काठमाण्डौ।वैदेशिक रोजगारीमा जानको लागि अब काठमाण्डौ नै आउन नपर्ने भएको छ। सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट वैदेशिक रोजगारीमा जानेलाई आवश्यक पर्ने सबै सेवा सुविधा सम्बन्धित विमानस्थलको पायक पर्ने स्थान र कार्यालयबाट उपलब्ध गराउने निर्णय गरेको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा मंगलबार सरोकारवाला संघसंस्था र कार्यालयहरूका प्रतिनिधिहरूसहित बसेको बैठकले उक्त निर्णय गरेको जनाइएको छ। ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट वैदेशिक रोजगारमा जाने व्यक्तिहरूलाई आवश्यक पर्ने सबै सेवा सुविधा सम्बन्धित विमानस्थलको पायक पर्ने स्थान र कार्यालयबाट नै उपलब्ध गराउने,’ मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ। हाल प्रदान गरी रहेको सेवा र सम्पादन गरी रहेका कामहरू भैरहवा र पोखराबाट गर्ने गरी आवश्यक व्यवस्था सबै संघसंस्थाहरूले मिलाउने निर्णय बैठकले गरेको छ।
‘सामाजिक सुरक्षा कोष, वैदेशिक रोजगार बोर्डको सचिवालयबाट प्रदान गरिने सेवाहरूको सम्बन्धमा सम्बन्धित कार्यालयहरूले व्यवस्था मिलाउने,’ निर्णयमा भनिएको छ, ’श्रम स्वीकृति लगायतका सेवालाई सरल र सहज बनाउन वैदेशिक रोजगार विभागले आवश्यक व्यवस्था मिलाउने।’ यसैबीच भिसा सेन्टरको स्थापनाको लागि परराष्ट्र मन्त्रालयमार्फत अनुरोध गर्ने समेत जनाइएको छ।
ऐन, नियम, कार्यविधिमा केही संशोधन वा निर्णय गर्नुपर्ने भएमा मन्त्रालयले अध्ययन गरी निर्णय गर्ने प्रकाशित सूचनामा भनिएक छ। श्रम मन्त्रालयअन्तर्गतका सेवाहरूलाई क्रमशः प्रदेशस्तरमा लैजान आवश्यक तयारी मिलाउने समेत निर्णय भएको मन्त्रालयले जनाएको छ।