जोमसोम—हिमाली जिल्ला मुस्ताङमा संम्भावित तथा अत्यधिक चिसो बढेसंगै यसबाट नागरिकको ज्यूधनको रक्षा गराउन आवश्यक विपद् प्रतिकार्य तथा व्यवस्थापनको तीब्र तयारी गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति मुस्ताङ तथा जिल्ला स्थित राजनीतिक पार्टी प्रतिनिधि सम्मिलित जिल्ला प्रशासन कार्यालय मुस्ताङमा बिहिबार बसेको विपद् व्यवस्थापनको बैठकले हिउँदयामको चिसो मौसममा जिल्लामा हुनसक्ने संम्भावित विपद्को सामना गर्न पूर्व तयारी गरिएको हो ।
हिउँदयामको समयमा अत्यधिक चिसोसंगै हिमपात पर्ने भएकाले यसबाट नागरिकको जनधनको सुरक्षा गर्न विपद् प्रतिकार्य युनिट र संयन्त्रणलाई पूर्व तयारी अवस्थामा राख्न आवश्यक तयारी गरिएको हो ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक जनकराज पन्तले हिमपात र चिसोबाट नागरिकलाई जोगाउन विपद् जोखिम न्यूनिकरण संयन्त्रलाई प्रभावकारी बनाउने निर्णय भएको जानकारी दिए । प्रजिअ पन्तले हिउँदयाममा हिउँ पर्ने,चिसोले नागरिकको स्वास्थ्यमा पार्नसक्ने समस्या, हिमपहिरो र आगलागी घटनाले मानवीय संकट उत्पन्न हुनसक्ने भएकाले प्रशासन,सुरक्षा निकाय,कार्यालयहरु , जिल्लाका ५ वटै स्थानीय तह,रेडक्रस,नागरिक समाज,गैसस महासंघ,पत्रकार महासंघ र आम नागरिकहरुलाई संम्भावित जोखिमबाट मुक्त राख्न आवश्यक सजगता अपनाउन अपिल गर्ने निर्णय भएको बताए । विपद्को बेलामा हुनसक्ने संम्भावित जोखिमबाट बच्न के कसरी प्रतिकार्य गर्न सकिन्छ भन्ने विषयमा घनिभुत छलफल तथा पूर्व तयारी गर्ने निर्णय गरिएको प्रजिअ पन्तको भनाई छ ।
प्राकृतिक विपद्् बाजा बजाएर नआउने भएकाले कुनै पनि बेला हुनसक्ने संम्भावित विपद् जोखिमको प्रभाव सामना गर्न जिल्ला स्थित कार्यालय,स्थानीय तह र सरोकारवाला निकायहरुसंगै सहकार्य गरी अघि बढ्ने निर्णय भएको प्रजिअ पन्तले उल्लेख गरे ।
जिल्ला विपद् व्यवस्थापन तथा राजनीतिक दल संग्लन प्रतिनिधिहरुको संयुक्त बैठकले संम्भावित विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापनका लागि विभिन्न ७ बुँदे निर्णय गरेको छ । बैठकले हिउँदयामको चिसो मौसम र हिमपातको जोखिम प्रभाव र त्यसको असरलाई न्यूनिकरण गर्न सरकारी तथा गैरसरकारी संघसंस्थाबाट आवश्यक जनचेतनामूलक सामग्री प्रचार÷प्रसार र न्यानो कपडाको जोहो गर्ने निर्णय गरेको छ । हिमपात र चिसोबाट हुने क्षति न्यूनिकरणका लागि सुरक्षा निकायलाई सर्तकताको स्थितीमा राख्ने,संघीय तथा प्रादेशीक सरकारबाट प्राप्त राहत सामाग्रीको समुचित व्यवस्थापन र आवश्यकता अनुसार जिल्ला प्रशासन कार्यालयले वितरण गर्ने जनाईएको छ ।
गत साउन २८ गते गएको कागबेनी बाढी प्रभावित क्षेत्रका घरबारविहिन परिवारलाई संघ तथा प्रदेश सरकारले उपलब्ध गराएको राहत रकम संघीय र प्रादेशीक विपद् व्यवस्थापन नियमावली रहेको राहत वितरण मापदण्ड अनुसार विवरण संकलन गरी प्रक्रिया पू¥याएर वितरण गर्ने निर्णय भएको छ ।
यसैगरी घरपझोङ—४ जोमसोममा पर्यटन प्रहरीलाई १ रोपनी जग्गा र घरपझोङ—३ एक्लेभट्टीमा जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई २ रोपनी जग्गा र वारागुङ—५ फल्याकमा स्वास्थ्य चौकी निर्माण गर्न २ रोपनी बढी जग्गा माग भएको र सो जग्गा विपद् व्यवस्थापनका लागि आवश्यक नपर्ने भएकाले लिजमा दिन सिफारिस गर्ने निर्णय गरिएकोहो ।