दशै बिदामा युवा पुस्ताको क्रेज मुस्ताङ, पर्यटकले भरिभराउ :भिडियोसहित

जोमसोम—आन्तरिक तथा बाह्र पर्यटकको आर्कषक पर्यटकीय गन्तब्य बन्दै गईरहेको हिमाली जिल्ला मुस्ताङ ऐतिहाँसिक,धार्मिक,सांस्कृतिक,सामाजिक,भौलिक रहनसहनका साथै जैविक विविधताले निकै प्रख्यात छ । समून्द्री सतहको २५ सय देखि ५ हजार मिटरको अग्लो उचाईमा अवस्थित हिमालपारिको जिल्ला मुस्ताङको  पृथक भूगोल,मनोरम हिमऋखंला र कालिकागण्डकी नदी को लोभलाग्दो दृष्यावलोकनले मुस्ताङ घुम्ने जोकोही पर्यटक मख्ख नहुने त कुरै भएन ।

 धार्मिक स्थल मुक्तिनाथ मन्दिर,कोरलानाका,श्राद्धस्थल कागबेनी, छोसेर गुफा,लोमान्थाङ दरबार,लोघेकर गुम्बा,लुरी गुम्बा,ढुम्बाताल,सेकुङ ताल र टिटी ताल जस्ता पर्यटकीय गन्तब्य मुस्ताङमै अवस्थित रहेकाले मुस्ताङ जिल्ला पर्यटकीय हबको रुपमा विकास हुँदै जान थालेको हो ।यहाँबाट देखिने निलगिरी र धौलागिरी हिमालको मनमोहक प्राकृतिक सौन्दर्यता नियालेर मुस्ताङ आईपुगेका पर्यटक  मन्त्रमुग्ध हुन्छन् ।

  देश आर्थिक मन्दीको अवस्थामा देखिएपनि मुस्ताङ भ्रमण गर्ने पर्यटकको सख्यामा कुनै कमी आएको छैन । यसवर्षको बडा दशैं अघिको सोह्र श्राद्धमा आन्तरिक भक्तजनहरु मुस्ताङ आएको भएपनि दशै पर्वको नवरात्र सुरु भएपछि पर्यटकको चाँप ह्वात्तै घटेको थियो ।

 तर दशै पर्वपछि स्वदेशी युवायुवतीहरु मुस्ताङ आउन थालेको छ । अमेरिन समाचार संस्था सिएनएनले सन् २०२३ मा घुम्ने पर्ने सूचिमा राखेपछि युवापुस्ताहरुको रोजाई मुस्ताङ बनेको हो । अहिले पर्यटकको आगमनले मुस्ताङ गुल्जार बनेको छ,होटलहरु खचाखच भरिएका छन् । सरकारी तथा गैरसरकारी कार्यालय,बैंक तथा वित्तिय संस्था,स्कुल कलेजहरु दशै—तिहार पर्वमा लामो बिदा हुँने भएकाले मुस्ताङमा पर्यटकले थेगिनसक्नु भएको हो । दशैं पर्वमा आफन्त, ईष्टमित्र,साथीभाई रमाईलो गर्ने,दशै टिका लगाउने, स्वादिष्ट खानेकुरा बनाएर खाने  अनि नयाँ नयाँ ठाउहरुको भ्रमण गर्ने आदी गरिन्छ । पछिल्लो समय स्वदेशी पर्यटकहरु फुर्सदिलो समयमा नेपालका पर्यटकीय गन्तब्य घुम्न रुचाउँछन् । यसैको कारण पनि मुस्ताङमा पर्यटकको संख्या बढेको बताईएको छ ।

 दशै पर्वमा केही सुस्ताएको मुस्ताङको पर्यटन पून चलायमान भईरहेको झारकोट स्वास्थ्य चौकीका ईञ्चार्ज सुवास अधिकारीले जानकारी दिए । दशै बिदाको मेलो पारेर घुम्न आएका पर्यटक सवारी सवारी साधनले रानीपौवा बसपार्क भरिभराउ भएको उनले बताए । लगातार ३ वर्षसम्म कोभिड माहामारीले आक्रान्त बनेका मुस्ताङका पर्यटन व्यवसायीहरु अकल्पनीय रुपमा पर्यटकको घुईचो बढेपछि निकै उत्साहित बनेको स्वास्थ्य चौकीका ईञ्चार्ज अधिकारीको भनाई छ । उनले मुस्ताङमा जाडो बढिसकेको र पर्वतीय उचाईमा आउने पर्यटकले आवश्यक स्वास्थ्य सावधानी अपनाउन समेत अनुरोध गरे ।


अहिले दशै बिदामा मुस्ताङ भ्रमण गर्न आएका पर्यटकले यहाँका होटल तथा रेष्टुरेन्टहरु भरिभराउ भएका छन् । मुस्ताङको घाँसा देखि कोरलानाकासम्मका होटलहरु पर्यटकले थेग्नै नसकिने गरी हाउसफुल भएका छन् । दशैं —तिहार पर्वको बेला मुस्ताङ भ्रमण गर्ने अनुकुल मौसम पनि हो ।  पर्यटक बढेपछि पर्यटनकर्मीलाई पाहुना उम्काउन भ्याई÷नभ्याई छ भने सडक पेटी तथा यहाँका कोशेली घरहरुमा मुस्ताङमा उत्पादित कृषि उत्पादनले पनि राम्रो बजार पाउँन थालेको छ । यहाँको स्याउ,ब्रान्डी,वाईन,जुस र ड्राई एप्पल खरिद गरेर पर्यटकले कोशेलीको रुपमा घरमा लैजाने गर्छन ।

