निर्माण कम्पनीलाई ७ दिनको अल्टिमेटम

जोमसोम—राष्ट्रिय गौरवको उत्तर÷दक्षिण जोड्ने कालिगण्डकी करिडोर ( बेनी—जोमसोम—कोरला) सडक आयोजना अन्तर्गत निर्माणधिन  अवस्थामा रहेका सडक तथा पुल निर्माणको कामलाई अलपत्र पार्ने निर्माण कम्पनीलाई आयोजनाले एक हप्ते अल्टिमेटम दिएको छ । आयोजनाले (बेनी—जोमसोम—कोरला) सडकखण्डमा निर्माणधिन दुई सडक र तीन वटा पुलको जिम्मा लिएका निर्माण कम्पनीलाई पुस ५ गते राष्ट्रिय पत्रीकामा सार्वजनिक सूचना प्रकाशित गरी चेतावनी स्वरुप एक हप्ते अल्टिमेटम दिएको हो ।

राष्ट्रिय गौरवको (बेनी—जोमसोम—कोरला) सडक  आयोजनाले बेनी—जोमसोम ७६ किमी सडक अन्तर्गत एक सडक र एक पुलको जिम्मा लिएका निर्माण कम्पनीलाई एक हप्ते अल्टिमेटम दिएको हो । यस्तै, जोमसोम—कोरला ११० किमी सडक अन्तर्गत एक सडक र दुई पुलको जिम्मा लिएका निर्माण कम्पनीलाई पनि एक हप्ते अल्टिमेटम दिएको आयोजनाले जनाएको छ ।

सडक तथा पुल बनाउने जिम्मा लिएका निर्माण कम्पनीहरुले आयोजनासंग गरिएको ठेक्का सम्झौता अनुसार तोकिएको समयमा निर्माणकार्य सम्पन्न नगरेको,आयोजनाले समयमै काम सम्पन्न गर्न पटक÷पटक मौखिक निर्देशन तथा लिखित पत्र आग्रह गर्दा समेत लामो समयसम्म निर्माणकार्यमा चाँसो नदिएको र पछिल्लो पटक म्याद थप हुँदा गरिएको प्रतिवद्धता समेत कार्यान्वयन नभएको सूचनामा उल्लेख गरिएको छ । 

सडक तथा पुल निर्माणकार्यलाई वेवास्ता,ढिलासुस्ती र विलम्व गर्ने निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐन २०६३ तथा नियमावली २०६४ र सोही अनुरुप निर्माण व्यवसायीसंग भएको खरिद सम्झौताको शर्त बमोजिम खरिद सम्झौता अन्त्य किन नगर्ने? यदी खरिद सम्झौता अन्त्य गर्न नपर्ने कुनै मनासिव कारण भएमा एक हप्ताभित्र विश्वसनीय स्पष्टिकरण र समयमै काम सम्पन्न गर्ने कार्ययोजनासहित आयोजनाको कार्यालयमा उपस्थित हुन अन्तिम अल्टिमेटम दिईएको हो ।

आयोजनाले प्रकाशित गरिएको सूचना अन्तिम ताकेता भएको र खरिद सम्झौताका शर्तहरु,सार्वजनिक खरिद ऐन २०६३ को दफा ५९ तथा निमावली २०६४ अनुसार खरिद सम्झौता अन्त्य गरी कालो सूचिमा राख्ने लगायतका कानुनी प्रक्रिया अघि बढाईने चेतावनी निर्माण कम्पनीलाई दिईएको हो । आयोजना प्रमुख धुव्र झाले राष्ट्रिय गौरवको सडक तथा पुल निर्माणलाई लामो समयदेखि अलपत्र पार्ने निर्माण कम्पनीलाई एक हप्ते अल्टिमेटम दिएको जानकारी दिए । उनले खरिद सम्झौताको मर्म र भावना विपरित स्पष्ट कार्ययोजना र चित्त बुभ्दो जवाफ नआएको खण्डमा निर्माण कम्पनीको ठेक्का अन्त्य गरी कालो सूचीमा राख्ने प्रक्रिया अघि बढाउने बताए ।‘ निर्माणको काम अस्तव्यस्त छ,कामले गति लिनै सकेको छैन,आयोजना प्रमुख झाले भने,‘ अब यो अन्तिम चेतावनी हो,जालझेल र छलछामले काम चल्दैन,काम गर्ने सुनिश्चित हुनुप¥यो ।’

