आशंकाले मतको कदर हुनेछैन ।

मानिसको स्वाभिमान केवल शब्दमा होइन, जीवनको अवस्थाले पनि देखिन्छ। खाली पेटले ठूलो विचार बोकेर हिँड्न गाह्रो हुन्छ। त्यसैले आर्थिक रूपमा सम्पन्न हुनु केवल व्यक्तिगत चाहना मात्र होइन, एउटा सामाजिक अधिकार र जिम्मेवारी पनि हो। तर त्यो सम्पन्नता इमान्दार मेहनतबाट आउनुपर्छ, नकि भ्रष्टाचार, ठगी वा राज्यको सम्पत्ति लुटेर।

सम्पन्न हुनुमा कुनै गल्ती छैन, गल्ती त त्यो बाटोमा हुन्छ जसले अरूको हक खोस्छ। मेहनत गरेर उठेको मान्छेले आफ्नो सफलतामा गर्व गर्छ, तर त्यो गर्व अहंकार हुँदैन। किनभने उसले अभाव बुझेको हुन्छ, पीडा चिनेको हुन्छ ।

आजका शासकहरू आफ्नो सम्पत्ति देखाउँछन, त्यो राम्रो कुरा हो । पारदर्शिता लोकतन्त्रको सुन्दर पक्ष हो । तर त्यो सम्पत्ति जनताको पसिनाबाट त बनेको होइन भन्ने विश्वास कायम राख्नु अझ ठूलो जिम्मेवारी हो। केवल आफू सम्पन्न भएको घोषणा गरेर कर्तव्य पूरा हुँदैन। यदि राज्य चलाउनेहरूले गरिबको भान्सामा नून पुर्‍याउन सकेनन् भने त्यो सम्पन्नता अर्थहीन हुन्छ।

सरकारको काम केवल सडक, भवन वा पुल बनाउनु मात्र होइन। विकासको साँचो अर्थ त त्यो हो, जब जनताको जीवनस्तर माथि उठ्छ, जब भोकले कोही सुत्न पर्दैन, जब युवाले आफ्नो देशमै भविष्य देख्छ।

राज्यको सम्पत्ति विकासको नाममा लापरबाहीपूर्वक खर्च गर्नु पनि एउटा अपराध हो किनभने त्यो पैसा जनताको विश्वास हो, करको रूपमै तिरेको आशा हो । त्यसलाई सम्मान नगर्ने शासकले विकास होइन, विश्वासको हत्या गर्छ ।

हामीले अब सोच्नुपर्ने समय आएको छ कि सम्पन्न शासक हुनु राम्रो हो, तर त्यो सम्पन्नतामा लालच मिसिएको हुनु हुँदैन । साँचो सम्पन्नता त्यो हो, जसले अरूलाई पनि उठाउँछ किनभने जसको मन भरिएको हुन्छ, उसले अरूको भाग खोस्ने सोच राख्दैन ।

अन्तमा, स्वाभिमान त्यहीँ बस्छ जहाँ इमान हुन्छ । र देश त्यहीँ अगाडि बढ्छ जहाँ विकासले केवल सहर होइन, मान्छेको जीवन उज्यालो बनाउँछ । र अहिलेको परिवेशको सरकार सहर मात्र होइन व्यक्ति अधिकारको पनि रक्षा गर्नेछ भने जनताको कर बालुवामा खन्याउने पानी मात्र सिद्ध हुन दिनेछैन भन्ने म विश्वस्त छु । भ्रष्टाचार गर्न "अबकी बार, बालेन सरकार" चाहिँ बनेको होइन । र हामीले आफ्नो सरकार र देशप्रति विश्वास गुमाउनु हुन्न । बालेन सरकार कुनै जात, धर्म आवद्ध सरकार होइन भन्ने जति चाँडो बुझ्न सिकियो त्यति नै अभिमतको कदर हुनेछ । 

प्रतिक्रिया