लेखक : एचबी खत्री
वाल्यकालमा भूतका कथा खुब पढियो। कैयौं डरलाग्दा भूतका कथाहरू सुनेको सम्झना ताजै छ। विद्यालयमा समेत भूतका कथा पढ्न र सुन्न पाइन्थ्यो, र ती कथाहरूले मनमा डर भरिदिन्थे। तिनमा देखाइने भूतहरू कुरुप, विशाल, र भयावह थिए। ती भूतहरूसँग समय बिताउने कल्पनाले पनि मुटु थर्किन्थ्यो।
तर जति बुझ्ने हुँदै गयौं, थाहा भयो कि ती भूतहरू केवल कथामा मात्र सीमित थिए। वास्तविकतामा, भूतहरूको कुनै अस्तित्व छैन भन्ने विश्वासले हामीलाई ढुक्क पार्यो। कुनै समय पत्रकार रवि लामिछानेले भूतघरको कथा प्रशारण गरेपछि समाजमा भूतको चर्चा झन् बढ्यो, यद्यपि त्यो भूतघरको कथा पछि झूट साबित भयो।
हाम्रा पुराना कथाहरूले भूतहरूलाई सँधै नकारात्मक रूपमा चित्रण गर्थे, जहाँ कुनै वीर नायकले अन्तमा ती भूतहरूको अन्त्य गर्थे। हाम्रो धार्मिक परम्परामा पनि भूतको डर बलियो बनाइएको छ। तर यी भूतहरूले बाल्यकालको डरभन्दा खासै फरक असर गरेनन्।
तर आज, म तपाईलाई भूतको होइन, **महाभूत**को कथा सुनाउँछु। यो कुनै साधारण कथा होइन, यो आजको संसारमा मान्छेले सामना गरिरहेको सबैभन्दा ठूलो खतरा हो।
कथा
चारजना बाल्यकालका साथीहरू दस वर्षपछि भेट भए। भेटमा खुसी, उल्लास सबै थियो। तिनीहरू नदी किनारको एक रिसोर्टमा भेट्न आए। तर भेट भएको पाँच मिनेट नपुग्दै महाभूतले उनीहरूलाई घोप्टो पार्यो। चारैजना नजिकै भए पनि कसैले कसैलाई चिनेको जस्तो थिएन। उनीहरू महाभूतमा यति लिप्त थिए कि एक-अर्कासँग संवाद गर्न पनि सकेनन्।
बिदा हुने बेला महाभूतले सबैको अनुहारमा जबरजस्ती मुस्कान ल्यायो। एकजना साथी महाभूतको बोलावटमा हतारिँदै रिसोर्टबाट निस्किए। छुट्ने बेला सबैले महाभूतको माध्यमबाट जबर्जस्ती हाँसेर तस्बिर खिचे र सामाजिक सञ्जालमा पोष्ट गरिदिए।
भोलिपल्ट, पुलिस तिनै साथीहरूको घरमा पुग्यो। उनीहरूलाई हतकडी लगाएर चौकीमा लगियो। चौथो साथी भने हराइरहेको थियो। प्रहरीका अनुसार त्यो साथी निराश देखिएका थिए, तर महाभूतको प्रभावमा परेका बाँकी तीनले त्यो कुरा महसुसै गर्न सकेनन्।
प्रहरीले खोजी गर्दा थाहा भयो, चौथो साथीको गाडी नदी किनारमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो। महाभूतमा डुबिरहेका बाँकी साथीहरूले यस घटनाबाट केही समय पुलिस कस्टडिमा बिताए। तर अन्ततः उनीहरू निर्दोष साबित भए।
तर यो घटनाले उनीहरूलाई एउटा ठूलो पाठ सिकायो—यदि उनीहरूले महाभूतको वशमा नपरी थोरै समय एक-अर्कालाई दिएका भए, सायद साथी बाँच्न सक्थ्यो।
महाभूतको असर
महाभूत कुनै अदृश्य शक्ति होइन। यो हाम्रो हातमा रहेको स्मार्टफोन हो, जसले हाम्रो वास्तविक सम्बन्ध र भावनालाई बिस्तारै हराउँदै लगेको छ। यो महाभूतले मान्छेलाई जिउँदो, तर भावनाहीन, निराश, र एक्लो बनाइरहेको छ।
महाभूतको वशमा परेर मान्छेले घण्टौं समय बिताउन सक्छ, तर यस विना एकछिन पनि रहन गाह्रो हुन्छ। यो महाभूतले मान्छेहरूलाई झूठो खुसी दिन्छ, तर वास्तविक खुसी खोसिदिन्छ।
आज संसारका कैयौं मानिस महाभूतको अधीनमा परेका छन्। यसले हाम्रो जीवनको वास्तविकता, प्रेम, र रमाइलोलाई विस्थापित गर्दै, हामीलाई यथार्थबाट टाढा लैजाँदैछ।
तर अब प्रश्न उठ्छ: के हामी महाभूतको यो प्रभावबाट जोगिन सक्छौं?
यस कथाको उद्देश्य भनेको हामीलाई महाभूतबाट मुक्त गराउनु हो।