काठमाडौं-शुक्रबारदेखि सोमबारसम्मको अविरल वर्षाका कारण आएको बाढी र पहिरोका कारण विभिन्न १९ ठाउँका सडक पूर्णरूपमा अवरुद्ध भएका छन् ।
सडक विभागको रिपोर्ट अनुसार संखुवासभा, लमजुङ, गुल्मी, स्याङ्जा, सिन्धुपाल्चोक, कालिकोट, सिन्धुली, धनकुटा, बागलुङ, डोटी, दाङको विभिन्न सडक खण्ड पूर्णरूपमा अवरुद्ध भएका हुन् । यस्तै, ११० ठाउँका सडक एकतर्फीरूपमा सञ्चालनमा छन् ।
सडक विभागका अनुसार यो वर्ष मनसुन सुरु भएदेखि अहिलेसम्म सडक क्षेत्रमा ९८ करोडभन्दा बढीको क्षति भएको छ । बाढीपहिरो र डुबानले सडक अवरुद्ध हुँदा कतिपय ठाउँमा यात्रु बाटोमै अलपत्र परिरहेका छन् ।
यो वर्षको मनसुन सुरु भए यता बाढी, पहिरोलगायत विपदमा ७४ जनाको मृत्यु भएको छ । यो अवधिमा गण्डकी प्रदेशमा २२ जना, कोशी र लुम्बिनी प्रदेशमा १८/१८ जना, बागमती, सुदूरपश्चिम र कर्णाली प्रदेशमा चार/चारजना र मधेश प्रदेशमा तीन जनाको मृत्यु भएको छ ।
विपदमा पाँचजना बेपत्ता भएका छन् । यस्तै, ८८ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपदमा परेर अहिलेसम्म २ हजार दुई सय ९६ परिवार विस्थापित भएका छन् ।