तिहारअघि शेयर बजारमा उतारचढाव, साताको अन्तिम दिन नेप्सेमा सामान्य सुधार


काठमाडौं । तिहारअघि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा भएको साताभरको कारोबारमा शेयर बजारले स्पष्ट दिशा लिन सकेन। साताको सुरुवातमा उच्च अंकले घटेको बजार त्यसपछिका दिनमा सामान्य सुधार र पुनः गिरावटको चक्रमा रह्यो। तिहारअघिको अन्तिम कारोबार दिन शुक्रबार भने नेप्से परिसूचकमा सामान्य वृद्धि देखिएको छ।


साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक ३२.६५ अंकले घटेर २ हजार ६५७.५० विन्दुमा झरेको थियो। त्यसपछि मंगलबार बजारमा ६.६२ अंकको सुधार देखियो भने बुधबार परिसूचक थप १.४० अंकले बढेको थियो। तर, उक्त सुधारले निरन्तरता पाउन सकेन। बिहीबार पुनः १२.९५ अंकले घट्दै नेप्से २ हजार ६५२.५८ विन्दुमा कायम भएको थियो।


शुक्रबार भने बजारमा सामान्य सुधार देखिएको छ। यस दिन नेप्से परिसूचक २.६४ अंकले बढेर २ हजार ६५५.२२ विन्दुमा पुगेको छ।


शुक्रबार कुल ३३६ सूचीकृत कम्पनीका ३ अर्ब ४६ करोड २० लाख ५९ हजार रुपैयाँ बराबरका शेयर कारोबार भएका छन्। कारोबार भएका कम्पनीमध्ये १५८ वटाको शेयर मूल्य वृद्धि भएको छ भने १०७ कम्पनीको शेयर मूल्य घटेको छ।


यस दिन अधिकांश उपसूचकमा सकारात्मक प्रभाव देखिएको छ। १२ उपसूचकमध्ये ११ वटामा हरियाली छाउँदा ‘अन्य’ समूहको सूचक भने ०.८८ प्रतिशतले घटेको छ।


कारोबार रकममा समेत साताभर उतारचढाव देखिएको छ। साताको पहिलो दिन ७ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएकोमा मंगलबार घटेर करिब ५ अर्ब ६१ करोड रुपैयाँमा सीमित भएको थियो। बुधबार कारोबार रकम पुनः बढेर ७ अर्ब ३८ करोड रुपैयाँभन्दा माथि पुगेको थियो। बिहीबार भने कारोबार रकम घटेर करिब ४ अर्ब ६९ करोड रुपैयाँमा झरेको थियो।


समग्रमा साताभर नेप्से परिसूचकमा उल्लेख्य सुधार देखिन नसक्दा शेयर बजारमा लगानीकर्ताको मनोविज्ञान अझै अन्योलपूर्ण देखिएको छ। सामान्य अंकको वृद्धिपछि पुनः बिक्री चाप देखिने प्रवृत्तिले बजारको आगामी दिशा अझै अनिश्चित रहेको संकेत गरेको छ।


आमा दर्शन न्युज | सत्य, समय र समाजप्रति उत्तरदायी समाचारको भरोसायोग्य स्रोत।

प्रतिक्रिया