मुस्ताङको घरपझोङमा अभिभावक आन्दोलित,बुझाए ज्ञापन पत्र

जोमसोम—सरकारले देशभरकै ७७ वटै शिक्षा विकास तथा समन्वय ईकाईलाई चालु वर्ष २०८० को विद्यालय तहको शैक्षिक सत्र बैशाख १ गते प्रारम्भ गरी चैत्र मशान्तमा कायम हुँने गरी तोकिएको परिपत्र हिमाली जिल्ला मुस्ताङका लागि अनउपयुक्त र अव्यवहारिक भएको भन्दै मुस्ताङको घरपझोङ गाउँपालिका अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यायलका अभिभावकहरु आन्दोलित भएका छन् ।



 हिमाल ,पहाड र तराईका जिल्लाहरुलाई सरकारले  एउँटै मापदण्डमा राखेर शैक्षिक सत्र निर्धारण गरिनु  मुस्ताङ लगायतका हिमाली जिल्लाहरुमा पढ्ने समग्र बालवालिकाहरुको शैक्षिक हितमा नभएको ठहर गर्दै घरपझोङ गाउँपालिकाका करिव ९ वटा सामुदायिक तथा संस्थागत विद्यालयका अभिभावकहरुले आईतबारदेखि त्यसको विरोधमा उत्रिएका हुन्  ।गाउँपालिका अन्तर्गतका सबै विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको अभिभावकले भौगोलिक विकटता,हिमपात र चिसो कारण हिमाली जिल्लाहरुमा विद्यालय पुरै बन्द हुने त्यसले यहाँका विद्यार्थीहरुको शैक्षिक सिकाई उपलब्धीलाई प्रभावित पार्ने उल्लेख गर्दै झन्डै १५० भन्दा बढी अभिभावकहरुको समुह घरपझोङ गाउँपालिका कार्यालय जोमसोममा दबाव सृजना गर्न डेलिगेशनका लागि पुगेको थियो ।



 घरपझोङका अभिभावकहरुले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बेदहरी अधिकारी र उपाध्यक्ष जमुना थकालीलाई ४ पेज लामो ज्ञापन—पत्र बुझाए । ज्ञापनपत्र अभिभावक विकास विक र रिक्साङ गुरुङले संयुक्त रुपमा प्रमुख प्रशासकीय अधिकृत र उपाध्यक्षलाई बुझाएका हुन् ।

ज्ञापन पत्र वाचन गर्दै अभिभावक विकास विकले सरकारले जारी गरेको शैक्षिक सत्रको परिपत्रका बिषयमा गाउँपालिका पूर्ण रुपमा अनुदार रहेको बताए । केन्द्रले गरेको निर्णयप्रति स्थानीय स्तरमा सरोकारवाला कार्यालयले घनिभुत छलफल र निचोडमा नपुगी गाउँपालिकाले मौन रुपमा शैक्षिक सत्र परिवर्तनका बिषयमा मौन समर्थन गरिएको ज्ञापन पत्रमा उल्लेख गरेका छन् । विज्ञप्तिमा शैक्षिक सत्र परिवर्तन जस्तो गहन बिषयमा छलफल गरी निचोेडमा पुग्नु पर्नेमा पालिका  शिक्षा शाखाले खासै प्रभावकारी भूमिका खेल्न नसकेको अभिभावकहरु भनाई छ ।


 घरपझोङ गाउँपालिकाका अभिभावकहरु स्थानीय तह संञ्चालन ऐन २०७४ को कार्यविधिमा रहेर केन्द्रको निर्णयलाई उल्टाएर जनताको भावना अनुसार निर्णय गर्न सक्ने अधिकार प्राप्त हुँदा हुँदै सो अनुसार गर्न नसकेकोप्रति अभिभावकहरुले ज्ञापन पत्र मार्फत आक्रोस व्यक्त गरे ।

यसअघि मुस्ताङसहितका हिमाली जिल्लाहरुमा फागुनमा नयाँ शैक्षिक प्रारम्भ गरी मंसिरमा अन्त्य गर्ने गरिएको थियो । यसले विद्यार्थीहरुको शैक्षिक सिकाई उपलब्धीमा कुनै असर नगर्ने भएपनि परिवर्तन गर्न खोजिएको शैक्षिक सत्रले विद्यार्थी परीक्षा र शिकाई उपलब्धी पूर्ण रुपमा प्रभावित हुने अभिभावकहरुको भनाई थियो । उनीहरुले गाउँपालिका, शिक्षा शाखा र शिक्षा विकास तथा समन्वय ईकाई लगायतले साविक अनुसारकै शैक्षिक सत्र कायम गर्न कुनै भूमिका निभाउँन नसकेको अभिभावन विकास विकले उल्लेख गरे ।

गाउँपालिकाले पालिका अन्तर्गत विद्यालयलाई  शैक्षिक एकरुपता कायम गर्न गरिएको परिपत्र कार्यान्वयन गर्ने हो भने घुम्ती कक्षा संञ्चालन गर्नु पर्ने अभिभावकहरुको माग रहेको बताए । अर्की अभिभावक रिक्साङ गुरुङले साविक अनुसारको शैक्षिक सत्र कायम गर्नका लागि स्थानीय सरकारलाई ज्ञापन पत्र पेश गरिएको जानकारी दिईन् । 


यता ,घरपझोङ गाउँपालिकाले अभिभावकहरुको माग जायज भएकाले साविक अनुसारकै शैक्षिक सत्र कायम गर्ने विषयमा तत्काल कार्यपालिका बैठक बसेर निर्णय लिने जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत वेदहरी अधिकारीले भौगोलिक विकटता र प्रतिकुल मौसमका कारण पुस र माघमा बिदा हुँने भएकाले विद्यार्थीको पठन÷पाठनमा समस्या पर्ने भएकाले तत्कालै बैठक बसेर निर्णयमा पुग्ने प्रतिवद्धता जनाए । यसैगरी पालिका उपाध्यक्ष जमुना थकालीले परिवर्तित शैक्षिक सत्रका विषयमा पालिका र सरोकारवाला निकायले आवाज उठाएको बताईन् । उनले अभिभावकको माग जायज भएकाले साविक अनुसारकै शैक्षिक सत्र कार्यान्वयन गर्नतर्फ पहल गर्ने जनाईन् ।

 शैक्षिक सत्रको विषयलाई लिएर घरपझोङ गाउँपालिका अन्तर्गतका अभिभावकहरुले शिक्षा विकास तथा समन्वय ईकाई र जिल्ला प्रशासन कार्यालय मुस्ताङमा समेत ज्ञापन पत्र बुझाएको अभिभावक मिङ्गुर गुरुङले जानकारी दिए । उनले सबै सरोकारवाला निकायलाई ज्ञापन पत्र बुझाईएको र माग सम्वोधन नभएको कडा आन्दोलन गर्ने चेतावनी दिए ।


प्रतिक्रिया