जोमसोम—हिमाली जिल्ला मुस्ताङमा गतवर्ष वन्यजन्तुको आक्रमणमा परी १९ घरधुरीका ६५ पशुधनको क्षति भएको छ । जसमध्ये उपल्लो मुस्ताङमा ६ घरधुरीको २७ वटा र तल्लो मुस्ताङमा १३ घरधुरीका ३८ वटा पशुधनको क्षति भएको हो ।
राष्ट्रिय प्रकृति संरक्षण कोष,अन्नपूर्ण संरक्षण आयोजना (एक्याप) मुस्ताङ कार्यालयमा क्षतिपूर्तीका लागि माग गरिएको निवेदन अनुसार गतवर्ष उक्त संख्यामा पशुधनको क्षति भएको एक्यापले उल्लेख गरेको छ । उपल्लो मुस्ताङमा ६ घरधुरीको २७ वटा पशुचौपाया हिमचितुवाको आक्रमण परी क्षति भएको एक्याप लोमान्थाङका प्रमुख राम गुरुङले जानकारी दिए ।
उनका अनुसार उपल्लो मुस्ताङमा ५ घरधुरीको २६ वटा च्यांग्रा र १ घरधुरीको घोडालाई हिमचितुवाले क्षति बनाएको हो ।जसमध्ये वारागुङ—३ का ताक्ला गुरुङको १२ वटा,लोमान्थाङ गापा सम्जुङका निमा ढिन्डुक गुरुङको ७ वटा,सोही स्थानकै ल्याक्चुङ गुरुङको ३ वटा , वारागुङ—३ का किरन गुरुङको १ वटा र लोमान्थाङ सम्जुङका ३ वटा हिमचितुवा गोठमै पसेर क्षति बनाएको थियो ।यसैगरी लोमान्थाङ ठिङ्गरका कर्साङ ढोका गुरुङको १ घोडा पनि हिमचितुवाले क्षति बनाएको एक्याप लोमान्थाङको रेकर्डमा उल्लेख गरिएको छ ।
उपल्लो मुस्ताङमा वन्यजन्तुको क्षतिबाट सबैभन्दा बढी पशुधनको क्षति लोमान्थाङको सम्जुङमा भएको हो । उपल्लो मुस्ताङमा पशुधन क्षति भएकाहरुले निवेदन गरेको र उनीहरुलाई राहत उपलब्ध गराउन पहल भईरहेको एक्याप लोमान्थाङका कार्यालय प्रमुख राम गुरुङले बताए । उनका अनुसार उपल्लो मुस्ताङमा पशुधन क्षति भएकाहरु सबै राहतका लागि सम्पर्कमा आउन नसकेको जानकारी दिए ।
यसैगरी गत आर्थिक वर्षमै तल्लो मुस्ताङमा पनि वन्यजन्तुको आक्रमणबाट सोही अनुमान भन्दा बढी पशुधनको क्षति भएको एक्याप जोमसोमको पशु क्षति तथ्यांकमा उल्लेख छ । तल्लो मुस्ताङको ३ पालिकामा १३ घरधुरीको ३८ पशुचौपायालाई वन्यजन्तुले आक्रमण गरी क्षति बनाएको एक्याप जोमसोमका कार्यालय प्रमुख प्रमोदराज रेग्मीले जानकारी दिए । जसमध्ये ९ घरधुरीको २८ वटा याकचौरी र ३ घरधुरीको १० वटा भेडाच्यांग्रालाई वन्यजन्तुले आक्रमण गरी क्षति तुल्याएको कार्यालय प्रमुख रेग्मीको भनाई छ । तल्लो मुस्ताङमा पशुधनमा क्षति पुगेका १३ घरधुरी मध्ये अहिलेसम्म ३ घरधुरीको ८ पशुधनको क्षतिपूर्ती उलब्ध गराईएको र बाँकी घरधुरीको क्षतिपूर्ती प्रक्रियामा रहेको एक्याप जोमसोमका कार्यालय प्रमुख रेग्मीले बताए ।
