जोमसोम— दशै पर्वले हिमाली जिल्ला मुस्ताङ सुनसान बन्न थालेको छ । यसअघि गुल्जार मुस्ताङ दशै पर्व सुरु भएसंगै सुनसान बनेको थियो ।
जिल्लाका विभिन्न विकास आयोजनामा कार्यरत मजदुर तथा जिल्ला स्थित सरकारी कार्यालयका अधिकाँश कर्मचारी दशै पर्व मनाउन आ—आफ्नो घर फर्किन थालेपछि हिमाली जिल्ला मुस्ताङ सुनसान बनेको हो ।
दशै पर्व मनाउन एक साता अघिदेखिनै मजदुर र कर्मचारी घर फर्किन चटारो चलेको म्याग्दी कोरला यातायात प्रा.लि. जोमसोमका प्रतिनिधि पेमा छेतेन विकले जानकारी दिए । उनले घटस्थापना देखि दैनिक ५ सय जना भन्दा बढी मजदुर र कर्मचारी मुस्ताङबाट घर फर्किएको बताए । दशैं पर्व नजिकिसंगै मुस्ताङबाट पोखरा र काठमान्डौं रुढमा चल्ने यात्रुवाहक सवारीको टिकट बुकिङ काउन्टरमा मजदुर र कर्मचारीको बाक्लै भीडभाड देखिन्थ्यो । दशै पर्वका कारण मजदुर र कर्मचारीले कोशेलीको रुपमा स्थानीय कृषि उत्पादन स्याउ,ब्रान्डी, उवाको रक्सी र फापरको पिठो आदी कोशेलीको रुपमा घर लैजान थालेपछि स्थानीय फुटकर व्यवसायी उत्साहित भएका छन् । स्याउ मुस्ताङको मुख्य कृषि उत्पादन हो ।
दशैं पर्वको घटस्थापना सुरु भएसंगै राष्ट्रिय गौरवको आयोजना अन्तर्गत कालिगण्डकी करिडोर (बेनी—जोमसोम—कोरला) सडकका झन्डै १२ सय बढी मजदुर घर फर्किएको आयोजनाका सूचना अधिकारी ईन्जिनीयर बिष्णु चापागाईले जानकारी दिए । ‘ दशै पर्व मनाउन अधिकाँश मजदुर र उपकरण अपरेटरहरु घर फर्किएका छन्, एकाध डोजर चलाउने अपरेटलाई आपत्कालीन काम लगाउन रोकेका छौं, ईन्जिीनीयर चापागाईले भने, दशै पर्व मनाएर कार्यस्थल फर्किन भनेका छन् ,यहाँ जाडो सुरु भईसकेकाले सबै मजदुर फर्किन गाहे छ ।’
दशैं पर्व मनाउन धमाधम मजदुर काम छोडेर घर फर्किन थालेपछि मुस्ताङका अधिकाँश विकास निर्माणका योजना अहिले ठप्प भएको छ । राष्ट्रिय गौरवको झन्डै ७ वटा सडक स्तरोन्नतिको काम दशै पर्वले ठप्प भएको छ भने आयोजना अन्तर्गतकै १ दर्जन भन्दा बढी निर्माणधिन सडक पुलको काम समेत मजदुर नहुँदा रोकिएको ईन्जिनीय चापागाईले बताए । मुस्ताङमा भौगोलिक विकटता र मौसम अनुकुल नहुँदा बाह्र महिनामा जम्मा ६ महिना पनि काम संञ्चालन गर्न मुश्किल पर्छ । यहाँ मसिंरदेखि फागुन र सम्म विकासका काम प्राय ठप्प हुन्छन् । यस्तै, बर्खायाममा पनि बाढी,पहिरो र नदी कटानका कारण विकास योजनाको काम गर्न अप्ठ्यारो पर्ने गर्छ । यसैले दशै पर्व मनाउन गएका मजदुरहरु आधा पनि काम नफर्किने निश्चित छ ।
यसैगरी पूर्वाधार विकास कार्यालय, जलश्रो खानेपानी तथा सिंचाई सवडिभिजन कार्यालय अन्तर्गतका योजनामा काम गर्ने अधिकाँश मजदुरहरु पनि कार्यस्थल छोडेर दशै पर्व मनाउन घर फर्किसकेको बताईएको छ । स्थानीय तहका विकास योजनाहरु पनि मजदुर दशै पर्व मनाउन घरतर्फ प्रस्थान गर्दा काम ठप्प भएको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिए ।
यसैगरी जिल्ला स्थित सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरु दशैं पर्व मान्न घर फर्किएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए । दशैं मान्न गएका कर्मचारी पूर्णिमापछि कार्यस्थल फर्किन प्रजिअ पन्तको भनाई छ । दशैं पर्व मनाउन स्थानीय तह ,संघीय र प्रादेशिक कार्यालयका कर्मचारी घर फर्किएपछि मुस्ताङ झनै सुनसान बनेको हो । दशै पर्वअघिको सोह्र श्राद्धको अवधिमा स्वदेशी पर्यटकले गुल्जार बनेको मुस्ताङ घटस्थापनापछि स्वदेशी पर्यटकको उपस्थित निकै पातलिएको छ । तर, फरेनर विदेशी पर्यटकको उपस्थिती भने कायमै रहेको जोमसोमका पर्यटन व्यवसायीहरु बताउँछन् । मुस्ताङमा मंसिर महिना लागेपछि पर्यटकको सिजन सकिन्छ ।
मुस्ताङमा दशैंको छैन रोनक
दशै पर्वको नवरात्र सुरु भएपनि मुस्ताङमा दशैं पर्वको कुनै र।ैनक देखिदैन । मुस्ताङमा अधिकाँश बौद्ध धर्ममा आस्था राख्ने भएकै कारण दशैं पर्वको रौनक नदेखिएको हो । यहाँ झन्डै ९५ प्रतिशतले बौद्ध धर्ममा आस्था राख्छन् । बौद्धिस जिल्ला भएकालेनै मुस्ताङमा नवरात्र अवधिमा कुनै पशु बली दिने चलन छैन । तर ,यहाँका स्थानीयले दशै पर्वमा मिठो परिकार बनाएर आपसमा रमाईलो गर्ने र शुभकामना आदान प्रदान गर्ने प्रचलन छ । मुस्ताङमा थकाली,गुरुङ र बिष्ट समुदायहरुले दशै पर्व मनाउने प्रचलन नभएपनि यहाँका दलित समुदायले भने आफन्त र मान्यजनबाट दशै पर्वमा टिका लगाउने चलन छ । जिल्लाका कुल जनसंख्याको करिव १३ प्रतिशत दलित समुदाय छन् । उनीहरु बौद्ध धर्मलाई पनि आत्मसाथ गर्दै हिन्दु धर्ममा पनि आस्था राख्छन् ।
मुस्ताङका आदीवासी जनजातीहरुले दशै पर्व मनाउने प्रचलन नभएपनि मुस्ताङको ठिनी गाउँमा सामुहिक दशैं टिका लगाउन प्रचलन छन् । मुस्ताङको घरपझोङ—५ ठिनी स्थित कोतघरमा ज्येष्ठ नागरिकहरुबाट दशैं पर्वमा टिका लगाउन चाहनेलाई टिका लगाउने प्रचलन रहेको ठिनीका स्थानीय निरज थकालीले जानकारी दिए ।