करदाता प्रोत्साहन उपहार कार्यक्रम: असोज ३१ भित्र खरिद बिल प्रविष्ट गर्न आह्वान





काठमाडौं । आन्तरिक राजस्व विभागले सञ्चालन गर्दै आएको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत उपभोक्तालाई आगामी असोज ३१ गतेभित्र खरिद बिलको विवरण प्रविष्ट गर्न आग्रह गरेको छ।


विभागका अनुसार २०८३ साल असोज १६ गतेदेखि ३१ गतेसम्म नगद भुक्तानी गरी वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ताले उक्त कार्यक्रममा सहभागी भई उपहार कुपन प्राप्त गर्न सक्नेछन्। यसका लागि उपभोक्ताले विभागको आधिकारिक पोर्टलमा गई आफ्नो खरिद बिलको विवरण तोकिएको समयभित्र प्रविष्ट गर्नुपर्नेछ।


खरिद बिल प्रविष्ट गर्ने आधिकारिक पोर्टल:

https://prize.ird.gov.np/


विभागका अनुसार उक्त अवधिमा प्रविष्ट गरिएका बिलबाट प्राप्त उपहार कुपनको नतिजा आगामी कात्तिक १ गते सार्वजनिक गरिनेछ। सोही दिन उपहार विजेताहरूको आधिकारिक घोषणा गरिने विभागले जनाएको छ।


पुरस्कार दाबी गर्न सक्कल खरिद बिल अनिवार्य हुने भएकाले वस्तु तथा सेवा खरिद गर्दा अनिवार्य रूपमा बिल लिन विभागले सम्पूर्ण उपभोक्तालाई अनुरोध गरेको छ।


त्यसैगरी, वस्तु तथा सेवा बिक्री गर्ने व्यवसायीहरूलाई पनि प्रचलित कानुनअनुसार अनिवार्य रूपमा बिक्री बिल वा बीजक जारी गर्न विभागले आग्रह गरेको छ।


कर प्रणालीलाई पारदर्शी र व्यवस्थित बनाउँदै उपभोक्तालाई करसम्बन्धी दायित्वप्रति सचेत गराउने उद्देश्यले सञ्चालन गरिएको यस कार्यक्रमबाट उपभोक्तालाई खरिद बिल लिने बानीको विकास गर्नसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।


Aama Darshan News


प्रतिक्रिया