आतासवाजी गरेर कोरलानाका खुल्ला भएको सन्देश

जोमसोम—कोभिड तथा सुरक्षा संवेदनशीलताको कारण देखाउँदै चीनले एक पक्षिय रुपमा बन्द गरेको मुस्ताङको (नेचुङ—लिग्ची) कोरलानाका ढोका सोमबारदेखि खुल्ला भएको छ । प्रधानमन्त्री पुस्पकमल दाहालको चीन भ्रमणमा भएको सहमती र स्थानीय प्रशासन र जनप्रतिनिधिहरुको निरन्तरको पहलमा (नेचुङ¬—लिग्ची) कोरलानाका औपचारिक रुपमा खुल्ला भएको हो ।

कोरलानाका खोल्ने औपचारिक कार्यक्रममा संघीय प्रतिनिधि सभा सदस्य योगेश गौचन थकाली,गण्डकी प्रदेश सरकारका उद्योग पर्यटन,वन तथा वातावरणमन्त्री दिपेन्द्रबहादुर थापा, प्रदेश सांसद नम्डु गुरुङ, पोखरा महानगर पालिकाका मेयर धनराज आचार्य, मुस्ताङका ५ वटै गाउँपालिका अध्यक्षहरु,प्रमुख जिल्ला अधिकारी जनकराज पन्त,मुस्ताङका ३ वटै सुरक्षा निकायका प्रमुखहरु,पत्रकारहरु र अन्य सरोकारवाला निकायको टोली नेचुङ—लिग्ची) कोरलानाका समुद्घाटन कार्यक्रममा सहभागी भएका थिए ।

उता चीन पक्षबाट काउन्टी पार्टी सचिव म्याजेस्ट्रेड लुवु सिरेन,सहायक काउन्टी तहका सबै कार्यकर्ता, आर्थिक भन्सार,सीमा निरक्षण,परराष्ट्र मामिला कार्यालय जन सुरक्षा ब्यूरो ,सीमा नियन्त्रण र सुख्खा बन्दरगाह व्यवस्थापन समितिका अधिकारीहरुको उपस्थिती रहेको थियो ।

नेपाल—चीन मुस्ताङको उत्तरी कोरलानाकाको तिब्बती भूमी लिग्चीमा आयोजित सीमा नाका उद्घाटनको भव्य कार्यक्रममा चीन पक्ष र नेपाल पक्षबीच मञ्चमा चिनियाँ कन्याहरु समावेश गरी आतसवाजीका साथ औपाचारिक रुपमा (नेचुङ—लिग्ची) कोरलानाका खुल्ला भएको सन्देश दिईएको थियो ।

कार्यक्रममा नेपालका तर्फबाट संघीय प्रतिनिधि सभा सदस्य योगेश गौचन थकाली र चीन पक्षबाट विभिन्न कुटनितिक नियोगका व्यक्तिहरुले मन्तब्य राखेका थिए । समुद्घाटन कार्यक्रममा अतिथी र सहभागी दुबै पक्षलाई उठेर आसन ग्रहण गराएको थियो । समुद्घाटन कार्यक्रम र नाका देखिएको सम्पूर्ण दृष्य चीन पक्षले ड्रोन र अत्याधुनिक उपकरणले दृष्य कैंद गरेको थियो ।

कोरलानाका खुल्ला हुने भएपछि प्रदेश सरकारको जम्बो टोली कोरला पुगेको थियो ।लगातार ४ वर्षदेखि बन्द रहेको नाका खुल्ला हुँने कार्यक्रममा सहभागी हुन उपल्लो मुस्ताङका लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका झन्डै ७ सय स्थानीय नागरिक सोमबार बिहान ८ बजेदेखि लाईनबद्ध थिए ।नेपाल पक्षको केही ढिलाईले सीमानाका प्रस्थान अनुमती चेकजाँच र प्रस्थान गर्ने कार्यक्रम दिउँसो १२ बजे सम्म लम्बिएको थियो । नाका भिआईपी र अति विशिष्ट व्यक्तिहरुलाई मात्र सहभागी गराई संञ्चालन भएको उद्घाटन कार्यक्रम सकिएपछि बल्ल नाका ओपन गराईएको थियो ।सीमानाका प्रस्थानका लागि चीन पक्षले कडा सुरक्षा निगरानी गरेको थियो । नेपाल पक्षका स्थानीय नागरिकलाई प्रस्थान अनुमतीपत्रसहित नागरिकताको आधारमा चीन प्रवेश गराईएको थियो । प्रवेशका क्रममा चीन पक्षले आधा दर्जन स्थानमा प्रस्थान अनुमतीपत्र र नागरिकको भेरीफाई,फेस स्क्रिनिक गरी झोला र पर्सहरु चेकजाँच गरेको थियो ।

