काठमाडौं – देशभर हाल पश्चिमी वायुको प्रभाव कायम रहेको छ। यस प्रभावका कारण कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदलीको अवस्था रहेको छ भने अन्य भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ।
दिउँसो कोशी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ। बाँकी भू–भागमा भने मौसम सफा रहने विभागको भनाइ छ। यसैगरी, राति कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रहनेछ भने अन्य भागमा मौसम सफा रहने अपेक्षा गरिएको छ।
विभागले आगामी २४ घण्टामा बिहानको समयमा तराई र उपत्यकाका धेरै स्थानमा हुस्सु लाग्ने सम्भावना रहेको जनाएको छ। केही स्थानमा कुहिरोसमेत पर्ने भएकाले दैनिक जनजीवन, यातायात र हवाई उडानमा आंशिक असर पर्न सक्ने चेतावनी दिइएको छ।
सुरक्षित यात्राको लागि आवश्यक सतर्कता अपनाउन विभागले आम नागरिकलाई अनुरोध गरेको छ।