मुस्ताङको दिव्यदीप स्कुलको पोखरामा भवन

जोमसोम— उपल्लो मुस्ताङको  दिव्यदीप स्कुल छोसेरको पोखरामा भव्य ४ तले पक्की घुम्ती छात्रावास भवन धमाधम निर्माण भईरहेको छ । बर्सेनि हिउँदयामको हिमपात र जाडो छल्न बेसी  झार्ने गरेको दिव्यदीप माध्यमिक विद्यालयका लागि विद्यार्थीहरुको आवास तथा शैक्षिक पठन/पाठन सुविधाका लागि घुम्ती छात्रावास भवन बनाउन थालिएको हो ।

उपल्लो मुस्ताङमा दिव्यदीप स्कुल एक मात्र माध्यमिक तहको विद्यालय हो । जहाँ अहिले करिव ५५ जना विद्यार्थीहरु अध्ययनरत छन् । हिउँदमा प्रत्येक वर्ष घुम्ती कक्षा संञ्चालनका लागि पोखरामा महङ्गो खर्च गरी भवन भाडामा लिनुपर्ने अवस्था र भवन खोज्दै हिड्नु पर्ने समस्या हुन्छ ।  विद्यालय भवन नहुँदा ठुलो आर्थिक समस्या झेल्नु पर्ने भएकाले सो विद्यालयले घुम्ती कक्षाका लागि छात्रावास भवन माग गरेको थियो । संघीय सरकारको विशेष अनुदान र गाउँपालिकाको समानिकरण बजेटबाट दिव्यदीप स्कुलको भव्य घुम्ती छात्रावास बनाउन थालिएको हो ।

पोखरा महानगरपालिका—२६ विजयपुरमा रहेको विद्यालयको निजी जग्गामा ४ तले घुम्ती छात्रावास भवन निर्माणकार्य भईरहेको लोमान्थाङ  गाउँपालिकाका सवईन्जिनीयर उदय तिमिल्सिनाले जानकारी दिए । लोमान्थाङ स्थित दिव्यदीप स्कुलको घुम्ती छात्रावास भवनको योजनाको लागत ४ करोड ३१ लाख ७३ हजार रहेको छ । आर्थिक वर्ष २०७९/०८० को असारदेखि सुरु गरिएको घुम्ती छात्रावास भवन निर्माणको जिम्मा गोपिनी गंगा रामकोट जेभीले लिएको सवईन्जिनीयर तिमिल्सिनाले बताए । भवन निर्माणका लागि संघीय सरकारको विशेष अनुदान २ करोड ३० लाख र अन्य नपुग बजेटको श्रोत गाउँपालिकाले जुटाएको उनले जनाए ।

सम्झौता अवघि २ वर्ष रहेको घुम्ती छात्रावास भवनको हालसम्मको भौतिक प्रगती ४० प्रतिशत रहेको छ । वित्तिय प्रगती ३५ प्रतिशत रहेको कन्ट्रक्सनका प्रतिनिधि सुरेश न्यौपानेले जानकारी दिए । उनले सम्झौता अवधिभित्रै भवन निर्माणको काम सकेर गाउँपालिकालाई हस्तान्तरण गर्ने योजना रहेको बताए ।

दिव्यदीप स्कुलको घुम्ती छात्रावास भवन बनेपछि घुम्ती कक्षा संञ्चालन गर्न सहज हुने लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले जानकारी दिए । उनले छात्रावास भवन बनेपछि हिउँदको ५ महिनासम्म भाडा तिरेर बेसीमा कक्षा संञ्चालन तथा व्यवस्थापनमा लाग्ने ठुलो खर्च बचत हुने जनाए । गाउँपालिका अन्तर्गत निर्माणधिन स्कुलको घुम्ती ४ तले भवनमा  आवासिय सुविधा,कक्षा कोठा,पुस्तकालय, बिज्ञान प्रयोगशाला, कम्प्युटर ल्याव,लाईबेरी हल,बाथरुम /शौचालय र अफिस कक्ष आदी रहने छ ।



हिउँदयाममा विद्यालय रहेको स्थानमा शैक्षिक पठन÷पाठन संञ्चालन गर्न असहज हुँने प्रतिकुल मौसमका कारण त्यहाँ विद्यालय संञ्चालन गर्न विद्यार्थीहरुको स्वास्थ्यमा समेत समस्या आउन सक्ने भएकाले सदिंयौं वर्षदेखि उपल्लो मुस्ताङका सामुदायिक,गुम्बा स्कुल र निजी स्कुलहरु जाडो छल्न बेसी झर्ने पुख्यौंली परम्परानै हो ।

उपल्लो मुस्ताङका विद्यालयहरुले मंसिरको पहिलो हप्तामानै विद्यार्थीहरुलाई बेसी झारेर शैक्षिक पठन÷पाठन संञ्चालन गर्छन । यसरी जाडो छल्न बेसी झरेका विद्यालयहरु हिउँदयामको चिसो घटेपछि पूनः साविककै स्थानमा  पुगेर कक्षा संञ्चालन गर्ने गर्छन् । यसवर्ष पनि उपल्लो मुस्ताङको लोमान्थाङ गापाका ३ सामुदायिक,४ गुम्बा र २ निजी विद्यालय घुम्तीका लागि बेसीमा छन् । यस्तै,लोघेकर दामोदरकुण्ड गाउँपालिकाको पनि अधिकाँश विद्यालयहरु घुम्तीका लागि पोखरामा झारेर शैक्षिक पठन/पाठन संञ्चालन गरिरहेका छन् । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको पनि दुई सामुदायिक विद्यालय घुम्तीका लागि बेसी झार्ने गरिएको छ ।

मंसिरदेखि चैत्रसम्म बेसीमा र बैशाखदेखि कार्तिकसम्म साविककै स्थानमा विद्यालय कक्षा संञ्चालन हुने गरेको छ । 

तल्लो मुस्ताङको घरपझोङ,थासाङ गाउँपालिकाका पुरै विद्यालयलाई हिउँदयाममा पुरै २ महिना जाडो बिदा दिने गरिएको छ । वारागुङको जनशान्ति मावि कागबेनी र लुप्रा आधारभुत स्कुलले पनि हिउँदयामको दुई महिना विद्यार्थीलाई हिउँदे बिदा दिदैआईरहेका छन् ।



प्रतिक्रिया