धितोपत्र दोस्रो बजारमा करिब दुई दर्जन कम्पनीको सेयरभाउ अंकित मूल्यकै हाराहारीमा

काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा करिब दुई दर्जन कम्पनीको सेयरभाउ अंकित मूल्यकै हाराहारीमा पुगिसकेको छ । जसमा अधिकांश हाइड्रोपावर कम्पनी र वाणिज्य बैंकहरु छन् ।  

धितोपत्र दर्ता तथा निष्कासन नियमावली बमोजिम कुनै पनि संस्था वा कम्पनीले प्राथमिक सेयर (आईपीओ)निष्कासन गर्दा अंकित मूल्य १०० रुपैयाँ तोक्नुपर्ने व्यवस्था छ ।  

कम्पनीहरुले आईपीओ निष्कासन गर्दा सर्वसाधारण लगानीकर्ताहरुमा प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा सेयर बिक्री गरेका हुन्छन् । सर्वसाधारणले प्रतिकित्ता सय रुपैयाँ लगानी गरेका केही कम्पनीको सेयरभाउ बर्षौ वितिसक्दा पनि अंकित मूल्यकै हाराहारीमा छ । जसमा लगानीकर्ताहरुले आफ्नो लगानीबाट प्रतिफल पाउन सकिरहेका छैनन् ।  

नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०मा सूचीकृत कम्पनीहरुमध्ये अधिकांश हाइड्रोपावर कम्पनी र बाणिज्य बैंकका सेयर सस्तिएका छन् । ७ वटा बैंक, १२ हाइड्रो कम्पनी र एक लगानी कम्पनीको सेयरभाउ करिब आईपीओकै मूल्यमा पाउन थालिसकेको छ ।  

तर कसैलाई दोस्रो बजारमा लगानी गर्न मन छ भने यस्तो कम्पनीको स्टक खरिद गर्न यो उपयुक्त अवसर हुन सक्छ । सूचीकृत कम्पनीहरुमध्ये करिब दुई दर्जन कम्पनीको सेयर आईपीओकै मूल्यमा पाईन्छ ।  

तर दोस्रो बजारमा सेयरभाउ सस्तो छ भन्दैमा लगानी गरिहाल्नु उचित नहुन सक्छ । लगानीकर्ताले कम्पनीको तथ्याङ्क विश्लेषण गरी आफैंले विचार गरेर त्यस्ता कम्पनीहरुमा लगानी गर्दा उचित हुन्छ ।  

पछिल्लो समय बजारमा बढी ‘लो क्याप’ भएका कम्पनीहरु नै बढी चल्ने गरेको छ । नेप्सेमा रहेका १३ समूहका कम्पनीहरुमध्ये वाणिज्य बैंकहरु ‘लार्ज क्याप’ भएका कम्पनीमा गनिन्छन् भने हाइड्रो कम्पनीहरु ‘लो क्याप’ भएका कम्पनीमा गनिन्छन् ।  

यसर्थ सेयरभाउ सस्तिदै जाँदा लो क्याप भएका कम्पनीको विश्लेषण गरी लगानी गर्न यो उचित समय हुन सक्छ । बजारमा अहिले दीर्घकालिन भन्दा पनि अल्पकालिन लगानीकर्ताको हावी छ । लगानीकर्ताहरु कुनै कम्पनीको सेयर खरिद गरी होल्ड गर्न सक्दैनन् । जति सक्दो छोटो समयमा नै प्रतिफल पाउन खोज्छन् जसले गर्दा आफ्नो लगानी झनै डुब्ने अवस्था आउन सक्छ । यसकारण आफुले खरिद गर्न खोजेको कम्पनीको सेयरभाउको चार्ट हिस्ट्रि, कम्पनीको ईपीएस, बुकभ्यालु, सेयर क्यापिटल पनि हेर्न महत्वपूर्ण हुन्छ ।  

अहिले सस्तिदै गएको हाइड्रो कम्पनीको तथ्यांक विश्लेषण गरी लगानी गर्दा उत्कृष्ट प्रतिफल पाउन सक्ने बढी सम्भावना रहन्छ । अहिले बजारमा अल्पकालिन लगानीका लागि बढी हाइड्रो कम्पनी नै बढी रोजाईमा पर्ने गरेको छ । बजारमा प्राविधिक विश्लेषण गर्न सक्ने लगानीकर्ताहरुले हाइड्रो कम्पनीका सेयरमा बढी लगानी गरेका हुन्छन् ।  

दोस्रो बजारमा अहिले १२ वटा हाइड्रोपावर कम्पनीको सेयर आईपीओकै मूल्यमा पाइन्छन् । तर सस्तोमा पाइहाल्दैमा कुनै अध्ययन नै नगरी झट्टै लगानी गर्नु पनि उचित हुँदैन । लगानीकर्ताले आफैंले अध्ययन गरी यस्ता कम्पनीको सेयरमा लगानी गर्नुपर्ने हुन्छ ।  

