आज प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार मनोनयन दर्ता


काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज उम्मेदवार मनोनयन दर्ता हुँदै छ । निर्वाचन आयोगका अनुसार उम्मेदवारले सम्बन्धित जिल्ला र निर्वाचन क्षेत्रमा रहेको निर्वाचन कार्यालयले तोकेको स्थानमा पुगेर मनोनयन दर्ता गर्नुपर्नेछ ।

मनोनयनका लागि उम्मेदवारले नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि अनिवार्य रूपमा पेस गर्नुपर्नेछ । साथै, कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पनि आवश्यक पर्ने आयोगले जनाएको छ ।

राजनीतिक दलको तर्फबाट उम्मेदवारी दिने उम्मेदवारले सम्बन्धित दलको केन्द्रीय कार्यकारिणी समिति वा सोसरहको समितिको अधिकारप्राप्त पदाधिकारीद्वारा जारी गरिएको औपचारिक मनोनयन पत्र पेस गर्नुपर्नेछ । एकल चुनाव चिह्न लिएर संयुक्त रूपमा निर्वाचनमा सहभागी दलका उम्मेदवारका हकमा प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ अनुसारको मनोनयन पत्र आवश्यक पर्नेछ ।

उम्मेदवारले सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा १० हजार रुपैयाँ धरौटी रकम जम्मा गरेको रसिद वा भौचर पनि बुझाउनुपर्नेछ । महिला, दलित, अल्पसंख्यक समुदाय तथा आर्थिक रूपमा विपन्न उम्मेदवारका हकमा धरौटी रकममा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

यसका अतिरिक्त उम्मेदवारले स्वघोषणा पत्र, वैयक्तिक विवरण फाराम तथा आफ्नो चल–अचल सम्पत्ति, बैंक खाता, सेयर, ऋण तथा लेनदेनसम्बन्धी सम्पूर्ण विवरण समेटिएको सम्पत्ति विवरण सिलबन्दी रूपमा पेस गर्नुपर्नेछ । कुनै निकायबाट पेस्की लिएको भए सो फछ्र्योट गरेको निस्सा र लेखा परीक्षणबाट बेरुजु कायम भए त्यसको फछ्र्योट प्रमाण पनि आवश्यक पर्ने निर्वाचन आयोगले जनाएको छ ।

उम्मेदवारी मनोनयन दर्ताको समय बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म तोकिएको छ । निर्वाचन आयोगले देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा निर्वाचन कार्यालय स्थापना गरी मनोनयन दर्ता प्रक्रिया अघि बढाएको छ ।

प्रतिक्रिया