काठमाडौं । काठमाडौं उपत्यका तथा तराईका विभिन्न स्थानमा मंगलबारदेखि पुनः हुस्सु र कुहिरो लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आइतबार र सोमबार केही कम भएको हुस्सु र कुहिरो मंगलबारबाट पुनः बढ्ने देखिएको छ।
जाडो मौसममा बाक्लो हुस्सु र कुहिरो लाग्दा जनजीवन प्रभावित हुने गर्छ। यसले गर्दा तापक्रम घट्ने, चिसो बढ्ने तथा यातायात सेवा अवरुद्ध हुने गरेको छ। मौसमविद् गोविन्द झाका अनुसार हुस्सु र कुहिरो लाग्नका लागि तापक्रम घट्नु, आकाश खुला हुनु, र हावा कम चल्नु आवश्यक हुन्छ।
हुस्सु र कुहिरोमा के फरक छ?
हुस्सु र कुहिरो उस्तै देखिए पनि यी दुईबीच महत्वपूर्ण भिन्नता छन्। मौसमविद् झाका अनुसार:
• कुहिरो: यदि भिजिविलिटी (देख्न सकिने दुरी) एक किलोमिटरभन्दा कम भयो भने त्यसलाई कुहिरो भनिन्छ।
• हुस्सु: यदि भिजिविलिटी एक किलोमिटरभन्दा बढी तर पाँच किलोमिटरभन्दा कम भएमा त्यसलाई हुस्सु भनिन्छ।
कुहिरोमा हुस्सुभन्दा बढी जलवास्प (पानीको मात्रा) हुन्छ। हुस्सुमा सापेक्षित आद्रता ७० प्रतिशतभन्दा बढी तर १०० प्रतिशतभन्दा कम हुने बताइएको छ।
यातायातमा असर
हुस्सु र कुहिरोका कारण हवाई तथा सडक यातायात प्रभावित हुने क्रम जारी छ। न्यून भिजिविलिटीका कारण विमान अवतरण तथा उडानमा समस्या आउने गरेको छ भने सडक यातायातमा पनि चुनौती थपिएको छ। खासगरी कच्ची सडकमा पानीका थोपा जमेर हिलो बन्ने हुँदा दुर्घटनाको जोखिम समेत बढेको छ।
किन लगातार कुहिरो लाग्दैन?
पहिलेको तुलनामा अहिले लगातार धेरै दिनसम्म हुस्सु र कुहिरो नलाग्ने मौसमविद् झा बताउँछन्। अघिल्लो वर्षहरूमा तराईमा लगातार हप्तौँसम्म कुहिरो लाग्ने गरे पनि अहिले भने केही दिन लागेर ब्रेक लिने क्रम दोहोरिएको छ। यसको मुख्य कारण हावा चल्नु तथा बादल लाग्नु भएको बताइएको छ।
विशेषगरी नदी, ताल, पोखरी आसपासका क्षेत्रमा हुस्सु र कुहिरो बढी लाग्ने गर्छ। यस्ता क्षेत्रहरूबाट अन्य ठाउँमा समेत फैलिने बताइएको छ। मौसमविद्हरूका अनुसार आगामी केही दिन हुस्सु र कुहिरो रहिरहने सम्भावना छ, जसले जनजीवनमा प्रभाव पार्न सक्छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता