मुक्तिनाथको दानपेटिकामा ११ देशको भेटी

जोमसोम—हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको साँझा धार्मिक तीर्थस्थल मुस्ताङको मुक्तिनाथ मन्दिरमा राखिएको दानपेटिका बाकसमा नेपालसहित ११ देशका भक्तजनहरुले नगद भेटी रुपैया चढाएका छन् । गत शुक्रबार मुक्तिनाथ मन्दिरको दानपटिका बाकसको भेटी रकम गणना गर्ने क्रमा नेपालसहितका ११ देशका रुपैया जम्मा भएको हो ।

मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद सुवेदी,मुक्तिनाथ विकास समितिका सदस्य सचिव एवं मालपोत कार्यालय मुस्ताङका प्रमुख सुर्यप्रसाद शर्मा,जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक मिलनबहादुर विक ,वारागुङ मुक्तिक्षेत्र—१ वडा कार्यालय प्रतिनिधि र मन्दिरका आनीझुुमा र पुजारी लगायतको रोहबरमा मुक्तिनाथ मन्दिरमा भक्तजनहरुले स्वविेवेकले चढाएको भेटी रकम गणना गरिएको हो । मुक्तिनाथ मन्दिरमा बर्सेनि ३—३ महिनामा मन्दिरमा राखिएको दानपेटिका बाकसमा चढाईएको भेटी गणना गर्ने भनीएपनि सो कार्यतालिका अनुसार भेटी गणना हुन सकेको छैन ।  यसअघि गतवर्षको जेठ १८ गते गणना गरिएको भेटी ६ महिनापछि चालु वर्षको मंसिर २१ गते गणना गरिएको हो ।

मुक्तिनाथ मन्दिरमा राखिएको भेटी चन्दा बाकसको रकम गणना गरिदा ११ देशको रुपैया जम्मा भएको मुक्तिनाथ विकास समितिका सदस्य सचिव  एवं मालपोत कार्यालयका प्रमुख सुर्यप्रसाद शर्माले उल्लेख गरे । शर्माका अनुसार मुक्तिननाथमा राखिएको ५ वटा चन्दा भेटी बाकसमा नेपाली रुपैयाँ  १० लाख ९५ हजार ८४० जम्मा भएको छ भने भारतीय रुपैयाँ  ५ लाख ३४ हजार २४० रुपैया जम्मा भएको हो ।

यसैगरी मुक्तिनाथको भेटी गणना गर्दा अमेरिकी डलर ७१९,अरबियन ३२५,कोरियन १ हजार,बेलायती १,भुटानी २०,हङ्कङ ३०,युरो १०,मलेसियन २ र ओमानी रुपैया १ सय जम्मा भएको मुक्तिनाथ विकास समितिका सदस्य सचिव शर्माले जानकारी दिए । गणना गरिएको भेटी मध्ये नेपाली रुपैयाँ १० लाख ९५ हजार ८४० रुपैया मुक्तिनाथ स्थित प्रभु बैंकमा जम्मा गरिएको सदस्य शर्माले बताए ।

तर,भारतीय रुपैयासहित १० वटा देशका भक्तजनले चढाएको रकम भने सटही हुन नसकेपछि  मंगलबार जिल्ला प्रहरी कार्यालय मुस्ताङको जिम्मा लगाईएको छ । यसअघि गणना गरिएको विभिन्न देशका नागरिक भक्तजनले चढाएको भेटी रकम पनि सटही हुन नसक्दा मुस्ताङ प्रहरी कार्यालयको जिम्मा लगाईएको थियो । 

