काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता शिशिर खनालले आगामी निर्वाचनमा शान्ति–सुरक्षाको विषय सबैभन्दा प्रमुख रहेको बताएका छन्।
सरकारले सोमबार आह्वान गरेको सर्वपक्षीय बैठकमा बोल्दै खनालले निर्वाचनका क्रममा शान्ति–सुरक्षा र प्रचार–प्रसार दुवै विषय अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरे। भयरहित वातावरणमा सबैको सहभागिता सुनिश्चित गर्नु सरकारको मुख्य जिम्मेवारी भएको उनले बताए।
“चुनावमा शान्ति–सुरक्षाको विषय नै हो, प्रचार–प्रसारको विषय नै हो,” खनालले भने, “भयरहित वातावरणमा सहभागिता, नेताहरू, पार्टीहरू तथा उम्मेदवारहरूको सुरक्षाको ग्यारेन्टी गर्ने जिम्मेवारी सरकारको हो।”
उनले अन्तरजिल्ला मतदान व्यावहारिक रूपमा सम्भव रहेको भन्दै त्यसका लागि राजनीतिक दलहरूको स्पष्ट प्रतिबद्धता आवश्यक रहेको बताए। निर्वाचन आयोगले जेनजी प्रतिनिधिहरूसँगको छलफलमा अन्तरजिल्ला मतदान सम्भव रहेको जानकारी गराएको खनालको भनाइ छ।
“अन्तरजिल्ला मतदान व्यावहारिक रूपमा सम्भव छ भनेर निर्वाचन आयोगले जेनजी प्रतिनिधिलाई बताएको छ,” उनले भने, “यसका लागि राजनीतिक प्रतिबद्धता चाहिन्छ भनिएको छ। यदि राजनीतिक प्रतिबद्धताको अभावकै कारण असम्भव भएको हो भने राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट हामी तयार छौँ।”
यसैबीच, सरकारले ल्याएको अध्यादेशमा रास्वपाको समर्थन रहेको पनि खनालले स्पष्ट पारे।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज डेस्क