नेपाल रेडक्रस सोसाइटी र कीर्तिपुर नगरपालिका बीच रक्तसञ्चार सेवासम्बन्धी समीक्षा बैठक सम्पन्न

नेपाल रेडक्रस सोसाइटी र कीर्तिपुर नगरपालिका बीच निःशुल्क रगत तथा रक्त तत्व उपलब्ध गराउने सम्झौता बमोजिम भएका रक्तसञ्चार सेवासम्बन्धी गतिविधिहरुको समीक्षा गर्ने उद्देश्यका साथ आज काठमाडौंमा समीक्षा बैठक सम्पन्न भएको छ । सो बैठकमा कीर्तिपुर नगरपालिका उपप्रमुख शुभलक्ष्मी शाक्य, विभिन्न वडाका अध्यक्ष एवं प्रतिनिधिहरु र नेपाल रेडक्रस सोसाइटीका पदाधिकारी एवं कर्मचारीहरुको उपस्थिति रहेको थियो । 

उक्त कार्यक्रममा बोल्दै कीर्तिपुर नगरपालिकाका उपप्रमुख शाक्यले निःशुल्क रगत एवं रक्त तत्व उपलब्ध गराउन दुई संस्था बीच भएको सम्झौता बमोजिम निःशुल्क रगत उपलब्ध गराउने कार्यक्रमा नगरपालिकाले समन्वयकारी भूमिका निर्वाह गरिरहेको बताउनुभयो । उहाँले अस्पतालहरुसँगको समन्वयलाई बढाउन सकिए अझ छिटो र प्रभावकारी सेवा पुर्याउन सकिने बताउनुभयो ।

 सोही कार्यक्रमा बोल्दै नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष प्राध्यापक सुदर्शनप्रसाद नेपालले सर्वसाधरणबाट रगत निःशुल्क पाउनु पर्ने आवाज उठिरहेको सन्दर्भमा कीर्तिपुर नगरपालिकाले सबैभन्दा पहिले निःशुल्क रक्त अभियान शरु गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो । उहाँले यस अभियान अन्तर्गत उपत्यका बाहिरका असाहयहरुलाई पनि निःशुल्क रगत उपलब्ध गराउने व्यवस्था गर्न बास्केट फण्डको व्यवस्था गर्न सकिने बताउनुभयो ।


सोही अवसरमा बोल्दै सोसाइटीका महामन्त्री भूपतिलाल श्रेष्ठले रगतको अभावमा कसैले पनि जीवन गुमाउनु नपरोस् भनेर शुरु गरिएको निःशुल्क रगत अभियान प्रशंसनीय रहेको बताउँदै  यो सेवालाई अझ गुणस्तरीय, प्रभावकारी र सहज बनाउन नगरपालिकाहरुसँगको सहकार्यलाई बढाइने बताउनुभयो । 

कार्यक्रममा सोसाइटीका उपमहामन्त्री एवं केन्द्रीय रक्तसञ्चार सेवाका संयोजक मनोजकुमार थापाले सर्वसाधरणलाई निःशुल्क रगत उपलब्ध गराउने यस अभियानलाई देशैभर बिस्तार गर्दै लगिने बताउँदै यसको वितरण प्रणालीलाई भने प्रभावकारी बनाउन आवश्यक भएको बताउनुभयो ।

सो कार्यक्रममा सोसाइटीका कार्यकारी निर्देशक उमेश ढकालले कीर्तिपुर नगरपालिका र नेपाल रेडक्रसको सहकार्यमा २०७९ देखि शुरुभएको निःशुल्क रक्त अभियान अन्तर्गत सञ्चालन भइरहेका गतिविधिहरु माथि प्रकाश पार्दै कीर्तिपुर नगरपालिकाबाट यसवर्ष मात्र रक्तसञ्चार केन्द्रलाई ४१९ युनिट रगत प्राप्त भएको जानकारी गराउनुभयो ।

सो अवसरमा कीर्तिपुर नगरपालिका र वडाका प्रतिनिधिहरुले सेवा प्रदान गर्ने क्रममा सेवाग्राहीहरुबाट प्राप्त पृष्ठपोषण र गुनासाहरुका बारेमा जानकारी गराउनुभएको थियो । उहाँहरुले सेवाग्राहीलाई निःशुल्क रक्त सेवाबाट ठूलो सहयोग पुगेको, निःशुल्क पाइन्छ भनेर प्रचार गर्न नसकिएको र नेगेटिभ ग्रुपको रगतको पहुँच नहुँदा बिरामीलाई सम्पर्क गर्ने संयन्त्रलाई मिलाउनु पर्ने लगायतका बिषयमा जानकारी गराउनुएको थियो । 

काठमाडौं उपत्यकामा कीर्तिपुर नगरपालिकाबाट शुरु भएको निःशुल्क रक्त अभियान हाल काठमाडौं महानगरपालिकासहित चन्द्रागिरी, टोखा, तारकेश्वर, कागेश्वरी मनहरा र नागर्जुन गरी ७ वटा नगरपालिकाले रेडक्रससँग सहकार्य आफ्ना क्षेत्रका सर्वसाधारणलाई निःशुल्क रक्त सेवा सञ्चालन गरिरहेका छन् ।



प्रतिक्रिया