काठमाडौं। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले परीक्षा पेपर चुहावटका घटनालाई नियन्त्रण गर्न कडा कानुनी व्यवस्था लागू गरिने घोषणा गरेका छन्। बिहीबार मध्यरातमा सार्वजनिक गरिएको भिडियो सन्देशमार्फत उनले पेपर चुहावटलाई लाखौं विद्यार्थी र अभिभावकको भविष्यसँग जोडिएको गम्भीर अपराध भन्दै दोषीमाथि कडा कारबाही गरिने बताएका हुन्।
प्रधानमन्त्री मोदीका अनुसार मन्त्रिपरिषद्ले सम्बन्धित कानुनी मस्यौदामाथि छलफल गरी अनुमोदन गरेपछि अर्को हप्ताभित्र संसदमा पेश गरेर छिटो पारित गर्ने तयारी गरिएको छ। साथै, यस्ता मुद्दाको शीघ्र सुनुवाइका लागि द्रुत-ट्र्याक अदालत स्थापना गर्न निर्देशन दिइएको पनि उनले जानकारी दिए।
उनले पेपर चुहावट सामान्य घटना नभई विद्यार्थीहरूको भविष्यसँग प्रत्यक्ष जोडिएको विषय भएको उल्लेख गर्दै हालसम्म दोषीहरू पक्राउ परिसकेको र प्रभावित विद्यार्थीहरूको शैक्षिक वर्ष खेर जान नदिन करिब २२ लाख विद्यार्थीको पुनः परीक्षा सञ्चालन गरिएको तथा जुलाई १९ मा नतिजा सार्वजनिक गरिएको बताए।
मोदीले सामाजिक अभियन्ता सोनम वाङचुकलाई पनि आफ्नो अनशन फिर्ता लिन आग्रह गरेका थिए। स्वास्थ्य अवस्था बिग्रिएपछि गुरुग्रामस्थित मेदान्त अस्पतालमा उपचाररत वाङचुकले केन्द्रीय स्वास्थ्य मन्त्री जेपी नड्डा र जितेन्द्र सिंहको उपस्थितिमा जुस पिएर अनशन अन्त्य गरेका छन्।
यो विवाद मे ३ मा सम्पन्न भएको नीट-यूजी (NEET-UG) परीक्षाको पेपर चुहावटसँग सम्बन्धित हो। घटनाको विरोधमा विपक्षी दलहरूले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग्दै आन्दोलन जारी राखेका छन्।
हाल केन्द्रीय अनुसन्धान ब्युरो (CBI) ले महाराष्ट्र, राजस्थान, दिल्लीलगायत विभिन्न राज्यमा अनुसन्धान गरिरहेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार हालसम्म १३ जना अभियुक्त पक्राउ परिसकेका छन् र छिट्टै आरोपपत्र दायर हुने तयारी भइरहेको छ।
उता, प्रधानमन्त्रीको भिडियो सन्देशपछि कांग्रेस नेता राहुल गान्धीले सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया दिँदै शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग दोहोर्याएका छन्। उनले विद्यार्थीहरूमाथि भएको अन्यायको जिम्मेवारी सरकारले लिनुपर्ने, दोषीलाई कारबाही गर्नुपर्ने र सरकारबाट सार्वजनिक रूपमा माफी माग्नुपर्ने बताएका छन्।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता