काठमाडौं, २०८१ पुस २६ – पूर्वउपप्रधान तथा गृहमन्त्री भीम रावलले आफू कुनै पनि ठूला राजनीतिक दल—एमाले, कांग्रेस, माओवादी वा एकीकृत समाजवादीसँग सहकार्य नगर्ने स्पष्ट पारेका छन्। उनले हाल आफू कुनै पनि दलमा प्रवेश नगर्ने र नयाँ राजनीतिक विकल्पबारे जनतासँग परामर्श गरिरहेको बताएका छन्।
रावलले प्राइम टाइम्स टेलिभिजन को जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले दल खोलेको खण्डमा उनलाई साथ दिन तयार रहेको उल्लेख गरे। उनले भने, “यदि बालेन शाहले दल खोल्नु भयो र त्यो दलले नेपालको समसामयिक समस्याहरू समाधान गर्ने नीति लिएमा, म उहाँलाई साथ दिन तयार छु।”
तर, उनले हालसम्म बालेन शाहले दल खोल्ने घोषणा नगरेकाले अहिले मात्र कल्पना गरेर निष्कर्ष निकाल्न नसुहाउने बताए।
नयाँ पार्टी खोल्ने हतार छैन
भीम रावलले आफू तत्काल नयाँ पार्टी खोल्ने योजनामा नरहेको स्पष्ट पार्दै मातृभूमि जागरण अभियान मार्फत जनतासँग संवाद गर्ने बताए। उनले भने, “म अहिले हतारमा छैन। जनतासँग छलफल गरेर, बुद्धिजीवीहरूको राय लिँदै, देशलाई के आवश्यक छ भन्ने कुरा बुझेर मात्र वैकल्पिक शक्ति निर्माण गर्ने कि नगर्ने भन्ने निर्णय गरिन्छ।”
दुर्गा प्रसाईँसँग सहकार्य हुनसक्ने संकेत
रावलले भ्रष्टाचारको विरोध गर्ने र देशको हितलाई प्राथमिकता दिने जुनसुकै व्यक्तिसँग सहकार्य हुनसक्ने संकेत गरेका छन्। उनले दुर्गा प्रसाईँसँग पनि सहकार्यको सम्भावना खुला रहेको उल्लेख गर्दै भने, “देशको अर्थतन्त्र, राजनीति, सुरक्षा, वैदेशिक सम्बन्धलगायतका विषयमा नेपाललाई केन्द्रमा राखेर सोच्नेहरूसँग सहकार्य गर्न मलाई कुनै आपत्ति छैन।”
भीम रावलको पछिल्लो अभिव्यक्तिले नेपाली राजनीतिक वृत्तमा तरंग ल्याएको छ। उनी एमाले परित्याग गरेपछि स्वतन्त्र रूपमा गतिविधि गर्दै आएका छन्। अब उनले नयाँ राजनीतिक अभियान सुरू गर्छन् वा बालेन शाहलाई साथ दिन्छन् भन्ने विषयमा चासो बढेको छ।