एलपी ग्यास आपूर्ति सहज बनाउन वैकल्पिक मार्गबाट वितरण, २८ दिनमा ५२ हजार ७३७ मेट्रिक टन आयात



काठमाडौं । नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार ७३७ मेट्रिक टन एलपी ग्यास आयात भएको जनाएको छ। उक्त परिमाण करिब ३७ लाख १३ हजार ८९४ सिलिण्डर बराबर हो।


निगमका सहप्रवक्ता शिशिर सुवेदीका अनुसार इण्डियन आयल कर्पोरेशन (आईओसी) का विभिन्न रिफाइनरी तथा बोटलिङ प्लान्टबाट सेप्टेम्बर १० सम्म थप १९ हजार २१८ मेट्रिक टन ग्यास लोडिङ भइसकेको छ। नेपालमा मासिक करिब ४७ हजार मेट्रिक टन एलपी ग्यास खपत हुँदै आएको छ।


पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरोका कारण मुख्य सडक अवरुद्ध भएपछि निगमले वैकल्पिक व्यवस्थामार्फत तराईका उद्योगमा ग्यास रिफिल गरी त्रिभुवन राजपथ तथा बीपी राजमार्ग हुँदै काठमाडौं उपत्यका र आसपासका जिल्लामा वितरण गरिरहेको छ।


निगमका अनुसार भदौ १८ देखि २७ गतेसम्म वैकल्पिक मार्गबाट ल्याइएका करिब ३ लाख ९९ हजार ५२९ सिलिण्डर उपभोक्तालाई वितरण भइसकेका छन्। पछिल्लो १० दिनमा उपत्यकामा दैनिक औसत ४० हजार सिलिण्डर ग्यास बिक्री–वितरण भइरहेको छ।


मुख्य राजमार्ग सञ्चालनमा नआएसम्म तराईका उद्योगमा ग्यास भरेर वैकल्पिक मार्गबाट काठमाडौं ल्याई वितरण गरिने निगमले जनाएको छ। यसका लागि काठमाडौं, धादिङ र काभ्रेपलाञ्चोकका उद्योगका सिलिण्डरहरू बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, धनुषा र महोत्तरीका उद्योगमा रिफिल गरी काठमाडौं ल्याउने व्यवस्था गरिएको छ।


राजमार्ग सञ्चालनमा आएपछि सोही रुटबाट एलपी ग्यासका बुलेटहरू नियमित रूपमा काठमाडौं भित्रिने र आपूर्ति थप सहज हुने निगमको विश्वास छ।


आपूर्ति व्यवस्थालाई प्रभावकारी बनाउन उच्चस्तरीय समन्वय टोली गठन गरिएको छ। साथै, ग्यास भरिएका सिलिण्डर लुकाउने तथा कृत्रिम अभाव सिर्जना गर्नेविरुद्ध सरकारले कारबाही तीव्र बनाएको निगमले जनाएको छ।

प्रतिक्रिया