तिहारको रमाइलो पर्वसँगै नेपालका गाउँ र सहरका गल्लीहरू देउसी-भैलोको धुनले गुञ्जायमान छन्। तर परम्परागत नेपाली लोकगीत र आशिर्वादका शब्दहरू सुन्नु भन्दा, अहिले देउसी-भैलो खेल्ने क्रममा आधुनिक पप गीत, बलिउड सङ्गीत र डिस्को शैलीको प्रभाव देखिन थालेको छ। यसले गर्दा यो पुरानो परम्पराले लिने सांस्कृतिक आयामलाई आधुनिकिकरणले कमजोर बनाएको भन्दै केही सांस्कृतिक अभियन्ताहरू चिन्तित देखिएका छन्।
सदरमुकाम कुश्माबजारको मुख्य चोकमा अहिलेको देउसी-भैलोमा युवा टोलीहरू ‘लुङ्गी डान्स’ जस्ता चर्चित भारतीय गीतमा नाचिरहेका छन्। यसरी परम्परागत देउसी-भैलोमा आधुनिक सङ्गीत र नृत्य शैलीको प्रवेशले परम्परागत मौलिकतालाई कमजोर बनाउँदैछ। पर्वतका साहित्यकार टुकनाथ रेग्मी ‘बेलुराम’ यस विषयमा भन्छन्, “यस्तो ट्रेन्डले नेपाली साहित्य र कलालाई दिशाहीन बनाइरहेको छ। आशिर्वाद दिने परम्परागत शब्दहरू हराउँदै गएका छन्। यस्तै हुँदै जाने हो भने केही दशकपछि देउसी-भैलो भन्ने के थियो भनेर खोज्नुपर्ने अवस्था आउनेछ।”
विशेष गरी शहरी क्षेत्रमा रेकर्ड गरिएको सङ्गीत, चर्को आवाजमा बज्ने स्पिकर, र टोल-टोलमा प्रचलित आधुनिक शैलीका कारण परम्परागत देउसी-भैलो सुन्न नपाइने भएको छ। जसले गर्दा मौलिकता हराउँदै जान थालेको छ। यसको विपरीत, गाउँघरमा भने अझै पनि केही बालबालिकाहरूले परम्परागत शैलीमा देउसी-भैलो खेलिरहेको देख्न सकिन्छ।