जोमसोम— चीनको स्वशासित क्षेत्र तिब्बतसंग सीमाना जोडिएको मुस्ताङको उत्तरी कोरलानाकामा लोमान्थाङ गाउँपालिकाले राष्ट्रिय झन्डा प्रतिस्थापन गरेको छ । लोमान्थाङ गाउँपालिकाले यसै हप्ता सीमानाका कोरलाको दजगजा क्षेत्रमा नेपालको राष्ट्रिय झन्डा फहराएको बताएको छ ।
लोमान्थाङ गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय मुस्ताङको अनुमतीमा आवश्यक बजेट विनियोजन गरी सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट (बीओपी)को समन्वयमा राष्ट्रिय झन्डा गाँडेको हो । कोरलाको पठार क्षेत्रमा नेपालको राष्ट्रिय झन्डा गाड्न लोमान्थाङ गाउँपालिकाका जनप्रतिनिधि,कर्मचारी र सशस्त्र प्रहरीको सीमा सुरक्षा टोली कोरला पुगेका थिए ।करिव २० फुट लम्बाई रहेको फलामे रड र जस्तामा रंगरोगन गरिएको राष्ट्रिय झन्डा कोरलाको २४ नं. सीमा स्तम्भ नजिक फहराईएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले जानकारी दिए । चीनको तिब्बती भूमी कोरलामा चीनले ठुला ठुला लोभलाग्दा भौतिक संरचना निर्माण गरिसक्दा नेपालतर्फमा सीमाक्षेत्रको भूगोलमा कुनै संरचना बन्न सकेको छैन । कोरलाको तिब्बती भूमी दश गजा क्षेत्रमा चीनिया सुरक्षाकर्मी २४ सै घण्टा सुरक्षा निगरानी गरिरहेको पाईन्छ । नेपालतर्फ भने कोरलाको करिव१५ किमी यता दक्षिणको नेचुङमा सीमा रक्षार्थ सुरक्षाकर्मी बसेका छन् ।
नेपालको राष्ट्रियता ,सार्वभौमिकता र नेपाली पहिचानलाई सीमा क्षेत्रमा जिवन्त राख्न लोमान्थाङ गाउँपालिकाले राष्ट्रिय झन्डा राखेको अध्यक्ष गुरुङको भनाई छ । ‘सीमापारीतीर ठुला ठुला भवन बने, हाम्रोतीर पिल्लर बाहेक केही छैन ,अध्यक्ष गुरुङले भने, यसैले नेपाल दर्विलो उपस्थिती जनाउन हामीले कोरलामा राष्ट्रिय झन्डा गाँडेका हौं, यसले कोरला भ्रमणमा जाने पर्यटकलाई नेपालको उपस्थिती देख्दा गर्वको महशुस गर्न सकुन ।’
योसंगै उपल्लो मुस्ताङको कोरला भ्रमणमा जाने नेपाली पर्यटकले राष्ट्रिय झन्डाको प्रोफाईल राखेर फोटो खिच्न पाउँने सुविधा प्राप्त भएको छ । हेर्दा सामान्य कार्य भएपनि नेपाल र नेपालीका लागि राष्ट्रिय झन्डाले राष्ट्रिय महत्व बोक्ने लोमान्थाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्धिराम उपाध्यायले उल्लेख गरे । राष्ट्रिय गौरवको (बेनी—जोमसोम—कोरला) सडक सहज भएसंगै कोरलानाका हेर्न नेपाली युवा युवतीहरुको लर्को लाग्ने गरेको पाईएको छ । उत्तरी छिमेकी देश चीनले लिजी पोर्ट समेत निर्माण गरेको र कोरलामा ठुला ठुला भवन बन्दा नेपालतर्फ भूगोल रित्तो छ । रित्तो कोरलानाका हेर्न संघीय तथा प्रादेशीक तहका मन्त्री,कर्मचारी र भिआईपि टोलीको लर्कोनै लाग्ने गरेको छ । असोज महिनामा मात्रै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे लगायत केही मन्त्री कोरला पुगेका थिए ।
सडक सञ्जाल सहज भएसंगै उत्तरी कोरलानाकामा बर्सेनि १० हजार बढी स्वदेशी पर्यटकले कोरलानाकाको अवलोकन गरेको अनुमान छ । लोमान्थाङ गाउँपालिकाले कोरलानाकामा नेपाली पर्यटकको उपस्थिती बढेसंगै चालु आर्थिक वर्ष २०८०÷०८१ का लागि आवश्यक पूर्वाधार निर्माण गर्न १५ लाख बजेट विनियोजन गरेको छ । लोमान्थाङ गाउँपालिकाले कोरलानाकामा पर्यटकका लागि बिश्राम स्थल,चमेना गृह र शौचालय लगायतका पूर्वाधार निर्माण गर्न बजेट विनियोजन गरेको गाउँपालिकाकी उपाध्यक्ष छिमी बिष्टले बताईन् । उनले चालु वर्षको असारसम्म पूर्वाधार निर्माण गरिने जानकारी दिईन् ।
सरकारले कोरलानाकामा भन्सार,अध्यागमन,सुख्खा बन्दरगाह,सुरक्षा पोष्ट र क्वारेन्टाइन भवन लगायतका भौतिक संरचना निर्माण गर्न बिस्तृत परियोजना परिवेदन (डिपिआर)को सर्वे सम्पन्न गरिसकेको छ । डिपिआर पुरा भएपछि पूर्वाधारका लागि बजेट सुनिश्चिता हुने बताईएको छ ।नेपाल उद्योग वाणिज्य मन्त्रालयले,आपूर्ती मन्त्रालय र नेपाल ईन्टरमोडल यातायात विकास समिति अन्तर्गत दुई वर्ष अघिदेखि डिपिआर सर्वे सुरु गरिएको हो । सरकारले कोरला पूर्वाधारका लागि १ करोड बजेट विनियोजन गरेको थियो । ठेक्का सम्झौता मार्फत सितारा,ईन्टुसीप,फुलराईट जेभीले कोरलानाकामा डिपिआरको जिम्मा लिएको थियो । डिपिआरका लागि त्यहाँ प्राविधिक खटिएर माटो परीक्षणको काम समेत गरिएको थियो ।
कोरलानाकामा भन्सार लगायतका पूर्वाधार निर्माण गर्न कोरलाको २४ नं. दायाँ÷बाँया १ हजार रोपनी खाली जग्गा समेत सरकारी भन्सारको नामसमेत लालपूर्जा प्राप्त भईसकेको छ । डिपिआर फाईनल भए पूर्वाधार निर्माणको ढोका खुल्ला हुनेछ । यता प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले कोरलानाकामा नेपालको भौतिक संरचना चीन पक्षले बनाईदिने समझदारी भईसकेको बताएका थिए । प्रधानमन्त्री प्रचण्ड गतहप्ता मुस्ताङ आउँदा कोरलानाका बाहै्र महिना खुल्ला गर्ने सहमती भईसकेकाले नाका चाँडै खुल्ने दावी गरेका थिए । सरकारले कोरलानाकालाई उत्तर÷दक्षिण ब्यापारिक मार्गको रुपमा विस्तार गर्ने दीर्घकालिन लक्ष्य अनुरुप राष्ट्रिय गौरवको (बेनी—जोमसोम—कोरला) सडक निर्माणधिन अवस्था छ ।