'अन्तरराष्ट्रिय साझेदारी र लगानीका कार्यक्रममा स्थानीय सरकारलाई साक्षी होइन, निर्णायक भूमिकामा राखिनुपर्छ' – उपप्रमुख डंगोल

                                                                                    आमा दर्शन न्यूज डेस्क

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले अन्तरराष्ट्रिय साझेदारी तथा लगानीका कार्यक्रमहरूमा स्थानीय तहलाई साक्षी प्रतिनिधि मात्र होइन, निर्णायक भूमिका सहित सहभागी गराउनुपर्नेमा जोड दिनुभएको छ।

वेल्जियमको ब्रसेल्सस्थित युरोपियन युनियन (EU) मुख्यालयमा मंसिर २२ देखि २४ गते (डिसेम्बर ८–१०) सम्म सम्पन्न ‘सिटीज एन्ड रिजन्स फर इन्टरनेशनल पार्टनरसिप्स २०२५ फोरम’ मा उहाँले प्रस्तुतिकरण गर्दै सो धारणा राख्नुभएको हो। फोरममा युरोपेली संघका सदस्य राष्ट्र, साझेदार देशका स्थानीय सरकारका प्रतिनिधिहरू तथा विज्ञबीच अन्तरक्रिया र छलफल भएको थियो।

उपप्रमुख डंगोलका अनुसार अन्तर्राष्ट्रिय सहयोग र लगानीमा सञ्चालन हुने आयोजनाहरूमा स्थानीय सरकारहरूको भूमिकालाई "सार्थक र प्रभावकारी" बनाइनु अत्यावश्यक छ।
उहाँले भन्नुभयो, "स्थानीय सरकारले शक्ति, स्वामित्व र निर्णायक भूमिकासहित सहभागिता पाउनुपर्छ। प्रतिनिधित्व गराउने विगतको परम्परागत विधि सच्याएर नयाँ रणनीतिका साथ अगाडि बढ्नुपर्ने आवश्यकता छ।"


उहाँले अन्तर्राष्ट्रिय साझेदारीका परियोजनामा स्थानीय तहलाई प्रारम्भिक योजना, निर्णय, अनुगमन तथा मूल्यांकन प्रक्रियामा सशक्त रूपमा सहभागी गराउन सके मात्र दीगो परिणाम प्राप्त हुने बताउनुभयो।

कार्यक्रममा सहभागिता जनाउँदै उपप्रमुख डंगोलले काठमाडौँ महानगरको अनुभव, क्षमता र आगामी साझेदारी सम्भावनाबारे समेत अवगत गराउनुभएको थियो।

प्रतिक्रिया