फलो अफ : उपल्लो मुस्ताङमा जीप दुर्घटना हुँदा १ गम्भिर ४ सामान्य घाईते

जोमसोम—उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका  स्थित सुर्खाङ—चराङ कच्ची सडकमा सोमबार जीप दुर्घटना हुँदा ५ जना यात्रु घाईते भएका छन् । लोघेकर—४ सुर्खाङबाट चराङतर्फ जाँदै गरेको ग१ज६९१५ नम्बरको जीप अचानक अनियन्त्रित भई दुर्घटना हुँदा एक जना यात्रु गम्भिर घाईते भएका छन् भने अन्य ४ यात्रु सामान्य घाईते भएको मुस्ताङका स्थानीय समाजसेवी किमी छोटेन गुरुङले जानकारी दिए ।

सुर्खाङ—चराङ सडकमा सोमबार बिहान जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।मुस्ताङका स्थानीय समाजसेवी ेकेमी छोटेन गुरुङका अनुसार जीप दुर्घटनाबाट  लोघेकर दामोदरकुण्ड—४ की वर्ष ५८ की सोनाम छितेन गुरुङ गम्भिर घाईते भएको र अरु ४ जना स्थानीय यात्रु सामान्य घाईते भएका हुन् । गम्भिर घाईते सोनाम छितेन गुरुङको भित्री भागमा गम्भिर चोटपटक लागेको उनलाई पोखराको चरक मेमोरियल अस्पतालमा आईसीयूमा राखेर उपचार भईरहेको समाजसेवी गुरुङले बताए ।

यसैगरी जीप दुर्घटनामा छेन्तेन गुरुङ,भुमोर्छे गुरुङ,ढन्डु गुरुङ र कर्म छोटेन गुरुङको शरिरको भित्री र बाहिरको विभिन्न भागमा चोट पटक लागेकाले चरक मेमोरियल अस्पतालमै उपचारका लागि भर्ना भएको समाजसेवी किमी छोटेन गुरुङले उल्लेख गरे । जसमध्ये कर्म छोटेन गुरुङको देब्रेहात भाँचिएको र पेटमा समेत असर परेको उनको भनाई छ ।

चालकसहित ९ यात्रु रहेको जीपमा अन्य ३ यात्रु भने शकुसल रहेको उनले बताए । जीप दुर्घटनाका घाईते यात्रुलाई प्रहरीको समन्वयमा जिल्ला अस्पताल जोमसोममा ल्याईएकोमा थप उपचारका लागि पोखरा पठाईएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक मिलनबहादुर विकले जानकारी दिए । हिउँदयामको जाँडो छल्न पोखरा झर्दे गरेका उनीहरु सुर्खाङ—चराङ सडकको लोघेकर दामोदरकुण्ड—४ एक्लेभट्टी भन्ने स्थानमा दुर्घटनामा परेका थिए । जीप दुर्घटना भई सडकमै उत्तानो परेको प्रहरीले बताएको छ । चरक अस्पतालमा अहिले समाजसेवी किमी छोटेन गुरुङले घाईतेहरुको  रेखदेख गरी बसेका छन् ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङले दुर्घटना भएको जीपको चालक र सवारीको कागजात नियन्त्रणमा लिएर चालकलाई छाडेको छ ।  प्रहरीका अनुसार जीप बाग्लुङ जिल्ला निसीखोला गाउँपालिका—६ बस्ने वर्ष २८ का दुधमान घर्तीले चलाएका थिए । जीप दुर्घटना बारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।


प्रतिक्रिया