त्यस्तै, पछिल्लो समय वाणिज्य बैंकहरुको पनि वित्तीय सूचक राम्रो हुँदाका बावजुत सेयरभाउ सस्तिदै गएको छ । अहिले लगानीकर्ताहरुको रोजाईमा वाणिज्य बैंकहरु खासै पर्दैनन् ।  

नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार पनि सर्वाधिक कारोबार हुने समूहमा हाइड्रो, बीमा, होटल तथा पर्यटन जस्ता समूहहरु बढी पर्ने गरेको छ । तर केही सेयर विज्ञहरु भने दीर्घकालिन लगानीका लागि वाणिज्य बैंकहरुको सेयरमा लगानी गर्नु नै उपयुक्त हुने बताउँछन् ।  

आगामी वर्षहरुमा देशको अर्थतन्त्र चलायमान हुँदा बैंकहरुको खराब कर्जा उठ्ने सम्भावना रहन्छ । खराब कर्जा अनुपात घटेपछि बैंकको प्रोभिजनिङ रकम नाफामा गणना हुन जान्छ । यस्तो अवस्थामा बैंकहरुले भविष्यमा उत्कृष्ट प्रतिफल दिन सक्ने सम्भावना बढी हुन्छ । यसकारण दीर्घकालिनका लागि बैंकको सेयरमा नै लगानी गर्न उपयुक्त अवसर हुन सक्ने बजार जानकारहरुको भनाई छ ।  

बजारमा अहिले लार्ज क्याप भएका वाणिज्य बैंकहरुको सेयरभाउ नै सस्तिएको छ । सबैभन्दा प्रभु बैंकको सेयरभाउ १४७ रुपैयाँ छ । जसमा बैंकको चुक्तापुँजी २३ अर्ब ५४ करोड रुपैयाँ छ । बजारमा पेड अप क्यापिटल बढी भएका कम्पनीको सेयर फालाफाल हुन जाँदा मूल्य पनि सस्तिदै जाने सम्भावना बढी हुन्छ ।  

त्यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, माछापुच्छ्रे बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैंक, एनएमबी बैंक र लक्ष्मी सनराईज बैंकको सेयरभाउ अंकित मूल्य अर्थात् आईपीओकै मूल्य हाराहारीमा छ ।  

प्रतिसेयर आम्दानीले सेयरभाउलाई प्रभाव पार्छ ?

प्रायः सेयरभाउ कम भएका कम्पनीहरुको प्रतिसेयर आम्दानी ९ईपीएस० कम नै रहेको देखिन्छ । दोस्रो बजारमा लगानी गर्नुअघि कम्पनीको ईपीएक कति छ, त्यो बुझ्न जरुरी हुन्छ ।  

यदि आफुले लगानी गर्न लागेको कम्पनीको ईपीएस ऋणात्मक भएको अवस्थामा त्यस्ता कम्पनीको सेयरभाउ झट्ट नबढ्न पनि सक्छ । प्रतिसेयर आम्दानीले मुख्यतः कम्पनीको मुनाफा आर्जनको क्षमता देखाउँने हुँदा कम्पनीको आधारभूत पक्षको विश्लेषणको प्रमखु सूचकको रुपमा लिइन्छ ।  

तर पछिल्लो समय बजारमा आधारभूत पक्षको विश्लेषण गर्ने लगानीकर्ताहरु कम नै छन् । ईपीएस थोरै भएका कम्पनीका सेयरभाउ पनि चम्किएको थुप्रै उदाहरण छन् । तर दीर्घकालिन लगानी गर्ने हो भने ईपीएस धेरै भएको कम्पनी हेर्दा उचित हुन्छ ।  

ईपीएस धेरै भएका कम्पनीहरुको सेयरभाउ ह्वात्तै घट्ने सम्भावना कम रहन्छ । यस्तो सूचकले कम्पनीको मुनाफा आर्जनको क्षमता देखाउने हुँदा दीर्घकालिन लगानीकर्ताले यस्ता कम्पनी छानेका हुन्छन् ।  

प्रतिसेयर आम्दानीले कम्पनीले प्रत्येक सेयरबाट संकलित पुँजी परिचालन गरेर कमाएको नाफालाई वित्तीय तथ्याङ्कमा व्यक्त गर्दछ । यसकारण प्रतिसेयर आम्दानी भनेको सर्वसाधारण लगानीकर्तालाई दिने प्रतिफलको आधार पनि हो । दीर्घकालिन लगानी गर्न कम्पनी छान्ने हो भने ईपीएस बढी भएका कम्पनी छान्दा उपयुक्त हुन सक्छ ।

नोटः सेयर बजार् जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।

 आमा दर्शन न्यूज़ / बिगसाला

प्रतिक्रिया