जोमसोम—उपल्लो मुस्ताङका वन्यजन्तु पीडित पशुपालक किसानले आर्थिक वर्ष सकिएको ४ महिनापछि वन्यजन्तु क्षति राहत पाएका छन् ।उनीहरुलाई वन्यजन्तुबाट भएको क्षतिको राहत निर्देशिका २०८० अनुसार राहत उपलब्ध गराईएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ,ईलाका संरक्षण कार्यालय लोमान्थाङले जनाएको छ ।
एक्याप लोमान्थाङका कार्यालय प्रमुख राम गुरुङका अनुसार गतवर्ष क्षति भएका पशुधन ५ घरधुरी पशुपालक किसानलाई २ लाख २७ हजार ५ सय रुपैया वितरण भएको हो ।उक्त रकम गत हप्ता संम्वन्धित वन्यजन्तु पीडितहरुको नाममा क्षति अनुसारको प्रभु बैंकको खातामा जम्मा भईसकेको एक्याप लोमान्थाङका कार्यालय प्रमुख गुरुङले जानकारी दिए ।
कार्यालय प्रमुख गुरुङले उपलब्ध गराएको बिवरण अनुसार गतवर्ष पशुधनमा क्षति भएका मध्ये लोमान्थाङ—२ का ल्यहाक्युङ गुरुङले २२ हजार ५ सय, वारागुङ—३ का करण गुरुङले दुई पटकको क्षति ४० हजार,लोमान्थाङ—४ का कर्म पेन्टुक गुरुङले १० हजार ,वारागुङ—३ चैलेका लाक्पा गुरुङले ९६ हजार र लोमान्थाङ—१ का ङिमा धिन्दु गुरुङले ४९ हजार पाएका हुन् । यसअघि गतवर्ष पशुधन क्षति व्यवहोर्न बाध्य घरपझोङ गाउँपालिकाका ४ पशुपालकलाई एक्याप जोमसोम कार्यालयले १ लाख ४९ हजार ५ सय रुपैयाँ उपलब्ध गराएको थियो ।
योसंगै मुस्ताङका वन्यजन्तु पीडित १९ घरधुरी मध्ये ९ घरधुरीलाई ३ लाख ७७ हजार रुपैया पशुधन क्षति राहत उपलब्ध भएको हो । अझै बाँकी १० घरधुरी वन्यजन्तु पीडित घरधुरीले पशुधन क्षतिको राहत पाउँने प्रक्रियामा छ ।
सरकारले वन्यजन्तुबाट हुने जनधनको क्षति भएमा राहत बितरण गर्ने प्रक्रियालाई सरल,सहज र व्यवस्थित गर्न वान्छनीय रहेको भन्दै चालुवर्षको साउनदेखि नयाँ वन्यजन्तु क्षति राहत निर्देशिका २०८० कार्यान्वयनमा ल्याएको हो । विगतका वर्षहरुमा वन्यजन्तुको आक्रमणबाट पशुधनको क्षति व्यवहोर्दै आईरहेका पशुधनीहरुलाई संम्वन्धित एक्याप कार्यालयलेनै क्षति राहत वितरण गर्ने गथ्र्यो । चालु वर्षदेखि क्षति भएका पशुधनीहरुको कागजात फेरीफाई गरी सरकारले सम्वन्धित पशुधनीकै खातामा सिधै जम्मा गरिदिने प्रावधान रहेको एक्याप लोमान्थाङका कार्यालय प्रमुख राम गुरुङको भनाई छ । उनका अनुसार सिधै उपलब्ध गराएको क्षति बिवरणको रेकर्ड कार्यालयलाई समेत जानकारी आउने छ ।
वन्यजन्तुको आक्रमणबाट पशुधनमा क्षति भएमा संम्वन्धित पशुपालकको क्षतिको विवरण एकिन तथ्य पेश गर्नुपर्ने हुन्छ । यसका लागि प्रहरी मुचुल्का,संम्वन्धित संरक्षण व्यवस्थापन समितिको सिफारिस ,वडा कार्यालयको सिफारिस , घटनास्थलको फोटोहरु र भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको भेरिफिकेसन रिपोर्ट एक्यापमा पेश गर्नुपर्ने हुन्छ । यसरी पेश गरिएको रिपोर्टका आधारमा एक्याप कार्यालय प्रमुखको संयोजक बनेको पशु क्षति मूल्यांङकन समितिले उपल्लो निकायमा पठाएपछि राहतको प्रक्रिया अघि बढ्छ ।
पछिल्लो समय मुस्ताङमा वन्यजन्तु आक्रमणले पशुपालक किसान निकै चिन्तित छन् । खर्क र लेंकमा पालन गरिएको पशुचौपाया वन्यजन्तुले खोरमै पसेर आक्रमण गरी मारिदिने गर्दा मुस्ताङका पशुपालकको पूख्यौली व्यवसाय संटकमा पर्न थालेको हो ।
कपि राईट गर्न मनाही छ ।