काठमाडौं: बलिउड सिनेमा ‘स्त्री–२’ले भारतीय सिनेमा इतिहासमा नयाँ मानक कायम गरेको छ। एक महिनाअगाडि रिलिज भएको यो चलचित्रले ६०४.२२ करोड भारतीय रुपैयाँ नेटकलेक्सन गरिसकेको छ।
प्रारम्भिक हप्ता ३०७.८० करोडको शानदार कलेक्सन गरेपछि, यो फिल्मले दोस्रो हप्तामा १४५.८० करोड, तेस्रो हप्तामा ७२.८३ करोड, चौथो हप्तामा ३७.७५ करोड, पाँचौं हप्तामा २५.७२ करोड र छटौँ हप्ताको विकेन्डसम्म १४.३२ करोड कलेक्सन गर्यो।
दर्शक र क्रिटिक्स दुवैले प्रशंसा गरेको 'स्त्री–२'ले शाहरुख खानको ‘जवान’लाई पनि पछाडि पार्दै नयाँ रेकर्ड बनाएको छ। यो सिनेमा राजकुमार राव र श्रद्धा कपूरका साथमा पंकज त्रिपाठी र अभिषेक बनर्जी जस्ता कलाकारहरूको महत्वपूर्ण भूमिकामा प्रस्तुत भएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार, ‘स्त्री–२’को निर्माण लागत करिब ६० करोड भारू रहेको छ। यसले ‘हरर–कमेडी’ शैलीमा रमाइलो कथाबस्तु प्रस्तुत गर्दै दर्शकलाई मन्त्रमुग्ध गरेको छ।