काबुलको होटेलमा विष्फोट हुँदा एक चिनियाँ नागरिकसहित सात जनाको मृत्यु

काठमाडौं । अफगानिस्तानको राजधानी काबुलस्थित सहर–ए–नाव क्षेत्रमा रहेको एक होटेलमा भएको विष्फोटमा एक चिनियाँ नागरिकसहित सात जनाको मृत्यु भएको छ । समाचार संस्था एएनआईका अनुसार विष्फोटको कारणबारे विभिन्न अपुष्ट रिपोर्टहरू सार्वजनिक भएका छन् ।

प्रारम्भिक जानकारीअनुसार होटेलभित्र रहेको ग्यास सिलिन्डर चुहिएर विष्फोट भएको र यसमा कर्मचारीको लापरबाही हुन सक्ने बताइएको छ । काबुल प्रहरीका प्रवक्ता खालिद जद्रानका अनुसार उक्त विष्फोट चिनियाँ मुस्लिम र अफगानी नागरिकले संयुक्त रूपमा सञ्चालन गर्दै आएको ‘चिनियाँ नुडल’ नामक होटेलमा भएको हो ।

जद्रानले मृतकमध्ये चीनको सिनजियाङ प्रान्तका बासिन्दा अब्दुल मजिद (चिनियाँ मुस्लिम) पनि रहेको जानकारी दिएका छन् । उक्त होटेल अब्दुल मजिद, उनकी श्रीमती तथा अब्दुल जब्बार महमुद नामक अफगानी नागरिकले संयुक्त रूपमा सञ्चालन गर्दै आएका थिए ।

प्रहरीका अनुसार अन्य छ जना अफगानी नागरिकको पनि मृत्यु भएको छ भने ठूलो संख्यामा मानिस घाइते भएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

यसैबीच, अल जजिराको रिपोर्टअनुसार इटालेली गैरसरकारी संस्था ‘इमर्जेन्सी’ले काबुलमा आफूले सञ्चालन गर्ने एक चिकित्सा केन्द्रमा विष्फोटमा घाइते भएका २० जनालाई ल्याइएको जनाएको छ । तीमध्ये सात जनाको अस्पताल पुग्दासम्म मृत्यु भइसकेको बताइएको छ । संस्थाका अनुसार हताहतीको संख्या अझै प्रारम्भिक रहेको छ ।

प्रतिक्रिया