काठमाडौं । प्रतिनिधिसभाको बैठकमा वैदेशिक रोजगारीका नाममा भइरहेको ठगी, सरकारी उदासीनता तथा विदेशमा अलपत्र परेका नेपाली युवाको अवस्थाबारे गम्भीर चासो व्यक्त गरिएको छ।
सर्लाही निर्वाचन क्षेत्रका प्रतिनिधित्व गर्ने एक सांसदले सदनमा बोल्दै आफ्नो क्षेत्रबाट मात्रै दैनिक ३० देखि ४० जना युवा वैदेशिक रोजगारीका लागि विदेशिने गरेको उल्लेख गर्दै उनीहरूमध्ये धेरै विभिन्न देशका जेलमा परेको र प्रत्येक वर्ष २२ देखि ३० जनासम्मको शव बाकसमा नेपाल फर्किने गरेको दुःखद अवस्था रहेको बताए।
उनले ‘अवैध काम’ र ‘ओभरस्टे’ जस्ता कारण देखाएर नेपाली युवालाई विदेशमा जेल हालिने गरेको भए पनि नेपाल सरकारले पीडित परिवारको समस्या समाधान र उद्धारमा पर्याप्त पहल नगरेको आरोप लगाए।
सांसदले सर्लाहीको ईश्वरपुर निवासी शिवकुमारी रामका श्रीमान् सुरेन्द्र राम विदेशको जेलमा रहेको र लामो समयसम्म उनको अवस्थाबारे कुनै आधिकारिक जानकारी नआएको विषय पनि सदनमा उठाए। एजेन्टलाई ऋण गरेर १ लाख ४५ हजार रुपैयाँ बुझाएर वैदेशिक रोजगारीमा गएका सुरेन्द्र रामको उद्धारका लागि श्रम तथा परराष्ट्र मन्त्रालयसँग पटक–पटक पहल गरे पनि हालसम्म कुनै ठोस प्रगति नभएको उनले बताए। सुरेन्द्र रामको अवस्था तत्काल सार्वजनिक गरी सुरक्षित रूपमा नेपाल फर्काउने व्यवस्था गर्न उनले सरकारसँग माग गरे।
त्यसैगरी, सर्लाहीको चन्द्रनगर–पोखरियाका चार जना युवा गोल्ड ओभरसिज (Gold Overseas) म्यानपावरमार्फत कुवेत पुगेपछि तीन महिनासम्म तलब नपाई समस्यामा परेको, उजुरी दिएपछि उल्टै २१ दिनसम्म जेल सजाय भोग्नुपरेको र पछि नेपाल फर्किए पनि उनीहरूको जीवन संकटमा परेको घटना पनि सांसदले सदनमा प्रस्तुत गरे।
उनले वैदेशिक रोजगार विभागमाथि समेत गम्भीर प्रश्न उठाउँदै पीडितलाई न्याय दिनुको सट्टा केही कर्मचारीहरूले ठगीमा संलग्न म्यानपावर कम्पनीहरूलाई संरक्षण गरेको आरोप लगाए। नियमनकारी निकाय नै ठगी गर्ने पक्षको संरक्षक बनेपछि पीडितले न्याय पाउन कठिन भएको उनको भनाइ थियो।
सांसदले सरकारसँग वैदेशिक रोजगारीका नाममा ठगी गर्ने म्यानपावर कम्पनीमाथि तत्काल कडा कानुनी कारबाही गर्न, पीडित युवाहरूलाई उचित क्षतिपूर्ति र न्याय उपलब्ध गराउन तथा वैदेशिक रोजगार विभागभित्र रहेका भ्रष्टाचारमा संलग्न कर्मचारीहरूको निष्पक्ष छानबिन गरी आवश्यक कारबाही गर्न जोडदार माग गरेका छन्।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सन्चारकर्मी सुर्य राय