प्लाई उद्योग आगलागी घटनाः ३० घर जोखिममा

घोराही, - घोराही उपमहानगरपालिका–९ खैरास्थित साङ्ग्रिला प्लाई उद्योगमा भीषण आगलागी हुँदा करोडौँ रुपैयाँको क्षति भएको छ। आगलागीका कारण नजिकका ३० भन्दा बढी घर उच्च जोखिममा परेका छन् भने प्रभावित परिवारलाई सुरक्षित स्थानमा सार्ने कार्य भइरहेको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहका अनुसार आठ बिघा क्षेत्रफलमा फैलिएको उक्त उद्योगमा विद्युत् सर्ट भएर आगलागी भएको हो। आगलागीका कारण उद्योग नजिकका घरका सामान बाहिर निकाल्ने काम भइरहेको छ।

आगलागीबाट प्लाई बनाउन प्रयोग हुने काठ, कच्चा पदार्थ, प्लाई बनाउने मेसिनलगायत सामग्री जलेर नष्ट भएको छ। गएराति २ बजेदेखि लागेको आगो अझै निभाउन सकिएको छैन। हाल घोराही, तुलसीपुर, लमही, गढवा र कपिलवस्तुबाट ल्याइएका दमकलहरूको सहयोगमा आगो निभाउने प्रयास जारी छ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा स्थानीयवासीहरूको ठूलो सङ्ख्या आगो नियन्त्रणका लागि खटिएको छ। हालसम्म कुनै मानविय क्षतिको खबर प्राप्त नभए पनि उद्योगको पूर्णरूपमा क्षति भएको आशंका गरिएको छ। घटनाको विस्तृत अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया