कालकुट (हलाहल) विष र महादेव
कालकुट (हलाहल) विषै किन नहोस्, सृष्टिको लागि पिएकै कारण महादेव साँच्चिकै महादेव बनेको हो । सृष्टि नष्ट गर्नसक्ने विषलाई कण्ठमा धारण गरेकै कारण देवादीदेव सिद्ध भएको हो । हिन्दू पुराणहरूमा वर्णित समुद्र मथनको कथा यसको ज्वलन्त प्रमाण हो । जहाँ सम्पूर्ण ब्रह्माण्डलाई नष्ट गर्न सक्ने घातक विषलाई पिउँदै भगवान शिवले आफूलाई सृष्टिको रक्षक प्रमाणित गर्नुभयो । यो कथा केवल पौराणिक घटना होइन, यो त त्याग, करुणा र महानताको जीवन्त उदाहरण हो ।
समुद्र मथनको पृष्ठभूमि
प्राचीन कालमा देवता र दानवहरूबीच अमृत प्राप्तिका लागि समुद्र मथन गर्ने निर्णय भयो । भगवान विष्णुको कछुवा अवतारको सहयोगमा मन्दराचल पर्वतलाई मथनी र वासुकी नागलाई रज्जु बनाएर देव-असुरले समुद्र मथे । यसबाट १४ रत्नहरू उत्पन्न भए — लक्ष्मी, चन्द्रमा, ऐरावत हात्ती, उच्छैश्रवा घोडा, कल्पवृक्ष आदि । तर यी रत्नहरूभन्दा पहिले एक भयानक कालकुट वा हलाहल विष निस्कियो ।
यो विष यति घातक थियो कि यसको ज्वालाले सम्पूर्ण लोकलाई भस्म पार्न थाल्यो । वैकुण्ठ काँप्यो, ब्रह्मलोक डगमगायो । देवता, दानव, यमराज लगायत सबै त्राही-त्राही भए । कसैले पनि यो विष नियन्त्रण गर्न सकेनन् ।
त्यतिबेला सबैले भगवान शिवतर्फ आँखा लगाए । किनकि उनी नै एक मात्र देवता थिए जसमा यो घातक विषलाई धारण गर्ने शक्ति थियो । महादेवले शान्त भावमा सम्पूर्ण विष आफ्नो अञ्जुलीमा उठाएर पिउनुभयो । “सृष्टिको रक्षाका लागि म तयार छु” यो भावले उहाँले विष पिउनुभयो । तर विषको तीव्रता यति बढी थियो कि यदि यो पेटमा गएको भए सृष्टि नै नष्ट हुन्थ्यो ।
त्यसै बेला माता पार्वतीले तुरुन्त महादेवको कण्ठ थाम्नुभयो । विष कण्ठमै रोकियो र उहाँको गला नीलो भयो । त्यसै कारण उहाँ नीलकण्ठ नामले प्रसिद्ध हुनुभयो । यो घटनाले प्रमाणित गर्छ कि विष पिएर पनि उहाँले सृष्टिलाई बचाउनुभयो, कण्ठमा धारण गरेर उहाँ देवताहरूका पनि देवता बन्नुभयो । र हामी मानव समाजलाई एउटा सन्देश दिनुभयो कि जानिएको खण्ड जस्तोसुकै विषलाई स्थान स्वरुप समायोजन गर्न सकिन्छ । त्यसको करुणा र त्याग एवम् धैर्यता चाहिन्छ । हाम्रो जीवनमा हामीले यस्ता कुरा बिर्सिएर भाग्ने दौडमा लागेका छौं जसले समाज र राष्ट्रलाई गति दिन छोडेको छ । सधैं देखासिकीलाई परिवर्तन मान्ने हाम्रो अवगुण जसले विद्रोह भन्दै पात्र फेर्ने यथार्थताले अवस्थालाई व्यवस्थित ठाउँ वा रुपान्तरित कुरा गर्नै सकेनौं । विषलाई औषधि बनाउन सक्ने कुरालाई बिर्सिदै औषधि विषबाट बनेको हुन्छ भन्ने चेतना गुमाएर सचेतनाको वकालत लागेका छौं जसले कहिल्यै मानवीय सिद्धान्तलाई जिवन्त पार्न सकेनन् । यो हाम्रो कमि पुन: हामी अरुमा खोज्दैछौं जबकी हामी स्वयमले ती त्यस्ता विषलाई व्यवस्थापन र चाहिएको अवस्था पुन: औषधि स्वरुप प्रयोग गर्न सक्छौं । तर हाम्रो विचार खर्च त्यतातिरको भन्दा नि मौहल त्याग्ने दूषित वातावरण रम्ने विचार नै मुख्य बन्दै गएको अहिले तिक्तता हुन् । यसबाट मुक्ति खोज्नुपर्छ ।
सच्चा महानता भनेको आफ्नो लागि होइन, सृष्टिको लागि केही गर्न तयार हुनु हो । आजको संसारमा जब संकट आउँछ, महादेवको यो उदाहरणले हामीलाई प्रेरणा दिन्छ कि आफ्नो स्वार्थ त्यागेर अरूको रक्षा गर्नु नै सच्चा देवत्व हो ।
अन्तमा, श्रीबृद्धी समृद्धिको लागि सदा नयाँ नयाँ कालकुट विष चाहिन्छ र त्यो पिउनु नै पर्छ भन्ने होइन त्यसलाई स्थान दिनु र व्यवस्थापन गर्नु सच्चा मानव धर्म हो जसको कर्म सबै निलकण्ठ बन्न सकिन्छ्न । हर हर महादेव ! यो कथा केवल धार्मिक होइन, जीवनको दर्शन हो । सृष्टिको लागि जे पनि गर्न तयार हुने महान व्यक्तित्व नै यथार्थमा महादेव हुन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
संवाददाता:- प्रशान्त महासागर