राष्ट्रिय गौरवको उत्तरी कोरलानाका जोड्ने सडक अन्तर्गत २०७३÷०७४ सालमा ठेक्का सम्झौता भएको बेनी—जोमसोम सडकको चौथो खण्ड र जोमसोम—कोरला सडकको छैटौ खण्ड ६ वर्ष पुरा हुँदा समेत निर्माण सम्पन्न हुन सकेको छैन । बेनी—जोमसोम ७६ किमी सडक अन्तर्गत चौथो खण्ड कोवाङ—जोमसोम १६ किमी सडक निर्माणको जिम्मा पप्पु गौरी पार्वती कोशी एण्ड न्यौपानेले ६२ करोड ४८ लाख लागतमा ठेक्का सम्झौता गरेको थियो ।सम्झौता अवघि साँढे २ वर्ष रहेको सडकको काम अहिले टुकुचे र मार्फामा कालोपत्रे र जोमसोम क्षेत्रमा आशिंक सडक स्तरोन्नति भएपनि मार्फा र जोमसोम क्षेत्रमा सडकको पुरै काम अलपत्र परेको छ । बेनी—जोमसोम सडकको तेश्रो खण्ड भने आयोजनालाई हस्तान्तरण भईसकेको छ ।

यसैगरी २०७३÷०७४ सालमा ठेक्का सम्झौता भएको जोमसोम—कोरला ११० किमी ग्राभेल सडकको कुल ७ खण्ड मध्ये ६ वटा सडकखण्डको काम ४ वर्षअघिनै आयोजनालाई हस्तान्तरण भईसकेको छ । तर, निर्माण कम्पनीको चरम ढिलासुस्ती र विलम्वले चराङ—छोसेर २५ किमी सडकको काम लामो समयदेखि अलपत्र परेको छ । तामाङ गौरी पार्वती कोशी एण्ड न्यौपाने जेभीले २४ करोडमा ठेक्का सम्झौता गरेको चराङ—छोसेर सडकको पछिल्लो भौतिक प्रगती ७० प्रतिशत छ । पछिल्लो समय जोईन पार्टनरको रुपमा रहेको गौरी पार्वतीले बेनी—जोमसोम चौथो खण्ड र जोमसोम—कोरला छैटो खण्डको काम गर्ने जिम्मा लिएको छ । तर,जिम्मा लिएको निर्माण कम्पनीले खासै काममा तदारुकता देखाउन सकेको छैन ।

कोरला सडक अन्तर्गत एउँटै निर्माण कम्पनी हिमढुङ एण्ड ठोक्कर ईमोटल जेभी कन्ट्रक्सनले दुई वटा ठेक्का मार्फत ३ वटा पुल बनाउने जिम्मा पाएकोमा अहिले ३ वटै पुल अलपत्र परेका छन् ।२०७५ साल पुस ६ गते ठेक्का सम्झौता भएको एक स्पानको ४० मिटर लम्बाईको घमी खोला पुल अलपत्र छ । यो पुल ६ करोड ८० लाख लागतमा आयोजनासंग सम्झौता भएको थियो । दुई वर्ष अगावै सकिनु पर्ने घमी खोला पुलको पछिल्लो भौतिक प्रगती ५० प्रतिशत मात्र छ । पुलका लागि आयोजनाले पटक÷पटक तोकता गरेपनि निर्माण कम्पनी हिमढुङ ठोक्कर ईमोटलले निर्माणको काममा वेवास्ता गर्दैआईरहेको छ ।

यसैगरी घमी खोला पुलको जिम्मा पाएको हिमढुङ एण्ड ठोक्कर र्ईमोटलले मुस्ताङको मार्फा स्थित (राज खोला)मा निर्माणधिन ३ स्पानको १२० मिटर लामो पक्की पुलको काम पनि लामो समयदेखि अलपत्र पार्दैआईरहेको छ भने जोमसोम—कोरला जोड्ने छुसाङ स्थित नरसिह खोलामा निर्माणधिन ३ स्पानको ९० मिटर लामो पक्की पुलको काम समेत अलपत्र पारेको हो । मार्फा खोला पुलको भौतिक प्रगती ५० प्रतिशत छ ।

 मार्फा र छुसाङ खोलामा निर्माणधिन दुई पुल एकसाथै ठेक्का २०७५ साल भदौ ६ गते आयोजनासंग सम्झौता भएको थियो । २०७७ साल चैत्र २० गतेसम्म सकिनु पर्ने पुल सम्झौताको ३ वर्ष बितिसक्दा समेत सम्पन्न हुन सकेको छैन । पुलको ३ स्पान मध्ये २ स्पानको मात्र काम भएको छ । छुसाङको नरसिंह खोलामा निर्माणधिन पुलको ३ वटै स्पानको काम भएपनि बाँकी काम अलपत्र परेको हो । मार्फा पुलको भौतिक प्रगती ४० प्रतिशत छ भने छुसाङ खोला पुलको पछिल्लो भौतिक प्रगती ९५ प्रतिशत छ । यी दुबै पुलको सम्झौता लागत २१ करोड रहेको छ ।




प्रतिक्रिया