जोमसोम—उपल्लो मुस्ताङको चराङ—सुर्खाङ कच्ची सडकमा सोमबार जीप दुर्घटना हुँदा एक जना यात्रु घाईते भएका छन् । सुर्खाङबाट चराङतर्फ आउँदै गरेको ग१ज ६९१५ नम्बरको जीप लोघेकर दामोदरकुण्ड—४ एक्लेभट्टीमा अचानक सडकमा अनियन्त्रित भई बाँयातर्फ पल्टिदा उपल्लो मुस्ताङ यारा बस्ने वर्ष ५८ की सोनाम छितेन गुरुङ घाईते भएकी हुन् ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक मिलनबहादुर विकका अनुसार घाईते गुरुङको शरिरको भित्री भागमा चोटपटक लागेको छ ।जीपमा चालकसहित ९ जना सवार थिए । अन्य यात्रु भने सामान्य रहेको बताईएको छ ।
जीप दुर्घटनाको खबरपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो । घाईते यात्रु गुरुङलाई उपचारका लागि मुस्ताङ अस्पतालमा ल्याएकोमा सोमबारनै उनलाई थप उपचारका लागि पोखरा रिफर गरेको प्रहरी निरीक्षक विकले उल्लेख गरे ।
हिउँदयामको जाडो छल्न लोघेकर दामोदरकुण्ड—४ यारा गाउँबाट ८ जनाको स्थानीय टोली बेसी झर्ने क्रममा थिए । उनी बेसी झर्ने भएकाले घाईतेको आफन्तको आग्रहपछि अस्पतालले रिफर गरेको प्रहरी निरीक्षक विकको भनाई छ ।
जिल्ला प्रहरी कार्यालयले दुर्घटना भएको जीपको चालक तथा सवारी साधनको कागजात नियन्त्रणमा लिएर चालकलाई छाडेको छ ।जीप बाग्लुङ जिल्ला निसीखोला—६ बस्ने वर्ष २८ का दुधमान घर्तीले चलाएका थिए ।