बाढीले ज्यान गुमाउने व्यक्तिका परिवारलाई क्षतिपूर्ति र विस्थापितलाई पुनस्र्थापन गर्न माग

अत्तरिया : नेपाली कांग्रेसबाट निर्वाचित प्रतिनिधि सभा सदस्य एनपी साउदले गृह जिल्ला कञ्चनपुरमा बाढीबाट ज्यान गुमाएकाका परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न र विस्थापितहरूलाई तत्काल पुर्नस्थापना गर्न सरकारसँग माग गरेका छन् ।

प्रतिनिधिसभाको मङ्गलवार बसेको बैठकको सुरुवातमै सांसद साउदले स्थानीय प्रशासन, स्थानीय तह र सामाजिक संघ\संस्थाको भरमा मात्रै कञ्चनपुरमा बाढीले पुगाएको विपदलाई छोड्न नसकिने बताए । कञ्चनपुरमा बाढीले ठूलो संख्यामा जीवन र धन दुवैको क्षति भएको उनले बताए । कञ्चनपुरमा भीषण बाढी रेकर्डको रूपमा रहिआएको उनले बताएका हुन् ।


कञ्चनपुरको पुनर्वास नगरपालिका–५ रातोखाली खोलामा तीन किशोरी लक्ष्मी बोगटी सिर्जना बोगटी र आरती बोगटीको मृत्यु भएको छ । कृष्णपुर नगरपालिका–१ का सागर धानुकका ७ महिना छोरा सोनु धानुकको पनि मृत्यु भएको भएको छ । त्यस्तै बेलडाँडी गाउँपालिका–३ बैबाहका २३ वर्षीय डम्बर चौधरी बेपत्ता भएको उनले बताए ।

दोधारा–चाँदनी नगरपालिकामा भर्खरै एउटा महिलाको शव फेला परेको खबर आएको छ । तर पहिचान भइनसकेको सांसद साउदले प्रतिनिधि सभामा जानकारी समेत गराएका छन् ।

पुनर्वास नगरपालिका–५ ‘ग’ गाउँमा रहेको रातोखाली खोलामा १५ वर्षीय लक्ष्मी बोगटी, १५ वर्षीय सृजना बोगटी र १६ वर्षीया आरती बोगटी बेपत्ता भएका थिए । तर तीनै किशोरी मृत अवस्थामा फेला परेका थिए । उनीसँगै गएकी १२ वर्षीया अञ्जली बोगटी भने बाँच्न सफल भएकी छन् । उनीहरुलाई खाल्टोमा डुब्दै गरेको देखेका एकजना युवकले अञ्जलीको कपाल तानेर बाहिर निकालेका थिए । उनै युवकले घटनाबारे समेत जानकारी गराएका थिए । मृतक तीनै किशोरी स्थानीय गौरीशंकर माविमा अध्ययनरत थिए । उनीहरु सबै आफन्त समेत हुन् । ३ किशोरीको मृत्युपछि यतिबेला वडा शोकमा डुबेको छ ।

प्रतिक्रिया