तनहुँमा मर्स्याङ्दी नदीमा बस खसेर दुर्घटना हुँदा घाइते भएकामध्ये १२ जनालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ।
मेडिकल टिमसहित गएको नेपाली सेनाको हेलिकप्टरले उनीहरुलाई उपचारका लागि काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल ल्याएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
निर्देशनालयका अनुसार थप दुई घाइते लिन हेलिकप्टर पुन: घटनास्थलतर्फ गएको छ।
शुक्रबार बिहान ११ बजेर ४० मिनेटमा पोखराबाट काठमाडौं आउँदै गरेको भारतीय नम्बरको बस तनहुँको आँबुखैरेनी गाउँपालिका २ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा खसेर दुर्घटना भएको थियो। ४१ यात्रु सवार बस दुर्घटनामा हालसम्म १४ जना जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।
७ भदौ २०८१, शुक्रबार ०४:५९ मा प्रकाशित