पछिल्लो समय अन्नपूर्ण सरक्षणक्षेत्र अन्तर्गत मुस्ताङमा वन्यजन्तुले स्थानीय पशुपालकलाई निकै सास्ती पू¥याएको छ । यहाँ संरक्षित वन्यजन्तु र मानवबीचको द्धन्द बढ्दै जाँदा यहाँको सदिंयौदेखि पशुपालन व्यवसाय संकटमा पर्न थालेको हो । जलवायु परिवर्तनको असर थेग्न बाध्य मुस्ताङका पशुपालकहरुले वन्यजन्तुले निरन्तर दुःख दिईरहेको छ । मुस्ताङमा बर्सेनि पशुधनको क्षति हुँने तथ्यांक बढ्दै जान थालेको हो ।पछिल्ले समय यहाँका पशुपालकहरु क्षतिपूर्तीका लागि एक्याप कार्यालयमा पुग्ने गरेपनि क्षतिपूर्ती प्रक्रिया केही झन्झटिलो भएकै कारण सबै क्षति पुगेकाहरु एक्यापको पहुँचमा पुग्न नसकेको थासाङ—२ सौरुका पशुपालक सोजन हिराचनले जानकारी दिए ।
मुस्ताङका पशुपालक किसानले व्यवसायिक रुपमा याकचौरी र भेडाच्यांग्रा पालन गर्दैआईरहेको पाईन्छ । यहाँका उच्चलेंक र खर्कहरुमा गोठै खडा गरेर पालन गरिएका पशुचौपायाहरु हिमचितुवाको निसानामा परेका हुन् । हिमचितुवाको मुख्य आहारा नाउर हो । उच्चलेंकमा रहने वन्यजन्तु नाउरहरु पानी खान बस्ती नजिक आउँछन् । यसरी वस्ती नजिक झर्ने नाउरलाई आहाराका लागि पछ्याउँदै गर्दा हिमचितुवा गोठमै पसेर पशुधनको क्षति पू¥याउने गरेको पशुपालक किसान हिराचनले सुनाए ।
त्यसो त हिमचितुवाले उच्चलेंकको खर्ककै चरनक्षेत्रमा चरिरहेका पशुचौपाया माथि दिनदहाडै आक्रमण गर्ने गरेको पशुपालक हिराचनले बताए ।
मुस्ताङमा सुरक्षित चरनक्षेत्र र सुरक्षित पशुचौपाय हुल्ने भरपर्दो पूर्वाधार नहुँदा हिमचितुवाको जोखिम बढेको हो ।
वन्यजन्तुको आक्रमणबाट क्षति व्यवहोर्न बाध्य पशुपालकले संम्वन्धित संरक्षण क्षेत्र व्यवस्थापन समितिको सिफारिस,स्थानीय तह वा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको सिफारिससहित एक्याप कार्यालयमा निवेदन पेश गर्नुपर्ने हुन्छ ।
यसरी पेश भएको पशुधन क्षतिको विवरण मूल्यांकन गरी क्षतिपूर्ती राहत उपलब्ध गराउने गरिन्छ । एक्यापले संरक्षित क्षेत्रमा वन्यजन्तु क्षतिको राहत सहयोग सिफारिस गठन गरेको हुन्छ ।
वन्यजन्तु राहत सहयोग निर्देशिका २०६९ दोश्रो संशोधन २०७४ र तेश्रो संशोधन २०७५ को दफा ६ को (ख) बमोजिम तोकिएके राहत एक्याप मार्फत उपलब्ध गराउने गर्छ ।
फाईल फोटो ः
मुस्ताङका उच्चलेंकमा पालन गरिने पशुचौपाया हुल्ने गोठ । तस्विर ःसुन्दरकुमार थकाली ।