जोमसोम—करिव एक दशक अघि मुस्ताङका किसानले परम्परागत रुपमा गोरु झोपाबाट आफ्नो खेतबारी खनजोत गरिन्थ्यो । यीनै गोरु झोपालाई भारी बोकाएर जंगलबाट दाउँरा ओसार्ने र खेतबारीमा मल ओसार्न गरिन्थ्यो ।झोपाको काम सकिएपछि नजिकैको लेंकमा छाडिन्थ्यो ।तर, यो सदिंयौदेखिको परम्परागत कृषि पद्धती आधुनिक पद्धतीमा रुपान्तरण हुन थालेपछि मुस्ताङमा हिमाली गोरु झोपा लोपोन्मुख अवस्था पुगेको हो ।
हिमाली झोपा अर्थात गोरु मुस्ताङका ५ वटै स्थानीय तहका किसानले कृषि कर्ममा प्रयोग गथ्र्ये ।याक र गाईको क्रसबाट प्रजनन् भएको बाँच्छोलाई झोपा भन्ने गरिएको हो । हिमाली झोपाले जस्तो सुकै चिसोलाई थेग्न सक्ने सामथ्र्यता राख्छ । यसको शारिरीक बनावट याक जस्तै हुन्छ । मुस्ताङमा बेसीमा जस्तो गोरु हुँदैन । गोरु रागा र गाईको प्रजनन्बाट जन्मिएको प्रजाती हो ।
पहिला पहिला झोपा हुनेले खेतबारी भएपनि झोपा नहुँनेलाई कृषिश्रमदान (पर्म) लगाएर खेतबारी खनजोत गर्न सघाउँथे । कसैले झोपा मागेर दाउरा खोज्न गए उसले झोपा धनीसंग आधा आधा भाग लगाउनु पथ्र्यो । मल ओसार्न पनि झोपा प्रयोग हुन्थे ।
तर, पछिल्लो १० वर्ष यता मुस्ताङको परिस्थिती फेरिन थालेको छ । बढ्दो प्रविधिको विकाससंगै कृषि कर्मका लागि खेतबारी जोत्ने यान्त्रिक कृषि उपकरण प्रयोग हुन थालेपछि परम्परागत गोरु झोपाको महत्व घटेको घरपझोङ—४ जोमसोमका किसान अजित थकालीले उल्लेख गरे ।उनका अनुसार परम्परागत कृषि प्रणालीलाई आधुनिक कृषि प्रणालीमा उपयोग गर्दै वैज्ञानिक कृषि पद्धती अनुसरण गर्न प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन ईकाई मुस्ताङ, कृषि ज्ञान केन्द्र मुस्ताङ र संम्वन्धित स्थानीय तहका पालिकाहरुले अनुदान सहुलियतमा यान्त्रिक कृषि उपरकण मिनि ट्रेलर वितरण गर्ने गरेको छ । यहाँका किसानले सरकारी निकायबाट अनुदानबाट खेतबारी जोत्ने यान्त्रिक प्रविधि मिनि ट्रेलर पाउन थालेपछि परम्परागत रुपमा पालन गरिएका झोपा पाल्न छोडेको कृषक थकालीको भनाई छ ।
परम्परागत तवरबाट कृषि कर्म अपनाउँदा खेत जोत्ने झोपाको व्यवस्थापन गर्न गाहे हुने,कामदार खोज्दा नपाईने,समय र पैसा पनि धेरै लाग्ने भएकाले झोपाको प्रयोग हुन छाडेको हो ।यान्त्रिक प्रविधिले सीमित कामदार,कम समय, कम लागत र समयमै काम गर्न सजिलो माध्यम भएकाले जिल्लाका आधा जसो किसानले आधुनिक प्रविधिको यान्त्रिक मिनि ट्रेलर उपकरण प्रयोग गरिरहेको थासाङ—२ सौरुका किसान सोजन हिराचनले उल्लेख गरे । उनले मुस्ताङमा स्याउबाली भित्र अन्तरबाली समेतको खेती हुँने गरेकाले यान्त्रिक उपकरण हलोले खेतबारी जोत्न सजिलो हुने बताए । उनले स्याउबारी भित्र झोपाले जोत्दा अप्ठ्यारो हुने बताए ।
जिल्लामा अधिकाँश किसान पर्यटन व्यवसायमा समेत जोडिएको र यहाँका यूवा जनशक्ति युरोप र अमेरिकामा बैदेशिक रोजगारमा जान थालेपछि कृषि कर्म गर्ने जनशक्ति घट्न थालेको हो ।यद्यपी मुस्ताङमा स्याउको उत्पादनबाट यहाँका किसानले मनग्ये आम्दानी लिन सक्ने र आलु,फापर र जौ,बोडि आदीबाट पनि राम्रो कमाई हुने हुँदा यहाँका किसानले कृषि कर्म र पर्यटन व्यवसायमा मुख्य जोड दिएको पाईन्छ ।
फोटो क्याप्सन ः
लोपोन्मुख अवस्थामा हिमाली झोपा । तस्विर ःसुन्दरकुमार थकाली ।