कोरला नाकाबाट १२२९ जना चीन प्रवेश गर्दा १ लाख ८१ हजार राजश्व उठ्यो

जोमसोम—मुस्ताङको उत्तरी कोरलानाका हुँदै चीनको स्वशासित क्षेत्र लिजी प्रवेश गर्नेको संख्या १५ दिनको फेरोमा १२२९ जना पुगेको छ ।कार्तिक २७ गतेदेखि उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाबासीलाई मात्र खुल्ला गरिएको (न्हेछुङ—लिजी)कोरलानाकाबाट आईतबार सम्ममा उक्त संख्याले चीनको तिब्बती भूमी लिजी प्रवेश गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी प्रमुख डिएसपी भोजराज पाण्डेका अनुसार गएको १५ दिनको अवधिमा कुल ९२१ जना पुरुष र ३०८ महिलाले चीनको तिब्बती बजार लिजीमा मालसामान किनमेल गर्न गएको बताए । नेपाल—चीन कोरलानाका प्रस्थानका लागि कुल ९८० जनाले प्रवेश अनुमती लिएका थिए । जसमा प्रशासनको अनुमती थप केहीले सीमानाका प्रस्थान अनुमतीपत्र लिएका थिए । योनाका तत्कालका लागि चीनले उपल्लो मुस्ताङका सीमाक्षेत्रसंग जोडिएका दुई गाउँपालिकाका लागि मात्र खुल्ला गरिएको हो ।

नेपाल—चीन कोरलानाका खुल्ला भएसंगै मंसिर ४ गते न्हेछुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले राजश्व संकलनकार्यलाई अघि बढाएको भन्सारमा कार्यरत नायव सुब्बा हुमबहादुर बिष्टले जानकारी दिए । उनका अनुसार चीनको स्वशासित क्षेत्र तिब्बतको लिजीबाट ल्याईएका मालसामानबाट ७ दिनको फेरोमा १ लाख ८१ हजार ८ सय रुपैयाँ राजश्व संकलन भएको हो ।तत्कालका लागि चीनबाट ल्याइएका मालसामानको प्रकृति हेरी राजश्व संकलन गर्ने गरेको नायव सुब्बा बिष्टको भनाई छ । तत्काल खुलेको नाका ब्यापारिक प्रयोजनमा नभई उपल्लो मुस्ताङी जनताको आधारभुत आवश्यकताका लागि चाहिने मालसमान किनमेल गर्ने उद्देश्य भएकाले उल्लेख्य भन्सार राजश्व नउठ्ने बताईएको छ ।  हाल कोरलानाकाबाट घरेलु प्रयोजनका दैनिक उपभोग्य सामाग्री,लत्ता कपडा र आशिंक घरेलु फर्निचरलाई चाहिने सामान मात्र आयात भएको उनले बताए । कोरलानाकाबाट ब्यापारिक प्रयोजनमा स्थानीयहरुले मालसामानको आयात÷निर्यात गर्न सके मात्रै राजश्व संकलनमा प्रगती हुने उनले जनाए ।

यद्यपी नेपाल—चीन कोरलानाका ४ वर्ष पहिले उपल्लो मुस्ताङका दुई गाउँपालिकाका स्थानीय बासिन्दालाई अन्तरदेशीय अल्पकालिन ब्यापार लाग्ने गथ्र्यो । कोभिड माहामारी तथा सुरक्षा संंवेदनशीलताको कारण जनाउँदै चीनले नाका पूर्ण रुपमा बन्द गरेको थियो ।

चीनले एक पक्षिय रुपमा बन्द गरेको कोरलानाका संञ्चालन अवसर र चुनौती दुबै भएको मुस्ताङ भन्सार कार्यालयका प्रमुख डालेश्वर अर्यालले जानकारी दिए । गण्डकी प्रदेशकै लाईफ लाईनका रुपमा हेरिएको नेपाल—चीन कोरलानाकातर्फ ३ वटै तहका सरकारले विशेष पहलकदमी लिन आवश्यक रहेको भन्सार प्रमुख अर्यालको भनाई छ ।