नाका खुल्ला हुनु अघि स्थानीय नागरिकहरुले कोरलानाका गुल्जार बनेको थियो । खुलेको मौसममा नाकामा गएर मालसामान किन्न, त्यहाको माहोल हेर्न स्थानीय सर्वसाधारण निकै उत्साहित भएका देखिन्थे । नाका संञ्चालनको कार्यक्रममा देखिएको प्राविधिक तयारी र चीन पक्षको ठाउँठाउँको चेकजाँच र सुरस्तताले झन्डै २ सय बढी नागरिकले साँझ ४ बजेपछि मात्र चीनको तिब्बती भूमीमा प्रवेश गर्न पाएका थिए ।

यसअघि नाका संञ्चालनको उद्घाटन अघि बसेको नेपाल —चीन पक्ष बीच बसेको बैठकले पूर्व घोषित उपल्लो मुस्ताङका दुई पालिकालाई मात्र सीमानाका प्रस्थान अनुमतीका आधारमा प्रवेश अनुमती दिने निर्णय भएकोमा नेपाल पक्षले सीमानाका प्रवेश गर्न मुस्ताङका अरु ३ पालिकाका नागरिकलाई पनि पास दिएमा चीन पक्षलाई कुनै आपत्ति नहुने सहमती भएको छ । योसंगै अब मुस्ताङका ५ वटै पालिकाले सीमा प्रस्थान पास लिएर चीन प्रस्थान गर्न सक्ने मार्ग खुलेको छ । साथै बैठकले नेपाल—चीनको कोरलानाका प्रस्थानका लागि दैनिक बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म खुल्ला गर्ने सहमती गरिएको छ । जसमा बिहान ११ बजेदेखि १२ बजेसम्म खाना खाने समयमा ब्रेक टाईम छुट्याईएको छ । साथै प्रतिकुल मौसम र हिमपात हुँदा आवत÷जावतमा समस्या हुँने देखिएमा दुबै पक्षको सहमतीमा आवश्यक निर्णय लिने सहमती गरिएको छ ।

उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बती भूमीमा प्रवेश गर्ने (नेचुङ—लिग्ची)नाका खुलेसंगै पहिलोदिन नेपालतीरबाट एक दर्जन बढी मालवाहक ट्रक र ट्याक्टरहरु चीनको भूमी लिग्ची प्रवेश भएका थिए । चीनले उपल्लो मुस्ताङको लोमान्थाङ , लोघेकर दामोदरकुण्ड गाउँपालिका र उपल्लो डोल्पाका नागरिकलाई झन्डै एक÷एक लाख  किलो बराबरको दैनिक उपभोग्य खाद्यान्न र लत्ताकपडा आदी निशुल्क राहत उपलब्ध गराएको थियो ।

चीनको तिब्बती भूमीको लिग्चीमा दर्जनौ तिब्बतीय व्यापारीहरुले विशाल कटेज भवन भित्र स्टल राखेर व्यापार गर्न बसेका थिए । त्यहाँ ब्यापारीहरुले चिनिया उत्पादनका खाद्यान्न,लत्ताकपडा,किराना सामाग्री,ईलेक्ट्रोनिक सामान,निर्माण सामाग्री आदी बिक्री गर्न राखेका थिए । नाका संञ्चालनको पहिलोदिन झन्डै ८ सय बढीले कोरलानाकामा चीनको व्यापारिक केन्द्रको अलवलोकन गरेका थिए । नेपाल—चीन कोरलाक्षेत्रको चीनको तिब्बती भूमी लिग्चीमा चीन पक्षका दर्जनौ लोभलाग्दा भव्य भौतिक संरचना निर्माण भईकेका छन् । उक्त भूमीमा चीन सडकमार्ग ,बिजुली , खानेपानी,ईन्टरनेट, आदी विस्तार गरिसकेको छ ।

 कोरोना कहर अघि नेपाल—चीन तिब्बती भूमीमा वर्षको २ पटक सीमित समयका लागि अन्तरदेशीय मेला लाग्थ्यो । यसपालि भने मुस्ताङको (नेचुङ—लिग्ची) कोरलानाका बाह्रै महिना खुल्ला भएको हो । कोरलानाका उपल्लो मुस्ताङीका लागि खुल्ला भएसंगै दीर्घकालिन रुपमा बृहत नाका संञ्चालन गर्ने मार्ग प्रसस्त भएको हो । कोरलानाका बृहत रुपमा संञ्चालन गर्न नेपाल सरकारले भौतिक पूर्वाधारहरु निर्माण गर्नुपर्ने भएपनि यसतर्फ सरकारको ध्यान गएको देखिदैन । उत्तर÷दक्षिण व्यापारिक केन्द्र विस्तार गर्न सकिएमा गण्डकी प्रदेशकै आर्थिक समृद्धिमा ठुलो टेवा पुग्ने विश्वाश गरिएको छ ।


सरकारले उत्तरकोरलानाका दिर्घकालीन रुपमा संञ्चालन गर्न राष्ट्रिय गौरवको बेनी—जोमसोम—कोरला सडक विस्तार गरिरहेको भएपनि पूर्वाधार निर्माणमा खासै ध्यान गएको पाईदैन ।


प्रतिक्रिया