रामेछापको गोकुलगङ्गा गाउँपालिकामा पहिरो, तीनजनाको मृत्यु

रामेछाप- रामेछाप जिल्लाको गोकुलगङ्गा गाउँपालिका-६ फर्पुमा बिहीबार साँझ गएको पहिरामा परी तीनजनाको मृत्यु भएको छ। अविरल वर्षाका कारण बिहीबार राति साढे ८ बजे खसेको पहिराले स्थानीय विमान तामाङको घरको आधा भाग पुरिँदा १८ वर्षीया छोरी सीता तामाङ, नातिनीहरू १४ वर्षीया आशिका तामाङ र १३ वर्षीया लक्ष्मी तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रदीपकुमार सिंहले जानकारी दिएका छन्।

बिहीबार साँझ रोपाइँ सकेर घरमा आगो तापेर एकै ठाउँमा बसिरहेका उनीहरूलाई वर्षासँगै आएको पहिरोले घरमाथिको ढिस्काले पुरेको थियो। तर सोही घरको अर्को कोठामा रहेका विमान तामाङ र उनकी श्रीमतीलाई भने केही नभएको वडाध्यक्ष चन्द्र सुनुवारले बताएका छन्।

घटनाको सूचना पाउनासाथ जिल्ला सदरमुकाम मन्थलीबाट सहायक प्रमुख जिल्ला अधिकारी किसान न्यौपानेको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको उद्धार टोली घटनास्थलतर्फ पठाइएको रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले जानकारी दिएकी छिन्।

घटनास्थलमा बेताली प्रहरी चौकीका प्रहरी, स्थानीयवासी, र अन्य उद्धारकर्मीहरूको सक्रियताले थप क्षति हुनबाट जोगाएका थिए। उद्धार टोलीले अहिले पनि घटनास्थलमा राहत तथा उद्धार कार्य जारी राखेको छ।

प्रतिक्रिया