ घरधुरीले करिव ५ सय भन्दा बढी याकचौरी पालन गरेका छन् ।यसैगरी लोमन्थाङ गाउँपालिका र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा करिव १६ घरधुरीले १८ सय भन्दा बढी याकचौरी पालन गरिएको छ भने वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको झारकोट र मुस्ताङ—डोल्पा सीमाना साङ्ता गाउँमा करिव २४० भन्दा बढी याकचौरी पालन गरिएको हिमालयन चौरी पालन तथा संरक्षण समितिका अध्यक्ष प्रदिप गौचनले जानकारी दिए । मुस्ताङका याकचौरी पालकहरुलाई सांगठनिक रुपमा एकतावद्ध गर्ने उद्देश्यले ४ वर्षअघि संस्था गठन गरिएको थियो । याकचौरी पालकहरुको समस्या,बिमा र वन्यजन्तु क्षति राहत लगायतका विषयमा संस्थाले सहजीकरण गर्दैआईरहेको छ।
समून्द्री सतहको ४ हजार मिटर अग्लो उचाईको चरनक्षेत्रमा गोठै खडा गरेर व्यवसायिक रुपमा याकचौरी पालन गरिदै आईरहेको पाईन्छ । थासाङमा धौलागिरी हिमालको फेंद मुली खर्क,निलगिरी हिमालको फेंद मार्चे खर्क र टुकुचेको बतासे लेंकमा याकचौरी पालन गरिने र हिउँदयाम लागेपछि बस्ती नजिक सारिने थासाङका चौरी पालक किसान गौतम शेरचनले जानकारी दिए । घरपझोङ गाउँपालिकामा पनि मार्फा लेंक,स्याङ लेंक र जोमसोमको मेसोकोन्दो र लुप्रा लेंकमा गोठ खडा गरेर याकचौरी पालन गरिएको घरपझोङका किसान भुपिन शेरचनले बताए । उनका अनुसार गर्मीयामको बैशाखदेखि कार्तिकसम्म याकचौरी उच्चलेंकको पाटनमा राखिने र हिउँयामको कार्तिक दोश्रो हप्तादेखि चैत्र महिनासम्म बस्ती नजिक झारिने गरिन्छ ।
हिमाली क्षेत्रमा व्यवसायिक रुपमा पालन गरिएका याकचौरीले पारिस्थितीक प्रणाली (ईको सिस्टम) मा समेत ठुलो दिएका हुन्छन् । मुस्ताङमा जिउँदो एउँटै याकचौरीको मुल्य १ लाख ३० हजार सम्म पर्छ । मुस्ताङमा पालन गरिएका याकचौरी केही होचा कदका हुन्छन् भने उपल्लो डोल्पामा पालन गरिएका याकचौरी अग्ला कदका हुन्छन् । हिउँदयाममा उपल्लो डोल्पालीले याक खेदाएर मुस्ताङको जोमसोम ल्याएर मासुका लागि बिक्री गर्छन । यहाँ असोज कार्तिक महिनामा याकको सुकुटी बनाएर हिउँदे तरकारीको रुपमा प्रयोग गर्ने प्रचलन छ ।
फोटो क्याप्सन ः मुस्ताङको उच्चलेंकको पाटनमा पालन गरिएका याकचौरी चिसो बढेसंगै बस्ती नजिक स्थान्तरण गरिंदै । तस्विर ःसोजन हिराचन ।