जोमसोम—मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका वडा—२ को ढाक्मर गाउँमा हिमचितुवाले आतंकले स्थानीयबासीमा त्रास छाएको छ । मुस्ताङको ढाक्मरमा हिमचितुवाले ७७ वटा च्यांग्रा मारेको छ भने ३ जटा च्यांग्रालाई घाईते बनाएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले पुष्टि गरेको छ ।
शुक्रबार मध्यराती ढाक्मर गाउँ भित्रकै स्थानीय मिङमारको च्यांग्रा खोरमा ४ वटा हिमचितुवा खोरमै पसेर ठुलो संख्यामा पशुधनको क्षति बनाएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक डिएसपी भोजराज पाण्डेले जानकारी दिए ।खोरमा ८० वटा च्यांग्रा थिए । हिमचितुवाले पशुधनमा पू¥याएको घटनास्थलमा पुगेको प्रहरी टोली अहिले मुचुल्का उठाएर विवरण तयार गरिसकेको डिएसपी पाण्डेले बताए ।प्रहरी स्रोतका अनुसार हिमचितुवाले च्यांग्रा मारेको स्थानीय र पशुधनी मिङ्मारले बिहानपख मात्र थाहा पाएका थिए ।
मध्यरातमा हिमचितुवा खोर मित्रै पसेर अहिले सम्मकै ठुलो संख्यामा च्यांग्रा मारेको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिए ।
।
लोघेकर दामोदरकुण्ड—२ ढाक्मरका स्थानीय पशुपालक किसान मिङ्मार गुरुङले पालन गरेको च्यांग्रा खोरमा हिमचितुवाले विभत्स रुपमा च्यांग्राहरु मारेको ढाक्मरका स्थानीय छिरिङ गुरुङले जानकारी दिए । शुक्रबार राति ४ वटा हिमचितुवा मिङ्मार गुरुङको खोरमा पसेर करिव ३० लाख मुल्य बराबरको क्षति बनाएको स्थानीय गुरुङले अनुमान गरे ।
हिमचितुवा खोरमा पसेर ठुलो संख्यामा च्यांग्रा मारेपछि स्थानीय पशुपालक किसान मिङ्मार गुरुङ अहिले चिन्तामा छन् । उनको गाउँ भित्रको खोरमा तारबारसहितको च्यांग्रा हुल्ने गोठ थियो । तर, तारबार सहितको खोर नाघेर हिमचितुवा च्यांग्राहरु मारेर छाडेको हो ।
च्यांंग्रा खोरमा पसेर केही च्यांग्राको आन्द्राभुडी निकालेर छोडेको छ भने केहीको रगत खाएर मारेको देखिन्छ । मुस्ताङमा हिमचितुवा र मानवबीचको निरन्तर द्धन्द रहेपनि यो अहिल्यै सम्मकै ठुला पशु क्षति हो । हिमचितुवा संरक्षित दुर्लभ वन्यजन्तु हो । मुस्ताङमा हिमचितुवाको एकिन तथ्यांक छैन ।
स्थानीय छिरिङ गुरुङका अनुसार ढाक्मर गाउँको पश्चिमतर्फको ठुलो रातो पहाडको ओढारहरु हिमचितुवा लुकेर बसेको बताए । उनले त्यहाँ ४ वटा भन्दा बढी हिमचितुवा हुनसक्ने अनमुान गरे । स्थानीय मिङ्मार गुरुङले हिमचितुवाको भिडियो समेत मोवाईलमा कैंद गरेका छन् । स—साना छिद्र प्वालहरु रहेको अग्लो ढाक्मर पहाडको गुफामा हिमचितुवाको वासस्थान हुन सक्ने उनले अड्कल गरे ।
मुस्ताङमा परम्रागत रुपमा याकचौरी र भेडाच्यांग्रा पालन गरिने गरिन्छ ।गतवर्षसम्म मुस्ताङका ५ स्थानीय तहमा वन्यजन्तुको आक्रमणबाट १९ घरधुरीका ६५ पशुधनमा क्षति पुगेको थियो । एक्यापले नेपाल सरकारले कार्यान्वयनमा ल्याएको वन्यजन्तुबाट हुने क्षतिको राहत निर्देशिका २०८० अनुसार संम्वन्धि निकायहरुको अनुगमन र मूल्याङ्कन गरी राहत दिने गरेको छ ।
तस्विर ःछिरिङ गुरुङ (ढाक्मर)