संघीय सांसद एकनाथ ढकालद्वारा प्रजातान्त्रिक गणतन्त्र इस्ट टिमोरका प्रधानमन्त्री क्षानना गुस्माओसँग शिष्टाचार भेट


तस्वीर: सचिवालय, सांसद एकनाथ ढकाल/ आमा दर्शन न्यूज 

प्रतिनिधि सभाका सदस्य एकनाथ ढकालले मित्र राष्ट्र प्रजातान्त्रिक गणतन्त्र इस्ट टिमोरका प्रधानमन्त्री क्षानना गुस्माओसँग शिष्टाचार भेट गरेका छन्। इस्ट टिमोरको प्रधानमन्त्री कार्यालयमा भएको यस भेटमा द्विपक्षीय हित र मित्रता अभिवृद्धि गर्ने विषयमा छलफल भएको सांसद ढकालको सचिवालयले जनाएको छ।

सांसद ढकालले नेपालको प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट प्रधानमन्त्री गुस्माओलाई शुभकामना दिँदै उपयुक्त समयमा नेपालको मैत्रीपूर्ण भ्रमणका लागि आग्रह गरेका थिए। जवाफमा, प्रधानमन्त्री गुस्माओले नेपालसँगको मैत्रीपूर्ण सम्बन्धलाई थप उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरे।

भेटका क्रममा आपसी सम्बन्ध तथा क्षेत्रीय स्तरमा शान्ति र सहकार्यको विस्तार गर्ने विषयमा पनि छलफल भयो। प्रधानमन्त्री गुस्माओले सांसद ढकाललाई विशेष अभिनन्दन गरेका थिए।

त्यसैगरी, सांसद ढकालले इस्ट टिमोरका पूर्व प्रधानमन्त्री मारी अल्कातिरी, निर्वाचन आयोगका अध्यक्ष डा. होसे ए दा कोस्टा बेलो पेरेइरा, तथा इस्ट टिमोरका कार्डिनल विर्गीलियो डो कार्मो दा सिलवालगायतका विशिष्ट व्यक्तित्वहरूसँग पनि शिष्टाचार भेट गरेका छन्।

पूर्व मन्त्रीसमेत रहेका सांसद ढकाल तीन दिने मैत्रीपूर्ण भ्रमणका क्रममा इस्ट टिमोरमा छन्। उनी प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति सदस्य हुन्। नेपाल र इस्ट टिमोरबीच सन् २०२२ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो।

प्रतिक्रिया