कोरलानाका कुनै क्षेत्र,समुदायको हकमा निर्धारण नगरी समग्र रुपले नाका खुल्ला हुन सकेमा यसले गण्डकी प्रदेश,लुम्बिनी प्रदेश,कर्णाली प्रदेश र सुदुर पञ्चिम प्रदेशका अलावा उत्तर÷दक्षिण ब्यापारिक नाकाका रुपले विस्तार हुने उनले उल्लेख गरे । मुस्ताङ जिल्लाको प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ,कागबेनी र दामोदरकुण्ड जस्ता महत्वपूर्ण धार्मिक स्थल अवस्थित रहेको उल्लेख गर्दै भन्सार प्रमुख अर्यालले मुस्ताङ यात्रासंगै तिब्बतमा रहेको मानसरोवरसम्मको यात्रा कोरलानाकाबाटै सहज हुने भएकाले मुस्ताङलाई धार्मिक पर्यटनसंग समेत जोड्न सकिने भन्सार प्रमुख अर्यालले खुलाए ।

कोरलानाका दुई गाउँपालिकाका लागि खुल्ला गरिएपनि भन्सार कार्यालयका चाहिने उपयुक्त वातावरणमैत्री पूर्वाधार छैन । हिउँदयामको मौसममा अत्यधिक चिसो र हिमपातका कारण त्यहाँ कर्मचारी बस्न सक्ने अवस्था हुँदैन । सीमावर्ती क्षेत्रका बासिन्दाहरु चीन प्रवेश गरेर सामान किनमेल गर्न मौसम बाधक बनिदिन्छ भने आवतजावत समेत निकै कठिनाई हुने गर्छ । त्यसो त उपल्लो मुस्ताङीहरु चिसो छल्न  बेसी झर्ने पूख्यौली परम्पराले गर्दा पनि चीन प्रस्थान गर्नेको सख्या नगण्य हुने गर्छ ।

उपल्लो मुस्ताङ क्षेत्र विगतका घटनाहरुलाई आकलन गर्ने हो भने भू—राजनीतिक हिसाबले निकै संवेदनशील क्षेत्रको रुपमा अथ्र्याउने गरिन्छ । चीनमा भएको सांस्कृतिक बिद्रोहपछि तिब्बतीयन खम्पाहरु नेपाल प्रवेश गरेर चीन विरोधी गतिविधि गर्ने गरिन्थ्यो । यही नाका हुँदै तिब्बतीय भिक्षु कर्मापा लामा भागेर भारत पसेपछि चीनले सीमाक्षेत्रमा कडा सुरक्षा निगरानी गर्न सुरु गरेको थियो । खम्पाकालको १३ वर्षसम्म कोरलानाकाबाट मानतस्करीका घटनाहरु हुने गरेको बताईन्छ । यसैले पनि सीमाक्षेत्रमा अवान्छित गतिविधि हुन नदिन सबै सचेत भएर लाग्नुपर्ने भन्सार प्रमुख अर्यालले सुझाए ।

चीनले कोरलानाका संञ्चालन गर्न उच्च प्राथमिकता दिएको पाईन्छ ।चीनले आफ्नो भूमीमा भन्सार,सुख्खाबन्दरगाह ,ईमिग्रेसन र सुरक्षा पोष्ट लगायतका दर्जनौ भौतिक संरचना निर्माण गरिसक्दा नेपालतर्फ कुनै पूर्वाधार भएको छैन । तर, नेपाल पक्षले नेपाल—चीन कोरलानाकालाई उत्तर÷दक्षिण ब्यापारिक हबको रुपमा संञ्चालन गर्ने दिर्घकालिन उद्देश्यले कोरलानाकाको दशगजा क्षेत्रमा भन्सार लगायतका भौतिक संरचना निर्माण गर्न १ हजार रोपनी जग्गा भन्सारका नाममा प्राप्ति भईसकेको भन्सार प्रमुख अर्यालले जानकारी दिए । उनका अनुसार जग्गा प्राप्तिसंगै नाका क्षेत्रमा भन्सार,सुख्खा बन्दरगाह,अध्यागमन , सुरक्षापोष्ट र क्वारेन्टाईन भवन बनाउन डिपिआरको काम भईरहेको छ ।

त्यसो त कोरलानाकाको लागि थप भन्सार पूर्वाधार निर्माण गर्न आवश्यकता देखिएमा न्हेछुङमा १०९ रोपनी र मुस्ताङ सदरमुकाम जोमसोममा ७ रोपनी जग्गा भन्सारको नाममा छ । कोरलानाकालाई दिर्घकालिन रुपले प्रभावकारी ढंगले संञ्चालन गर्न पूर्वाधार र जनशक्ति व्यवस्थापनमा सरकारले चाँसो दिनुपर्ने हुन्छ ।

समाचार कपि राईट गर्न सख्त मनाही छ ।

प्रतिक्रिया