पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव: हिमाली क्षेत्रमा हिमपात र तराईमा हुस्सुको सम्भावना

काठमाडौं – देशभर पश्चिमी वायुसँगै सक्रिय पश्चिमी न्यूनचापीय प्रणालीका कारण पहाडी र हिमाली क्षेत्रमा मौसम बदली भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हिमाली क्षेत्रमा आंशिक बदली रहने र केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।


आगामी २४ घण्टामा मुलुकभरका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने तराईका धेरैजसो स्थानमा बादल लाग्ने र बिहानपख बाक्लो हुस्सु देखिने विभागले जनाएको छ।


काठमाडौं उपत्यकामा मौसमको अवस्था

काठमाडौं उपत्यकामा हाल पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आकाशमा बादल लागेको छ। विभागका अनुसार मध्याह्नतिर आकाश खुलेर मौसम सफा रहनेछ। मंगलबारको तुलनामा आजको दिन मौसम केही स्पष्ट रहनेछ।

वर्तमान तापक्रम ७.५ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम १६ देखि १८ डिग्री सेल्सियसको बीचमा रहने अनुमान गरिएको छ।


विभागले बिहीबार बिहान तराई र उपत्यकाका विभिन्न क्षेत्रमा हुस्सु लाग्न सक्ने भएकाले स्वास्थ्य, यातायात र नागरिक उड्डयन क्षेत्रमा सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ। खराब दृश्यता र चिसोले यात्रु तथा चालकहरूलाई असुविधा हुनसक्ने भएकाले आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।


जल तथा मौसम विज्ञान विभागले चिसोबाट बच्न न्यानो कपडा लगाउन, यात्राका क्रममा सतर्क रहन र जोखिम न्यून गर्न आवश्यक कदम चाल्न आग्रह गरेको छ।

प्रतिक्रिया