सिप मेला’ सिपयुक्त जनशक्ति र रोजगारदाताका लागि पुल हो, हामी सहकार्य गर्न तयार छौँ – निजी, उद्योग तथा वाणिज्य क्षेत्रका प्रतिनिधि

काठमाडौं, वैशाख २३ – अामा दर्शन न्यूज

काठमाडौँ महानगरपालिकाले गएको वर्ष आयोजना गरेको ‘सिप मेला २०८१’ ले सिपयुक्त जनशक्ति र रोजगारदाताबीच सेतुको भूमिकामा काम गरेको निजी, उद्योग तथा वाणिज्य क्षेत्रका प्रतिनिधिहरुले बताएका छन्। आज काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) सँगको विशेष छलफल कार्यक्रममा उनीहरुले सो धारणा राखेका हुन्।


गत वर्ष सम्पन्न सिप मेला सम्बन्धमा प्रतिक्रिया दिँदै उनीहरुले यस्तो प्रकारको मेला सिपमूलक तालिम प्राप्त गरिरहेका युवाहरुलाई रोजगारदातासँग जोड्न सफल भएको र यसले दीर्घकालीन रूपमा रोजगारी सृजनामा मद्दत गर्ने बताएका थिए।


उद्योग क्षेत्रका प्रतिनिधिहरुले भने, “देशमा बेरोजगारी बढ्दो छ, तर सिपयुक्त जनशक्ति अझै पनि अभावमा छन्। यस्ता मेलाले दुवै पक्षलाई एक अर्कासँग नजिक ल्याउने काम गर्छ।” उनीहरुले आउँदो सिप मेलामा थप सक्रिय सहभागिता जनाउने प्रतिवद्धता पनि जनाएका छन्।


यस अवसरमा महानगर प्रमुख बालेन्द्र शाहले भने, “काठमाडौँ महानगरपालिकाको प्रयास सिपमूलक शिक्षालाई व्यवहारमा रूपान्तरण गर्दै जनशक्तिलाई रोजगारीमा जोड्ने हो। हामी निजी क्षेत्रसँग सहकार्य गर्न सधैं तयार छौं र आगामी सिप मेलालाई अझ प्रभावकारी बनाउनेछौं।”


उक्त बैठकमा विभिन्न उद्योग, व्यापार संघ, सिप तालिम प्रदायक संस्था तथा नागरिक समाजका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। उनीहरुले सिप मेलालाई अझ समावेशी, क्षेत्रीय प्रतिनिधित्वयुक्त र व्यावसायिक बनाउन आवश्यक सुझावहरु पनि दिएका थिए।


महानगरले २०८२ सालको सिप मेला आयोजना गर्ने तयारी गरिरहेको जानकारी दिँदै आगामी मेलामा स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रोजगारदाता संस्थाहरुलाई पनि सहभागी गराउने योजना बनाएको जनाएको छ।

प्रतिक्रिया