मुक्तिनाथ विकास समिति अन्तर्गत गरिने आर्थिक संकलनका लागि समितिले रसिद काँटेर चन्दा संकलन गर्न एक जना कर्मचारी खटाएको छ । समितिले मुक्तिनाथ मन्दिर परिसरमा भेटी संकलनका लागि ५ वटा चन्दा बाकस राखेको छ ।पछिल्लो समय मुक्तिनाथमा डिजटल भेटी दान गर्न चाहने भक्तजनका लागि समितिको खाता रहेको प्रभु बैंकको क्यूआर कोड प्रयोग गरी दान गर्न सकिने व्यवस्था मिलाईएको छ । तर, रकम एक द्धार प्रणाली नहुँदा मुक्तिनाथको एकिन आर्थिक भेटी संकलन गर्न समस्या छ । मुक्तिनाथमा कार्यरत समितिका चन्दा संकलन गर्ने कर्मचारी रविन सुवेदीले चालु वर्षको साउनदेखि हालसम्म करिव १५ लाख बढी रकम रसिद काँटेर संकलन भएको जानकारी दिए ।

मुक्तिनाथ मन्दिरको भेटी २०८० को जेठसम्ममा करिव ७ करोड मौज्याद रहेको मुक्तिनाथ विकास समेतका लेखा हेर्ने कर्मचारी अजित मगरले जानकारी दिए ।  उनका अनुसार  समितिको खाँतामा ६ करोड ९१ लाख छ ।जसमध्ये ११ लाख ४९ हजार सटही हुन सकेको छैन भने उल्लेखित मौज्यादमा बैंकको ब्याज समेत जोडिएको उनले बताए ।

यस्तै आर्थिक वर्ष २०७८÷०७९ मा  नगद रसिद काँटेकोबाट १ करोड ३ लाख २९ हजार जम्मा भएको थियो । आर्थिक वर्ष २०७९÷०८०को चैत्रमा दानपेटिका बाकसको भेटी रकम गणना गर्दा १० लाख ८४ हजार उठेको थियो  भने सोही वर्षको असारमा गणना गर्दा ७ लाख ५३ हजार ७ सय र ६ लाख ३५ हजार भारतीय गरी १७ लाख ६९ हजार रकम जम्मा भएको थियो ।

मुक्तिनाथ विकास समितिको मुस्ताङका ५ वटै बैंक तथा वित्तिय संस्थामा खाता सञ्चालनमा छ । समितिले मन्दिर व्यवस्थापनका लागि एकजना पुजारी सहित ४ जना कर्मचारी खटाईएको छ  । उनीहरुका लागि करिव बर्सेनि ९ लाख खर्च हुने गर्छ ।

मुक्तिनाथ मन्दिरको भित्री परिसरमा देउतालाई चढाएको नगद तथा जिन्सी गरगहना र सामान संकलन गर्न भने मुक्तिनाथ विकास समितिले पाएको छ । मन्दिर भित्र चढाईएको नगद तथा जिन्सी सामाग्री मन्दिरमा कार्यरत आनीझुमाहरुले सदिंयौदेखि संकलन गर्दैआईरहेको छ । मन्दिर भित्र चढाइएको भेटी सम्वन्धी बिवाद अझै सुल्झन सकेको छैन । मुक्तिनाथ मन्दिर भित्र चढाईएको भेटी समितिको स्वामित्वमा राख्न र त्यहा कार्यरत आनी झुमाहरुको व्यवस्थापन  समितिले गर्न पुनरावेदन अदालत बाग्लुलले गरेको फैसला कार्यान्वयन गर्न पटक÷पटक अदालतले परिपत्र गरेपनि उक्त समस्या ज्यूँका त्यूनै रहेको छ । फैसला कार्यान्वयनको दशौं वर्ष बितिसक्दा र दर्जनौ सिडिओ परिवर्तन हुँदा समेत मन्दिर भित्र चढाएको भेटी तथा जिन्सी दानको बिवाद सुल्झन सकेको छैन । 

मुक्तिनाथ मन्दिर रेखदेख तथा व्यवस्थापनका लागि प्रमुख जिल्ला अधिकारीलाई मुक्तिनाथ विकास समितिको अध्यक्षको कार्यभार दिईएको छ । समितिको सदस्य सचिव मालपोत कार्यालयका प्रमुखलाई जिम्मेवारी तोकिएको छ ।

मुक्तिनाथमा बेग्लै स्थानीय स्तरबाट मुक्तिनाथ स्थानीय संरक्षण समिति पनि गठन भएको छ ।


प्रतिक्रिया