चितवन, – चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ता र प्रहरीबीच भएको झडपले स्थिति तनावपूर्ण बनेको छ। पार्टीका सभापति तथा पूर्व उपप्रधानमन्त्री रवि लामिछानेलाई रिहा गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालय अगाडि भएको प्रदर्शनका क्रममा स्थिति उग्र बनेको हो।
प्रहरीका अनुसार प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोडेपछि झडप सुरु भएको थियो। स्थिति नियन्त्रणमा लिन लाठी चार्ज, पानीको फोहरा, र अश्रुग्यास प्रयोग गरिएको छ। झडपका क्रममा ढुंगा प्रहारबाट २० भन्दा बढी प्रहरी घाइते भएका छन् भने १० जना प्रदर्शनकारी पनि घाइते भएको जनाइएको छ।
लामिछानेमाथि लगाइएको आरोप
रवि लामिछानेलाई सहकारी ठगी, संगठित अपराध, र सम्पत्ति शुद्धीकरण जस्ता गम्भीर आरोपहरूमा कार्तिक २ गते पक्राउ गरिएको थियो। हाल उनी प्रहरी हिरासतमा छन्। उनीमाथि कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारी, बुटवलको सुप्रिम सहकारी, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी, र चितवनको सहारा सहकारी जस्ता ठगी घटनामा संलग्न रहेको आरोप छ।
चितवनमा लामिछानेको बयान लिन लैजाँदा त्यहाँ समर्थकहरू जम्मा भएर प्रदर्शनमा उत्रिएका थिए।
चितवनका प्रहरी प्रमुखका अनुसार प्रदर्शनकारीहरूले संयमता उल्लङ्घन गर्दै प्रहरीमाथि ढुंगा प्रहार गरेपछि बल प्रयोग गरिएको हो। “स्थिति नियन्त्रणमा आइसकेको छ तर तनावपूर्ण अवस्था कायमै छ,” उनले बताए।
प्रदर्शनमा सहभागी रास्वपा समर्थकहरूले रवि लामिछानेलाई तत्काल रिहा गर्नुपर्ने माग गरेका छन्। उनीहरूले लगाइएको आरोपलाई राजनीतिक पूर्वाग्रहले प्रेरित भएको भन्दै निष्पक्ष छानबिनको माग पनि राखेका छन्।
चितवनको अवस्था शान्त बनाउन स्थानीय प्रशासन र सुरक्षा निकायले विशेष सतर्कता अपनाएको छ।