बालेन : सम्भावनाको एक प्रतीक
नेपालले लामो समयदेखि राजनीतिक गफ, आश्वासन र अधूरा सपनाको चक्रमा आफूलाई हराउँदै आएको थियो । यस्तै निराशाको परिवेशमा एउटा नाम आशाको किरण बनेर उदायो बालेन्द्र शाह (बालेन) । बालेन केवल एक प्रधानमन्त्री मात्र होइन; उनी जनताले खोजिरहेको इमानदार विकल्प, मौन विद्रोहको आवाज र हराउँदै गएको आत्मविश्वासको पुनर्जागरण हुन् ।
१. अस्तित्वको पुनःस्थापना
नेपालको नागरिकता कागजमा सीमित हुँदै गएको बेला, बालेनले “म पनि केही गर्न सक्छु” भन्ने चेतना जगाएका छन । राज्यप्रति निराश भएका नागरिकले पुनः आफ्नो अस्तित्व महसुस गर्न थालेका छन । उनी जनताको प्रतिनिधि मात्र होइनन्, जनताको प्रतिबिम्ब हुन् । त्यो प्रतिबिम्ब जसले आफूलाई पुनः चिन्ने अवसर दिएको छ ।
२. पहिचान र सभ्यताको पुनर्जागरण
नेपालको मौलिकता, सभ्यता र सांस्कृतिक पहिचान आधुनिकताको नाममा ओझेलमा पर्दै गइरहेको थियो । बालेनले विकासलाई केवल भौतिक संरचनामा सीमित नराखी, मौलिकता र पहिचानसँग जोड्ने प्रयास गरेका छन । यसले विकासलाई “आत्मासहितको प्रगति” बनाउने संकेत गर्छ ।
३. गफबाट कर्मतर्फको यात्रा
नेपालमा “गफ गर्ने नेता” नयाँ कुरा होइन । तर बालेनले गफको सट्टा कामको भाषामा बोल्न थालेका छन । उनी देखाउँछन कि परिवर्तन भाषणले होइन, निर्णय र कार्यान्वयनले आउँछ । यही कारण उनी आशा मात्र होइनन्, विश्वासको आधार बन्दै गएका छन ।
४. अहंकारबाट यथार्थतर्फ
नेतृत्वमा अहंकारले ठाउँ लिँदा जनता टाढा हुन्छन । बालेनको शैलीमा देखिने सरलता र प्रत्यक्ष संवादले अहंकारको सट्टा यथार्थता प्रस्तुत गर्छ । उनले देखाएका छन कि नेता ठूलो होइन, जिम्मेवारी ठूलो हो ।
५. चिन्ताबाट चिन्तनतर्फ
जनता लामो समयसम्म चिन्तामा थिए कि देश किन यस्तो भयो ? अब त्यो चिन्ता बिस्तारै चिन्तनमा बदलिँदै छ । अब के गर्न सकिन्छ ? बालेनले समस्या मात्र होइन, समाधानतर्फ सोच्ने संस्कार विकास गरिरहेका छन ।
६. आश्वासनबाट सद्भावतर्फ
राजनीतिमा आश्वासन धेरै दिइयो तर सद्भाव कम देखियो । बालेनको उपस्थितिले आश्वासनलाई व्यवहारमा बदल्ने र नागरिक–सरकार सम्बन्धलाई विश्वास र सद्भावमा रूपान्तरण गर्ने संकेत दिएको छ ।
अन्तमा, बालेन कुनै चमत्कार होइनन्, न त सबै समस्याको एकमात्र समाधान । तर उनी एउटा सुरुआत हुन् । त्यो सुरुआत जसले नेपालीलाई फेरि आफ्नो देशप्रति गर्व गर्न सिकाउन सक्छ । यदि बालेनलाई केवल एक व्यक्तिको रूपमा हेरियो भने उनी सीमित हुन्छ । तर यदि उनलाई एउटा विचार, एउटा आन्दोलन, एउटा चेतनाको रूपमा बुझियो भने त्यो नै नेपालको नयाँ अध्याय बन्न सक्छ । अत: बालेन जनताको कर्तव्य पनि हुन् र अवसर पनि । त्यो अवसर, जसले नेपाली अस्तित्वलाई फेरि उज्यालोमा ल्याउन सक्छ । नेपाल देशलाई हेर्ने दृष्टिकोण फरक बनाउने प्रयासमा बालेन लागीपरेको छ । आम नेपाली जनताले उहाँको यात्रालाई शुभ बनाउन लाग्नु आजको आवश्यकता हो । सरकार मात्र जागरुक भएर पुग्दैन जनता पनि जागरुक एवम् सचेत हुनुपर्छ । देश नेपाल, नेताको रजगज गर्ने ठाउँ होइन । राजनीति कुनै व्यापार होइन भने सिद्धान्त दलाली गर्ने अनुमतिपत्र पनि होइन ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
संवाददाता:- प्रशान्त महासागर