छठ पर्वको मुख्य दिन: आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य, विशेष पूजाआराधनामा देशभर श्रद्धालुको सहभागिता

छठ पर्वको मुख्य दिन आज बिहीबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै देशभर पूजाआराधना गरिँदैछ। कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यो पर्व सूर्यदेवको उपासना, आराधना र विशेष पूजा अर्चना गर्ने अवसरका रूपमा विख्यात छ। मङ्गलबारदेखि सुरु भएको यो पर्व व्रतालुहरूका लागि अत्यन्तै पवित्र र धार्मिक महत्त्व बोकेको छ।


कार्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर व्रतको प्रारम्भ गरिन्छ भने दोस्रो दिन पञ्चमीका दिन खरना विधिबाट विशेष खीर षष्ठी मातालाई चढाई प्रसादस्वरूप ग्रहण गरिन्छ। मुख्य दिन अर्थात् षष्ठीका दिन आज व्रतालुहरूले कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिने विधि पूरा गर्दैछन्। रातभर जाग्राम बसेर सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो पर्व समापन हुनेछ।


धार्मिक मान्यता अनुसार, सूर्यलाई अर्घ्य दिँदा चर्म रोगबाट मुक्ति पाइन्छ र सुख-समृद्धि कायम रहन्छ। यो पर्व विशेषगरी तराई-मधेशमा मनाइने भए तापनि हाल यसले राष्ट्रिय स्वरूप लिएको छ। राजधानीको गुह्येश्वरी, गौरीघाट, कमलपोखरी, र अन्य नदी किनारहरू व्रतालुहरूको स्वागतका लागि सजाइएका छन्।


पौराणिक ग्रन्थ महाभारत अनुसार, पाँच पाण्डव अज्ञातवासका बेला सूर्यदेवको आराधना गरेका थिए, जसले गुप्तवास सफल बनाउन योगदान गरेको विश्वास गरिन्छ। साम्ब पुराणमा कुष्ठरोगबाट पिडित साम्बले सूर्यदेवको आराधनाबाट रोग मुक्त भएको उल्लेख छ। यसै विश्वासका आधारमा व्रतालुहरूले छठमा व्रत गरेमा दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने विश्वास गरेका छन्।


छठ पर्वको महत्त्व देशभर बढ्दै गएको छ, र सरकारले यस अवसरमा सार्वजनिक बिदा दिने परम्परा समेत स्थापना गरेको छ।

प्रतिक्रिया