काठमाडौं, वैशाख — नेपाल राष्ट्र बैंककी कार्यवाहक गभर्नर निलम ढुङ्गानाले नेपालको हालको आर्थिक अवस्थालाई मजबुत बनाउन उत्पादन र उत्पादकत्व अभिवृद्धिलाई प्रमुख प्राथमिकताका रूपमा लिनुपर्ने धारणा व्यक्त गरेकी छन्।
नेपाल बीमा प्राधिकरणको ५७औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै गभर्नर ढुङ्गानाले बैंकिङ र बीमा क्षेत्रबीच सहकार्य गर्दै उत्पादनशील क्षेत्रमा लगानी विस्तार गर्नुपर्ने आवश्यकता औंल्याइन्। उनले वर्तमान परिवेशमा लगानीकर्ताको मनोबल बढाउन र आर्थिक क्रियाकलापलाई तीव्र बनाउन वित्तीय सुरक्षाको सुनिश्चितता अपरिहार्य भएको उल्लेख गरिन्।
“लगानी र उद्यमशीलताको वातावरणलाई सुरक्षित बनाएर मात्र दीगो आर्थिक विकास सम्भव हुन्छ,” उनले भनिन्, “र त्यसका लागि बीमा क्षेत्रको योगदान निर्णायक हुनेछ।”
प्रविधिको प्रयोग अपरिहार्य
गभर्नर ढुङ्गानाले बीमा क्षेत्रमा प्रविधिको प्रभावकारी प्रयोग आवश्यक रहेको उल्लेख गर्दै, डिजिटल प्लेटफर्म, मोबाइल एप, र आर्टिफिसियल इन्टेलिजेन्स (AI) को उपयोगले बीमा दाबी प्रक्रिया, प्रिमियम संकलन, ग्राहक सेवा र जोखिम मूल्यांकन जस्ता कामहरूमा दक्षता र पारदर्शिता आउने विश्वास व्यक्त गरिन्।
उनले भनिन्, “बीमा क्षेत्रले प्रविधिलाई आत्मसात् गरेर मात्र प्रतिस्पर्धी र जनमैत्री सेवा प्रवाह गर्न सक्छ। यसले ग्राहकको विश्वास जित्नका साथै आर्थिक प्रणालीमा स्थायित्व ल्याउन मद्दत गर्नेछ।”
कार्यक्रममा बीमा प्राधिकरणका पदाधिकारी, बीमा कम्पनीका प्रतिनिधि तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सन्चारकर्मी सुर्य राय