नेपालको भौगोलिक सुन्दरता र पृथक भूगोलको रुपमा परिचित मुस्ताङको वास्तविक तस्विरसंग प्रत्यक्ष साक्षात्कारकार गर्न आफुहरु दशै बिदाको समयमा मुस्ताङ भ्रमण गर्न आएको काठमान्डौं निवासी अस्मिता प्रधानले जानकारी दिईन । उनले आफु विभिन्न देशहरुमा भ्रमण गरिसकेको भएपनि नेपालको जस्तो प्राकृतिक चिनारी अन्त कही नभएको दावी गरिन । आफ्नो परिवार र आफन्तजनसंगै पहिलो पटक मुस्ताङ आएकी प्रधानले आफुहरु ६ दिनको प्याकेज बनाएर आएको बताईन् । उनले मुस्ताङको सौन्दर्यता ज्यादै मनमोहक र सुन्दर रहेको उल्लेख गरिन् । 


उत्तर÷दक्षिण व्यापारिक मार्ग विस्तारित आयोजना अन्तर्गत २०७४ सालदेखि कोरला सडक आयोजना सुरुभएपछि मुस्ताङ पहुँचमार्ग सडक सहज बन्दै जान थालेको हो । राष्ट्रिय गौरवको ( बेनी—जोमसोम—कोरला) सडक निर्माणधिन अवस्थामा छ । सडक मार्ग बर्सेनि सुधार हुँदै जान थालेपछि मुस्ताङमा पर्यटक भित्रिने क्रम बढेको हो । मुस्ताङको घाँसा देखि मार्फासम्म कालोपत्रे सडक विस्तार भईसकेको र त्यहाँबाट कोरला सडक ग्राभेल सडक विस्तार भएकाले पनि पर्यटकका लागि मुस्ताङ यात्रा निकै  सजिलो बनेको हो ।


हुम्ला घर भई काठमान्डौं बसोबास गर्दैआईरहेका स्वदेशी पर्यटक हिमाल महतराले आफुहरु काठमान्डौंबाट मोटरसाईकलको यात्रा गर्दै मुस्ताङ आईपुगेको बताए । दशै पर्वको बिदाको समयमा कहाँ घुम्ने भन्ने विषयमा छलफल भएको र मुस्ताङ जिल्लाको चर्चा मिडियाहरुमा थाहा पाएकाले मुस्ताङ भ्रमण गर्ने योजना तय भएको सुनाए । चारैतीर नाङ्गा डाँडाकाँढा र हिमाल अनि कालिगण्डकी नदीको बखान जति गरेपनि नसकिने उनले अनुभुति बताए । पहिलो पटक साथीहरुसंगै आएका महतरा मुक्तिनाथ दर्शन गरी कोरलानाकासम्म पुग्ने कार्यतालिका रहेको जनाए । मुस्ताङ जिल्ला अन्य जिल्ला भन्दा पर्यटकीय हिसाबले विशिष्ट रहेको महतराको भनाई छ ।


 धार्मिक हिसाबले प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ धाम नेपालमा मात्र होईन अन्तराष्ट्रिय स्तरमै चर्चित त छदै छ, त्यस माथि उत्तरी कोरलानाका पनि आन्तरिक पर्यटकको प्रमुख पर्यटकीय गन्तब्य बनेको छ । विेशेषत भारतीय नाकाबन्दीपछि निकै चर्चामा रहेको यो नाकालाई सरकारले उच्चप्राथमिकतामा राखेपछि कोरलानाकाको चर्चा झनै चुलिएको हो । विशेषत मुस्ताङ घुम्न आएका अधिकाँश आन्तरिक पर्यटकहरु  कोरलानाका पुगेर फर्किने गरेको पाईएको छ ।  मुस्ताङमा आउने पर्यटकहरु मध्ये दशै—तिहार बिदामा विशेष गरी युवायवतीहरुको संख्या  अधिक रहेको बताईएको छ ।

यसवर्षको दशै टिकापछि पर्यटकहरु मुस्ताङ आउने क्रम बढेको घाँसा प्रहरी चौकीले बताएको छ । चौकीका ईञ्चार्ज प्रहरी सहायक निरीक्षक प्रताप मल्लले दशैं टिकापछि दैनिक १२ सय भन्दा बढी सवारी साधन मुस्ताङ प्रवेश भईरहेको बताए । उनले मुस्ताङमा मोटरसाईकलको यात्रा गर्दै मुस्ताङ आउने पर्यटकको संख्या बढी रहेको जानकारी दिए ।

यसैगरी दशैं बिदापछि दैनिक ७ हजार बढी धार्मिक पर्यटकले मुक्तिनाथ दर्शन गर्ने गरेको मुक्तिनाथ विकास समितिका कर्मचारी रविन सुवेदीले बताए । दशै बिदामा मुक्तिनाथ दर्शन गर्न आएका अधिकाँश पर्यटक उपल्लो मुस्ताङ जाने गरेको उनले उल्लेख गरे ।

तस्विरः सुवास अधिकारी (झारकोट,मुस्ताङ)



प्रतिक्रिया